सेनापतिलाई फसाएर सीबी भारततर्फ

सेनापतिलाई फसाएर सीबी भारततर्फ


नेपाली सेनाबाट सेनानिवृत्त जनरल सीबी गुरुङ यसै साता भारततर्फ जानुभएको छ । उहाँ मुटुको उपचारका लागि भारत जानुभएको बताइएको छ । तर, उहाँसमेत सम्मिलित भई तयार गरेको भनिएको ‘सेनापतिको प्रतिवेदन’ विवादमा आउनु र गुरुङ भारततिर लाग्नुको पछाडि कुनै रहस्य हुनसक्ने निकवर्तीहरूले अनुमान गरेका छन् । स्मरणीय छ, सेनापति छत्रमान गुरुङले सुटुक्क तयार गरी प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन बनाउनमा मूख्य भूमिका सीबी गुरुङले निर्वाह गर्नुभएको बताइन्छ । माओवादीसँग निकटतम् सम्बन्ध स्थापित गरेका सीबी गुरुङ र जनरल दमन घलेले नन्दकिशोर पुन र वर्षमान पुनसमेतको सहयोगमा भाटभटेनी सुपरमार्केटका मालिक मीन गुरुङको घरमा बसी तयार पारेको प्रतिवेदन नै सेनापति छत्रमान गुरुङले प्रधानमन्त्रीलाई बुझाउनुभएको चर्चा उच्च राजनीतिक वृत्तमा चलिरहेको छ । सेनाले औपचारिक रूपमा उक्त प्रतिवेदनको स्वामित्व अस्वीकार गरिसकेको छ । सेनापति गुरुङ आफूलाई विवादमा ल्याइएकोमा चिन्तित हुनुभएको छ । नेपाली सेनामा व्रि्रह आउन नदिन उहाँ कटिबद्ध हुनुभएको बताइन्छ । कतिपयले सोझा सेनापतिलाई सीबी गुरुङले फसाएको टिप्पणी पनि गरेका छन् । यस पृष्ठभूमिमा गुरुङको भारत प्रवेश उपचारका लागि मात्र हो भन्ने ठानिएको छैन ।

प्रचण्डलाई भारत जाने मौका
लामो समयदेखि छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा जान नपाएर छटपटिइरहनुभएका माओवादी अध्यक्ष प्रचण्डले यसै महिनाको अन्तिम सातामा उक्त अवसर पाउनुहुने भएको छ । एक समय भारतका प्रशंसक र एकताका भारतको सर्वाधिक आलोचक एवम् विरोधी भूमिका निर्वाह गरिसक्नुभएका प्रचण्डले प्रधानमन्त्री पदबाट हट्नेबित्तिकै राष्ट्रियताको आन्दोलन भन्दै भारतविरुद्ध राष्ट्रव्यापी अभियान चलाउनुभएको थियो । करिब एक वर्षजति त्यसप्रकारको आन्दोलन चलाएपछि थाक्नुभएको प्रचण्ड विगत डेढ वर्षदेखि भारतसँग सम्बन्ध ‘सुमधुर’ बनाउन इच्छुक रहँदै आउनुभएको छ । उहाँले विभिन्न सूत्रधारहरूमार्फत भारत भ्रमणको जाँचोपाँजो मिलाइदिन आग्रह गर्दै आउनुभएको भए पनि उहाँलाई उक्त अवसर प्राप्त भएको थिएन । तर, अहिले भने नयाँ दिल्लीमा आयोजना हुने एक उच्चस्तरीय गोष्ठीमा सहभागी हुन उहाँलाई निमन्त्रणा प्राप्त भएको समाचार छ । फागुन २७, २८ र २९ गते नयाँदिल्लीमा हुने विशेष गोष्ठीमा नेपालबाट नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेल, एमाले नेता माधवकुमार नेपाल, प्रदीप गिरी, विमलेन्द्र निधि, मोहम्मद आफताव आलमलगायतको सहभागिता रहने बुझिएको छ । माधव नेपालका साथमा भीम रावल र प्रचण्डको साथमा कृष्णबहादुर महरा पनि भारत जाने सूत्रले जनाएको छ । तर, यसको पुष्टि हुन सकेको छैन । प्रचण्डले भारतमा रहँदा गोष्ठीमा भाग लिने मात्र भन्दा पनि केही महत्त्वपूर्ण भेटघाटलाई जोड दिन लाग्नुभएको बताइएको छ ।

