अर्बपति भन्दै हामीप्रति पूर्वाग्रह राखियो

अर्बपति भन्दै हामीप्रति पूर्वाग्रह राखियो


सम्पादकज्यू,
लोकप्रिय पत्रिका घटना र विचारको पेज नं. ४ चैत ८ गते बुधबार वर्ष १७ अङ्क ३८ को ‘ट्रकको खलासीदेखि अर्बपतिसम्म’ र ‘ठगका भाइको बेग्लै फूर्ति’ भन्ने छापिएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त भनाइ-लेखाइ जो-जसले प्रेषित गरी छपाएको भए तापनि सो कुरा पूर्वाग्रही तथा व्यक्तिगत रिसइवीले ग्रसित भई कपोलकल्पित, भ्रामक र चरित्र हत्या गर्ने अभिप्रायले प्रेरित भएको देखिन्छ । घटना र विचारजस्तो लोकप्रिय पत्रिकाले सत्यतथ्यको चिरफार गरी सही समाचार सम्प्रेषण गर्दछ भन्ने मेरो विश्वास अहिले पनि छ र भविष्यमा पनि रहनेछ । मेरा दाइ लोकबहादुर टण्डन र म शंकर टण्डन मेरो जिजुबाजेको पालादेखि प्रतिष्ठित परिवारका सदस्य हौँ भन्ने जानकारी जो कसैसँग छ । हाम्रो परिवार बाजेको पालादेखि नै व्यापार, व्यवसायमा संलग्न भएको परिवार हो । परिश्रम र मिहिनेतबाट शुद्ध रूपमा आरि्जत जायजेथाप्रति गरिएको इष्र्या र डाहा गर्ने व्यक्तिलाई उपचार गर्ने हामीसँग कुनै औषधि छैन । एकातिर ०४६ सालमै ट्रक किन्ने हाम्रो हैसियत रहेको वास्तविकता समाचारमा खुलाउने अर्कोतिर ट्रक खलासीको रूपमा चित्रित गर्न खोजिएबाट हामीप्रतिको पूर्वाग्रह स्वतः स्पष्ट हुन्छ । हाम्रो पेसा, व्यवसाय र चरित्र हत्या गर्ने, पारिवारिक प्रतिष्ठामाथि प्रश्नचिह्न खडा गर्ने जोकोहीलाई पनि तपाईंको लोकप्रिय पत्रिका घटना र विचारले गम्भीर भई कानुनी दायरामा ल्याउने वातावरण बनाइदियोस् र उक्त समाचारको खण्डन गर्दै भविष्यमा तपाईंको लोकप्रिय पत्रिका यथोचित न्यायको खातिर अगाडि बढोस् भनी आग्रह गर्दै म र मेरा दाइप्रति छापिएको समाचारप्रति दुःख व्यक्त गर्दै खण्डन छापिदिनुहुन अनुरोध गर्दछु ।-शंकर टण्डन, गुल्मी, हर्दिनेटा-७

सेन्टजेभियर्स स्कुल सत्यालको बिर्ता हो ?
सम्पादकज्यू,
म धादिङमा सामान्य खेतीकिसानी गर्दै आइरहेको व्यक्ति हुँ । मैले आफ्नो छोराको उज्ज्वल भविष्यका लागि सेन्टजेभियर्स स्कुलमा कक्षा १ मा लिइने इन्ट्रान्स जाँच दिलाएँ । छोराले इन्ट्रान्स परीक्षा राम्रै भएको बतायो । करिब चार हजार विद्यार्थीले इन्ट्रान्स दिएको ठाउँमा जम्मा एक सय ५३ जनाको नाम प्रकाशित गर्‍यो, त्यसमा ‘इन्ट्रान्स राम्रो गरेँ’ भन्ने मेरो छोराको नाम निस्केन । मजस्ता थुप्रै अभिभावकको पनि यस्तै हालत थियो ।
पछि बुझ्दै जाँदा त्यस स्कुलमा नाम निकाल्न सत्याल पब्लिकेसनका मालिक अजय सत्याललाई गुहार्नुपर्दोरहेछ । किनकि, सत्यालकी श्रीमती प्रभाको सेन्टजेभियर्सका प्रिन्सिपल अमृत राईसँग राम्रो दोस्ती रहेछ । सत्याल पब्लिकेसनमा प्रकाशित भएका प्रायजसो किताब नै उक्त स्कुलमा पढाइने रहेछ । मुख्य कुरा त प्रभा सत्यालले भनेको कुरा प्रिन्सिपल अमृतले नकाट्ने रहेछन् । यतिसम्म पनि जानकारीमा आयो कि एउटा विद्यार्थीको पाँच लाख रुपैयाँका दरले चारजना विद्यार्थीलाई भर्ना दिलाउने जिम्मा सत्यालले लिएका रहेछन् । यसरी २० लाख रकम भित्र्याएपछि गत बिहीबार प्रकाशित १ कक्षाको नतिजामा उनले सिफारिस गरेका सबै विद्यार्थीको नाम निस्कियो । हामी पाँच लाख बुझाउन नसक्ने गरिब सामान्य खेतीकिसानी गर्नेका छोराछोरीको नाम निस्केन ।
अजय सत्याल भन्ने व्यक्ति त ‘ठग’का रूपमा पनि चिनिँदा रहेछन् । चर्चित प्रहरी उपरीक्षक रमेश खरेलले कुनैबेला सत्याललाई हनुमानढोकामा थुनिसकेका पनि रहेछन् । उनले सहकारी बैंकलाई लाखौँ बुझाउनुपर्ने भएकोले बेला-बेलामा किस्ता नतिरेकोले ठगी केसमा हनुमानढोका खोरमा चार रात बिताउन भ्याएका पनि रहेछन् । सेन्टजेभियर्सजस्तो उत्कृष्ट र नामी स्कुलले पनि यस्तो ठगी कार्य गर्नेलाई साथ दिएकोमा मजस्ता थुप्रै अभिभावकलाई दुःखी बनाएको छ ।-रोशन गुरुङ, हाल ः काठमाडौं