केही नानु कविताहरू-आनन्दराम पौडेल

केही नानु कविताहरू-आनन्दराम पौडेल


१. मेरो र पत्नीको
काका र काकीको
सम्धी-सम्धीको
र आफ्नै सन्तानको
जात नमिलेकोमा
एकछिन मौन धारण गरौँ ।

२. कहाँ र कसकहाँ जन्म्यो
त्यस आधारमा
राज्यले विभेद गर्न थालेपछि
जीवन भाग्योदय चिट्ठा भयो ।

३. कलैयामा निर्मोही व्यास
प्रश्न गर्दैनन्
पहाडे हुनुपरेकोमा भक्कानिँदै
खुरुक्क हिँड्छन् ।

जनता-बद्रीप्रसाद दाहाल
धार-आधार वा तार, वार-पार गराउने ।
‘जनता’ ममता-माया, हारजस्तै सजाउने ।।

साधु-चोर -धनी-दीन, ‘जनतै’ गर्छ आदर ।
विद्वान्-मूर्ख सबै भन्छन्, ‘जनता’ छन् समादर ।।

‘जनता’ शब्द बोकेर, क्रान्तिकारी कराउँछ ।
‘जनता’ शब्द खोकेर, प्रतिगामी रमाउँछ ।।

कवि-लेखक-डाँका वा, रङ्गकर्मी नयाँ-नयाँ ।।
जनता ! देवता ! मान्दछन् अविनाशी छ चेतना ।।

राजा-सामन्त सम्राट, ढाल-ढोल बनाउन ।
जनता ! जनता ! भन्थे, एकतन्त्र समाउन ।।

सत्ता-पिपासु झेलीले, जनता ‘देवता’ भनी ।
झुक्याउँछन् कैयौँ काल, चर्का किटाणु हुन् यिनी ।।

अवमूल्यन गर्दै छौँ, ‘जनता-देवता’ यहाँ ।
जनतन्त्र दबाएर नेतातन्त्र नयाँ- नयाँ ।।

गजल -गणेश आचार्य
खर्च छैन हात्ती गैंडा, छिटो पठाइदिनु आमा ।
भोकै छु म दुई-चारमाना, पिठो पठाइदिनु आमा ।।

कागुनोझैँ भात हुन्छ, दाल त रारातालै हुन्छ,
यस्तै खाना कति खाने, मीठो पठाइदिनु आमा ।।

छैन स्वादै तागत दिन्न, भोजन् भुँडी मात्रै भर्छ,
मकै कोदो कनिकाको, लिटो पठाइदिनु आमा ।।

स्याउ सुन्तला सुनभन्दा, महँगा पो रै’छन् यता,
कन्दमुलै खान्छु तरुल, गिठो पठाइदिनु आमा ।।

पैसाबिना डेग नचल्ने, रै’छ आम्मै सहरतिर,
आँठोले के पुग्छ अब, बिटो पठाइदिनु आमा ।।

गजल-रेसमकुमार सुनुवार
प्यारको नसामा यहाँ मात लाग्ला सुन्तली
नजिक हुँदा सबको नजरमा वात लाग्ला सुन्तली

हिँड्नु छ जीवनमा यात्रा अझै कति लामो
धेरै समीप के हुनु र हात लाग्ला सुन्तली

समयको गढतीरमा हेलिनु छ नै अनवरत
बढी विश्वास नगर्नु है घात लाग्ला सुन्तली

उज्यालो र अँध्यारोको दोसाँधमा अल्भिएर
दिउँसै पनि जिन्दगीमा रात लाग्ला सुन्तली

मान्नैपर्छ भन्ने छैन रेसमको उपदेश त्यो
मानेदेखि असल कुरा साथ लाग्ला सुन्तली