एसएमएस आएपछि मात्र प्रजातन्त्र दिवसको सम्झना !
प्रजातन्त्र दिवस उपेक्षा गर्ने सरकारले अन्ततः जनतासँग माफी माग्नुपरेको छ । संसद्मा प्रतिपक्षी सांसदहरूले जोडदार आवाज उठाउँदै संसद् चल्न नदिने घोषणा गरेपछि सरकार आइन्दा यसप्रकारको गल्ती नदोहोर्‍याउने प्रतिवद्धतासहित माफी माग्न बाध्य भएको हो । फागुन ७ गते ६२औँ प्रजातन्त्र दिवसका अवसरमा राज्यका तर्फबाट कुनै औपचारिक कार्यक्रम नराखिएको विषयले धेरैलाई विष्मित र चकित पारे पनि नेताहरूलाई यसबारेमा सचेत गराउने कार्य भने केवल एक व्यक्तिले मात्र गरेको जानकारी प्राप्त भएको छ । फागुन ६ गते एक उच्चस्तरीय बैठकमा बसिरहेका माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल र माओवादीका मुख्य सचेतक देव गुरुङको मोबाइल क्रमशः ‘एसएमएस’ का टोन बज्न थाले । सबैले क्रमशः मेसेज बक्स खोल्दै गए, सन्देश एकै व्यक्तिबाट आएको थियो र सन्देशमा प्रजातन्त्र दिवसमा राज्यले कुनै पनि औपचारिक कार्यक्रम नराखेकोमा जिज्ञाशा प्रकट गरिएको थियो । प्रचण्डले उक्त सन्देशको जवाफ फर्काएनन्, तर माधव नेपालले त्यसप्रति आश्चर्य प्रकट गर्दै आफूलाई यसबारे केही थाहा नभएको जवाफ फर्काए । देव गुरुङले प्रजातन्त्र दिवसमा कुनै कार्यक्रम नराखिएकोबारे आफूलाई थाहा नभएको बताउँदै प्रजातन्त्र दिवसको औचित्यबारे भने पार्टीमा छलफल चल्ने गरेको भन्ने व्यहोराको जवाफ लेखी पठाए । काङ्ग्रेस नेता रामचन्द्र पौडेलले बैठकमा मोबाइल फोन लिएर जानुभएको थिएन । त्यसैले उहाँले यस सम्बन्धमा लेखिएको सन्देश प्राप्त गर्ने कुरै भएन । यसरी नेताहरूलाई प्रजातन्त्र दिवसमा कुनै औपचारिक कार्यक्रम नराखिएकोप्रति ध्यानाकर्षण गराउने नेता हुनुहुन्छ- नेपाली काङ्ग्रेसका प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरे । नेता घिमिरेले काठमाडौंबाहिर रहनुभएका सभापति सुशील कोइरालालाई पनि टेलिफोनमार्फत यस कुराको जानकारी गराउनुभएको थियो । घिमिरेबाट जानकारी पाएपछि बाग्लुङ पुग्नुभएका कोइरालाले त्यहीँबाट प्रधानमन्त्री बाबुराम भट्टराईलाई टेलिफोन गरी प्रजातन्त्र दिवसमा किन कार्यक्रम नराखिएको भनी प्रश्न गर्नुभएको थियो । भट्टराईले यस सम्बन्धमा आफूलाई थाहा नभएको बताउँदै कसैले पनि नसम्झाइदिएको भनी अत्यन्त हल्का जवाफ दिनुभएको बुझिएको छ । नेता कोइरालाले प्रजातन्त्र दिवस नमनाइएकोमा विरोध जनाउँदै प्रधानमन्त्रीलाई आइन्दा यसप्रकारको व्यवहार नदोहोर्‍याउन चेतावनी दिनुभएको थियो । नेता घिमिरेले यो विषयलाई संसद्मा पनि जोडदार ढङ्गले प्रश्न उठाउने सोच बनाउनुभएको बुझिएको छ ।

