नेपालको राजनीति र लोकप्रशासन-डा. डिल्ली ओली

नेपालको राजनीति र लोकप्रशासन-डा. डिल्ली ओली


देशको राज्य-व्यवस्था, राजनीतिज्ञ र राज्यसञ्चालकअनुसार कुनै पनि देशको अवस्था निर्भर हुन्छ । प्रणाली, व्यवस्था, दल आदि सदाकाल रहिरहँदैनन् । उनीहरूमा सत्तारोहण र बहिर्गमन चलिरहन्छ । दलहरू जुट्ने, फुट्ने, निर्माण हुने, समाप्त हुने प्रक्रिया पनि चलिरहन्छ । वेदान्तको भाषामा जीव, जगत्, हत्या, मृत्यु मात्र शाश्वत हुन्छन् । समाज विकास, अन्तर्राष्ट्रिय परिस्थिति, जनताको स्तर, पेसा र उद्यमशीलता, राजनीतिलाई गौण मान्ने प्रवृत्तिको विकास आदिले गर्दा त्यहाँभित्रको सिस्टम निर्धारित हुन्छ । विकसित मुलुकमा राजनीतिलाई फोहोरी खेल मान्ने मात्र होइन त्यसप्रति कुनै रुचि नै हुँदैन अधिकांश जनताको । त्यस्ता मुलुकमा ब्युरोक्रेसी, प्राध्यापन, प्रविधि, कानुनी व्यवसाय, पत्रकारिता र अझ राजनीतिलाई महत्त्व नदिने र आत्मनिर्भरताको बाटोलाई प्राथमिकता दिइएको हुन्छ । भारतको बिहारमा केही वर्षयता बिहारी राजनीति सेलाउँदै गएको र उद्यमशीलताको विकास भइरहेको देखिन्छ । यी सबै कुरामा राजनीतिक दल र तिनका सञ्चालकको भूमिका निर्भर रहन्छ । गरिबी, अशिक्षा, चेतनाको कमी सहायक कारण हुन्छन् । नेपालमा ०७ सालयता हरेक क्षेत्र दिनप्रतिदिन नाजुक हुँदै गइरहेको छ । गुणस्तरको कुरा गर्दा अपवादमा स्वास्थ्य क्षेत्रले मात्र आशातीत प्रगति हासिल गरेको छ, सञ्चार, यातायात, शिक्षाजस्ता केही सीमित क्षेत्रमा विकास नभएको होइन तर तिनमा गुणस्तर झन् कमजोर हुँदै गइरहेको देखिन्छ । हरेक क्षेत्रलाई राजनीति र त्यसको फँणाले तहसनहस पार्दै गइरहेको छ । यो स्थिति विजगणितीय अनुपातमा बढ्दै छ । आलुको बोरामा एउटा मात्र कुहिएको आलु छ भने केही दिनमै त्यसले सिङ्गै बोरालाई दुर्गन्धित बनाइदिन्छ । यहाँ त्यस्ता केही राजनीतिज्ञ देखिए । तिनमा कोही जीवितै छन् त कोही वैकुण्ठ ?-) लागि सके । एउटा प्रचलित कथा छ जसको सार यस्तो छ- एउटा मानिसले आफ्नो जीवनकालभरि सारा गाउँलेलाई दु:ख दिएछ । उसको प्रताडनाबाट कोही पनि बाँकी रहेनछन् । अन्त्यमा मर्ने बेलामा सबै गाउँलेलाई जम्मा पारी ‘मैले बाँचुञ्जेल तिमीहरू सबैलाई दु:ख दिएँ, त्यसबाट मुक्ति पाउनका लागि म मरेपछि मेरो लासलाई लठ्ठी, ढुंगा आदिले घोच्ने, हान्ने, पिट्ने काम गर्नु, अनि मेरो आत्माले शान्ति पाउनेछ’ भनी सबैलाई अह्राइसिकाइ गरेछ । तर, उसले पहिले नै पुलिसलाई खबर गरिसकेछ । उसको चाहनाअनुसार मरेपछि गाउँलेले त्यहीमुताबिक गरे । त्यसैबेला प्रहरी आएर सबै गाउँलेलाई प्रहरी शिविरमा पुर्‍याई कारबाही प्रक्रिया अगाडि बढाएछ । यसरी बाँचुञ्जेल त सबै गाउँलेले उसबाट नपाउनु दु:ख पाएकै थिए भने मरेपछि पनि उसले कसैलाई दु:ख दिन छोडेनछ । त्यस्तै भएको छ नेपालमा । सारा नेपालीले त्यो भोगिरहेका छन् ।
सन्दर्भ हो वर्तमान हाम्रो मुलुकमा राजनीतिक नेता, तिनका आफन्त, मन्त्री र कर्मचारीहरूमा देखिएको अराजकता, उद्दण्डता र ब्रह्मलुटको । राजनीतिज्ञ असल हुँदा सिस्टमले त्यति फरक पार्दैन । नेपालमा कृष्णप्रसाद भट्टराईलाई चुनाव हराइएदेखि यो विकृतिको सूत्रपात भएको हो, जो झाँगिँदै गएर वर्तमान अवस्थासम्म आइपुगेको अराजकता गृहयुद्ध वा असफल राष्ट्र वा प्रत्यक्ष विदेशी प्रवेशमा गएर टुङ्गिने हो वा कसरी बाटो तय गर्ने हो हेर्न बाँकी छ । पञ्चायतकालमा खड्गजित बराल पुलिस प्रमुख हुँदा उनले गृहसचिवसम्म होइन तत्कालीन दरबारिया सचिवलाई समेत आफूमातहतको कर्मचारीको व्यवहार गर्दथे ।