उद्यमी-व्यवसायीले पत्याउन छाडे एमालेलाई
राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको मिति नजिकिँदै जाँदा आर्थिक सङ्कलनको पीडाले एमालेलाई सताएको छ । फागुन २१ गतेबाट राजधानीमा हुने परिषद्को उद्घाटन तथा त्यसपछि सुरु हुने बैठकलाई लक्ष्ँित गर्दै प्रचारप्रसार तथा आर्थिक सङ्कलन कार्यलाई तीव्रता दिएको एमालेले सोचअनुसार आर्थिक सङ्कलन हुन नसकेपछि पार्टी चिन्तित बनेको एक केन्द्रीय नेताले बताए । ती नेताका अनुसार परिषद् बैठकका लागि कम्तीमा पनि एक करोडभन्दा बढी खर्च हुन्छ तर, अहिलेसम्म चालीस प्रतिशत पनि रकम उठेको छैन ।
‘पहिलेजस्तो उद्योगी तथा व्यापारीले सहयोग गर्न सकेका छैनन्,’ परिषद् बैठकका लागि आर्थिक सङ्कलन गर्ने जिम्मा पाएका एक नेताले भने, ‘अहिलेको स्थितिलाई नै हेर्ने हो भने भेलाका लागि पार्टीले ५० प्रतिशतभन्दा बढी रकम ऋण खोज्नुपर्ने हुन्छ ।’ बैठकका लागि आवश्यक आर्थिक सङ्कलनका लागि युवा नेता विजय पौडेलको संयोजकत्वमा एक कमिटी नै बनाइएको छ । कमिटीका संयोजक पौडेलले पनि प्रचारप्रसार, बैठकमा सहभागीहरूको आवास तथा खाना गरेर कम्तीमा पनि एक करोड लाग्ने अनुमान गरिएको बताए । उनले भने, ‘सहयोगहरू जुट्ने क्रम जारी रहेकोले अहिले नै यति नै उठ्यो भन्न सक्ने अवस्था छैन ।’ ‘हामी कार्यकर्तालाई दबाब दिँदैनौँ, जबर्जस्ती गर्दैनौँ, जति दिन्छन्, त्यतिमै चित्त बुझाउने पार्टी भएकोले सोचाइअनुरूप आर्थिक सङ्कलन नहुन पनि सक्छ,’ पौडेलले थपे ।
सोचाइअनुसार आर्थिक सङ्कलन हुन नसके पनि बैठकलाई भव्य बनाउन देशभर जनपरिचालन अभियानलाई तीव्रता दिइएको छ । एमालेले जिल्ला कमिटीमातहतका सबै शाखा कमिटी र जनवर्गीय सङ्गठनलाई क्रियाशील पारेको छ । त्यस्तै उपत्यका विशेष समन्वय कमिटीले पनि उपत्यकाका सबै शाखा कमिटीको बैठक तथा प्रशिक्षणलगायतका कार्यक्रम गरिरहेको छ । बैठकलाई लक्षित गर्दै पार्टीका केन्द्रीय नेताहरूको संयोजकत्वमा गठित स्वागत, प्रचारप्रसार, स्वय्मसेवकलगायत विभिन्न समिति सक्रिय रूपमा लागेको पोलिटब्युरो सदस्य रघुजी पन्तले जानकारी दिए । उनले भने, ‘विविध समस्य आए पनि एमालेको परिषद् बैठक ऐतिहासिक हुन्छ, पार्टीलाई नयाँ दिशा प्रदान गर्छ ।’

देशव्यापी अभियानमा पूर्वराजा
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र अब देश दौडाहामा निस्कनुहुने भएको छ । प्राप्त जानकारीअनुसार, यही फागुनको तेस्रो सातादेखि उहाँको देश दौडाहा कार्यक्रम सुरु हुने र कम्तीमा चैतको दोस्रो सातासम्म चल्नेछ । भ्रमणको उद्देश्य नितान्त धार्मिक रहेको समाचार स्रोतले जनाएको छ । कार्यक्रमअनुसार, यही फागुन १८ गतेदेखि सुनसरीको झुम्कामा सुरु हुने पुराणको शुभारम्भ पूर्वराजाबाट गरिँदै छ, उक्त कार्यका लागि उहाँ सोही बिहान हवाईजहाजबाट विराटनगर हुँदै झुम्का जानुहुने कार्यक्रम छ । विभिन्न जिल्लाबाट धार्मिक समारोहहरूको समुद्घाटनका लागि निमन्त्रणा प्राप्त भए पनि कहाँ कहिले जाने भनेर कार्यक्रम तय भइनसकेको बताइन्छ ।
तर एक महिनाभित्र मेचीदेखि महाकालीसम्मका विभिन्न स्थानमा हुने धार्मिक समारोहहरूमा उहाँले भाग लिनुहुने निश्चित भइसकेको छ । धार्मिक कार्यक्रमहरूमा हुने पूर्वराजाको सहभागिताको राजनीतिक अर्थ खोजिने सम्भावना त छँदै छ, तर त्यसको कसरी अर्थ लगाइएला प्रतीक्षाको विषय बनेको छ ।
केही समयको भारत भ्रमण सकेर एक साताअघि मात्र स्वदेश र्फकनुभएका राजालाई शिवरात्रिमा पशुपति दर्शनका बेला सर्वसाधारणको भीडले व्यापक स्वागत गरेको थियो । शिवरात्रि मनाउन पशुपति पुगेका सर्वसाधारणले अकस्मात् पूर्वराजालाई देखेपछि आत्मीयता प्रकट गर्दै विभिन्न नारा लगाएका थिए । संविधान निर्माणको सम्भावना कम हुँदै गएको, निर्माण भइहाले पनि सर्वस्वीकार्य संविधान आउने सम्भावना नरहेको वर्तमान अवस्थामा राजाको देश दौडाहा कार्यक्रमले राजनीतिक दलहरूलाई सचेत गराउने सम्भावना भने देखिएको छ ।