त्यसबेला एकजना दरबारिया पञ्च जो पटकपटक मन्त्री पनि भए, खड्गजित बरालको पुलिसले उनको टाउकोमा रक्ताम्मे हुनेगरी लठ्ठीले बजार्दा उक्त पुलिसलाई सिराहाबाट सरुवा गर्ने कसैको ताकत भएन । भनिन्थ्यो मन्त्रीहरू पनि उनको व्यक्तित्व र व्यवहारबाट तर्सन्थे । त्रिविलाई प्रकाशचन्द्र लोहनी र्-अर्थमन्त्री)ले विनियोजन गरेको बजेटलाई आफ्नो मागअनुसार सच्याउन लगाउने हैसियत भएका भीसी रामचन्द्रबहादुर सिंह, न्यायका रत्नबहादुर विष्ट, प्रशासनका बद्रीविक्रम थापा, पराराष्ट्र नीतिमा दरबारलाई डिक्टेट गर्ने यदुनाथ खनाल आदि दृष्टान्त मात्र हुन् । अहिलेका कर्मचारीजस्तो पार्टीको झण्डा बोक्ने, पदोन्नति र ‘राम्रो ठाउँ’का लागि ब्रिफकेस बोक्ने, पार्टीको सदस्यता बदल्दै हिँड्ने, आफ्नोमातहतलाई संरक्षण गर्न नसक्ने, अधिकार र कर्तव्य नबुझ्ने राष्ट्रसेवकमाथि उल्लिखित व्यक्ति थिएनन् । भारतमा सुष्मा स्वराज शक्तिशाली मन्त्री र उनका पति सहसचिव थिए । तर, मन्त्रीभन्दा त्यहाँको समाजमा सहसचिवको प्रतिष्ठा माथि थियो । त्यो सिस्टमले गर्दा हो । हाम्रोमा भएको भए त्यस्तो बनावटमा सहसचिवपतिले पत्नीको ब्रिफकेस बोक्ने र अवैध धन्दामा संलग्न हुन्थ्यो । सरकार बदलिरहन्छ, मन्त्री फेरिइरहन्छन्, स्वकीय सचिव, मन्त्राणी, ज्वाइँ-चेला, इष्टमित्र, भूमिगत गिरोह सरकारसँगै बदलिरहन्छ । राजनीतिकर्मी आँैठाछाप, चोरी, डकैती, हत्या, बलात्कार, फिरौतीबाट पनि आएका हुन्छन्, तीमध्येबाटै मन्त्री हुने हुन्, कैयौँ भएका पनि छन् । तर, एउटा सचिव त्यत्तिकै हुन सक्दैन । विद्यालय, कलेज, विश्वविद्यालय, उच्च प्रतिस्पर्धा, राष्ट्रिय-अन्तर्राष्ट्रिय तालिम, शिक्षा, योग्यता आदिबाट ऊ आएको हुन्छ । राजनीतिज्ञ, स्वयम् कर्मचारी र स्वयम् सचिवको कारणले उसको इज्जत, प्रतिष्ठा सत्तासीन राजनीतिक पार्टीको जिल्लास्तरीय कार्यकर्ताजति पनि छैन । यो मननीय विषय हो । अहिले त हुँदाहुँदा कर्मचारीहरू पार्टी सदस्यता लिएर लोकप्रशासनको माध्यमबाट लालु यादवको समयको बिहारी राजनीतिमा चर्ुलुम्म डुबेका छन् । निजामती कर्मचारी विकसित देशमा प्रतिष्ठाको विषय मानिन्छ । यहाँ त सुब्बा, शाखा अधिकृत ?जो टे्रड युनियनका पदाधिकारी हुन्छन्)ले सरुवा, बढुवा गर्दछन् । उनीहरूको हैसियत सचिवको सरुवा बढुवा गर्नेसम्मको हुन्छ । हरेक मन्त्रालय, विभाग र कार्यालयहरूमा पार्टीअनुसार काम हुन्छ । कर्मचारीका नेताहरूको धन्धाबारे व्यापक चर्चा सुनिन्छन् । सीडीओ कुटिने, एलडीओ थुनिने, फुच्चे नेतालाई नियम-कानुनविपरीत काम गर्न नदिएको भन्दै ड्युटीमा रहेका प्रहरीहरूले बर्दी फुकाल्नुपर्ने, महिला सचिवमाथि घृणित व्यवहार आदि अनगिन्ती निन्दनीय र गैरजिम्मेवार काम भइरहँदा पनि देशमा कार्यकारी प्रमुखहरू निर्लज्ज बुख्याँचासरह मौन रहेर बसिरहने ? देशको अर्बाैं रुपैयाँ जो जनताले सिटामोल किन्दा पनि तिरेको राजस्वमा भोरजुवा मच्याइरहने, हाम्रो समाज कुन शताब्दीमा छ ?
अहिले कर्मचारीनेताहरू टोलीटोली बाँधेर सचिवहरूलाई धम्क्याउँदै हिँडिरहेका छन् । मानौँ उनीहरू कर्मचारी नभई धन्धावाल हुन् । उनीहरूको निजामती सेवाप्रति निष्ठा देखिँदैन । त्यस्ताले जागिर छोडेर जनताको माझ गए हुन्छ । मन्त्रीको त कुरै छोडौँ यहाँ अहिले केही कर्मचारीले जे गरिरहेका छन् त्यो सभ्य समाजले पत्याउनै नसकिने काम गरिरहेका छन् । अरू देशमा त्यस्ताको जागिर मात्र जाँदैन सजायको भागीदार पनि हुनुपर्दछ । तर, अन्धेर नगरीमा यस्ता सबै मूल्य-मान्यताअन्तर्गत पर्छन् । प्रशासन संयन्त्रमा यस्तो भाँडभैलो छ तर जनता चुप छन् । कथित मानवअधिकारवादी, कथित नागरिक समाजवादी पार्टीवादी मात्र होइन भारु, डलर र युरोवादी भइसकेपछि निरीह जनताले पनि कतै ओत लाग्नैपर्ने हुँदोरहेछ । नेपाली समाज शवतुल्य हुनुको पछाडि जनताको ठूलो सङ्ख्या मुख्य केही पार्टीसँग आबद्ध हुनाले नेता कर्मचारीको मनोमानी मात्र होइन पानी, बत्ती, तेलको समस्या, अकासिँदो बजार भाउ, असुरक्षा, लुट, डकैती, व्यापक अनियमितताले आकार लिएको हो । नेताले ‘आफ्ना जनता’लाई सडकमा आउन दिँदैनन् ।
अस्तिसम्मका नेपाली फुटबल प्रशिक्षक ग्राहम रोबर्टस्ले यी सबै तथ्य बुझेर नेपाल अझै १६औँ शताब्दीमा छ भने । गर्न सक्नुपर्‍यो यहाँ जे गर्दा पनि हुन्छ । त्यही नै भइरहेको छ । अहिलेका पुलिस प्रमुखले खड्गजित बरालबाट केही सिक्न जरुरी छ । अहिलेका सचिवले शिक्षासचिव किशोर थापाबाट ‘रिफ्रेन्स’ लिँदा फाइदै होला । योग्य र सक्षम मानिसले त्यसरी आफ्नो परिचय दिन्छन् । सरकार बदलिनेबित्तिकै आफूले पार्टी बदल्ने कर्मचारीबाट जनताले आशा गर्ने ठाउँ छैन । यस्ता बनावटका कारण तत्कालीन छट्टु सचिव लोकमानसिंह कार्कीलाई जबर्जस्ती जलस्रोतमा ल्याइँदा बरु बलदेव मजगैंयाले मन्त्रीबाट राजीनामा दिएर त्यो प्रवृत्तिको मार्ग प्रशस्त गरिदिएका थिए । मन्त्री र राज्यमन्त्रीबीच, मन्त्री र सचिवबीच, सचिव र कर्मचारी-नेताबीच, नेता र देशकाबीच रहेको स्थिति कुटाकुट, बोली-व्यवहार बन्द, कटुता नै हाम्रो देशको वर्तमान बनावट र पद्धति हो । समाधानका उपाय धेरै छन् तर ती कुरा उल्लेख गर्दा वर्तमान बनावट, पद्धति र निजामती संस्कृतिको उल्टो हुने भएकोले यसबारे यहाँ चर्चा नगर्नु उपयुक्त लाग्यो । समयलाई हेर्दै जाऊँ ।