जाँदाजाँदै गुप्ताले यसो भने
लामो समयदेखि चल्दैआएको भ्रष्टाचारको मुद्दामा सर्वोच्च अदालतले बहालवाला सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई लाखौँ नगद जरिवाना र डेढ वर्ष कैद सजाय सुनाएको छ । हिजो मंगलबार ऐतिहासिक फैसला गर्दै न्यायाधीसद्वय तर्कराज भट्ट र सुशीला कार्कीको इजलासले मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्षसमेत रहेका मन्त्री गुप्तालाई ८४ लाख जरिवाना, त्यत्तिबराबरकै सम्पत्ति जफत एवम् डेढ वर्ष जेल सजाय सुनाएको हो ।
प्रजातन्त्र पुनर्स्थापन भएयता ०४८ देखि ०५९ सालसम्म सांसद, सञ्चारमन्त्री, कृषिमन्त्री जस्ता मन्त्रालयको जिम्मेवारी पाएको अवस्थाको लाभ उठाउँदै भ्रष्टाचार गरेको अभियोगसहित ०६० सालमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा परेको थियो । तर गुप्ताविरुद्ध अभियोगअनुरुपको प्रमाण फेला नपरेको भन्दै विशेष अदालतले उनलाई ०६३ मा सफाई दिएको थियो । त्यसपछि अख्तियारले पुनः सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । मंगलबार फैसला सुनेलगत्तै मन्त्री गुप्ताले पदबाट राजिनामा दिनुका साथै प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए, जसका कारण उनको जेलसजाय २० प्रतिशत कम हुने भएको छ ।
अदालतको फैसलाबारे प्रतिक्रिया दिँदै गुप्ताले ‘अदालतको फैसलाको मूल्याङ्कन हुँदैगर्छ तर आफू मधेस र मधेसी जनताको अधिकारको लागि लामो समयदेखि लड्दै आएकोले यस्तो पूर्वाग्रही फैसला सुनाइएको’ दाबी गरे । गुप्तालाई हिजो मंगलबार नै सदरखोर डिल्लीबजार लगिएको छ ।

ठूला पार्टी मधेसविरुद्ध सक्रिय
मधेसलाई अधिकार नदिईकनै देशमा सङ्घीयता जारी गर्न ठूला पार्टीले षड्यन्त्र गरिरहेको सद्भावना पार्टीका अध्यक्ष एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले आरोप लगाएका छन् । नेपाल मधेसी निजामती कर्मचारी मञ्चको अभिनन्दनार्थ हिजो मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा महतोले देशमा ठूला पार्टीले अहिले पनि षड्यन्त्र गरिरहेको र शासक वर्ग मधेसलाई अधिकार नदिए पनि काम चल्छ भन्ने सोचमा रहेको दाबी गर्दै यदि यस्तै हो भने मधेसवासीले एकपल्ट फेरि आन्दोलन गर्नुपर्ने उद्घोष गरे । सद्भावना पार्टीले आयोजना गरेको सो कार्यक्रममा ७१ जना मधेसी निजामती कर्मचारीहरूलाई अभिनन्दन गरिएको थियो ।

अवैध धन्दा गर्ने युवती पक्राउ
बाघको पञ्जा, हड्डी तथा जुँगासहित चारजनालाई प्रहरीले अस्ति सोमबार पक्राउ गरेको छ । गोरखा नाम्जुङ घर भई काठमाडौं गोंगबु-५, भण्डारीटोल बस्ने १७ वर्षीया मेलिना थापाको कोठाबाट उपरोक्त सामग्रीका साथ थापा एवम् उनका साथीहरू ३१ वर्षीय किशोर ढकाल, २४ वर्षीया अञ्जु थापा र ३१ वर्षीय राम आचार्य पक्राउ परेका प्रहरीले जनाएको छ । मेलिनाको कोठामा बाघका अवशेषहरू रहेको सूचना प्रहरीलाई सुराकीले दिएको थियो भने महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएका प्रहरीले सोमबार साँझ अभियुक्त थापाको कोठा तलासी गरेको थियो ।

मुक्तिनाथधाममा कलश यात्रा
परासी/ नेपाल राज्यकै प्रमुख धार्मिक धरोहरमध्ये एक नवलपरासीको त्रिवेणीस्थित गजेन्द्रमोक्षदेखि मुक्तिनाथधामसम्म अखण्ड गोदुग्ध धारा एवम् करोडौँ दीप प्रज्वलन गरिने भएको छ । आउँदो चैत रामनवमीका दिन अखण्ड दुग्धारा र करोड दीप प्रज्वलन, कर्तिनर्-अर्चनाका साथै नेपालमा शान्तिहेतु हेलिकोप्टरबाट त्रिवेणीधामदेखि मुक्तिनाथसम्म अखण्ड दुग्धाराको कार्यक्रम गरिने कुरा मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्यले त्रिवेणीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।पत्रकार सम्मेलनमा स्वामी नयनाचार्यले गण्डकी-नारायणी प्रभृत्ति देवनदीलाई प्रदूषित हुनबाट बचाउन सकेको खण्डमा बागमती नदीलाई स्नान र आचमन गर्न सक्ने अवस्थामा ल्याउन सके कलशयात्रा र्सार्थक हुने बताउनुभयो । जल रहे जीवित प्राणीको जीवन रहने भनाइलाई मर्ूतरूप दिन नेपालका नदीहरूलाई प्रदूषणमुक्त गराउने अभियानमा आफू लागिपरेको बताउँदै स्वामी नयनाचार्यले यस महान् कार्यमा जुट्न आमराष्ट्रवादी ऐक्यबद्ध भई जुट्न पत्रकार सम्मेलनमा आह्वान गर्नुभएको थियो ।
०४८ साल माघ महिनामा त्रिवेणी प्रवेश गर्नुभएका स्वामी नयनाचार्यले साठीको दशकमा त्रिवेणी देवी दुम्कीवाससम्म गजेन्द्रमोक्ष जनतामार्गको शिलान्यास गरी २०६८ साल माघ पहिलो सातामा सडकको ट्रयाक खोली आवतजावत पनि प्रारम्भ भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । त्रिवेणी क्षेत्रमा रहेका १० गाविसका जनताको प्रयासबाट खोलिएको गजेन्द्र मोक्ष जनतामार्गलाई कालोपत्रे गरी सडक सुधार गरिएमा राजधानी काठमाडौंको सबैभन्दा नजिकको भारतीय सिमाना त्रिवेणीस्थित गण्डक ब्यारेज नाका नै हुने बताइएको छ । पत्रकार सम्मेलनमा त्रिवेणी दुम्कीबासस्थित सङ्घ/संस्थाका प्रतिनिधि र सडक निर्माण मूल समितिका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।-आरपी उपाध्याय

राइफलको मूच्र्छना सार्वजनिक
साहित्यकार गणेश राईद्वारा लिखित उपन्यास ‘राइफलको मूच्र्छना’को गत सोमबार काठ्माडौंमा विमोचन गरियो । ब्रिटिस गोर्खासँग सम्बद्ध सन् १९८६ सालको जुनमा अमेरिकाको हवाईमा भएको घटनालाई लिएर लेखिएको ‘राइफलको मूच्र्छना’ साहित्यकार राईको चौथो कृति हो । यसअघि उहाँका राइफलको नालबाट जीवन नियाल्दा ? उपन्यास), राइफलले फलाकेको जिन्दगी कवितासङ्ग्रह र युद्ध एम्बुसमा राइफलको एम्बुस ? उपन्यास) प्रकाशित छन् ।
‘राइफलको मूच्र्छना’को बारेमा बोल्दै उपन्यासकार राईले पल्टन ? ब्रिटिस आर्मी) मा रहँदा आफूले सुनेका, देखेका र भोगेका कुराहरूलाई शब्दमा उतार्ने क्रममा उपन्यास तयार भएको बताउनुभयो । खोटाङको हाँडीखोला गाउँमा जन्मिनुभएका राईले विभिन्न पदमा रहेर १६ वर्ष बेलायती सेनामा बिताउनुभएको छ । हाल बेलायतनिवासी साहित्यकार राईको उपन्यास राइफलको मूच्र्छनामा बोल्दै साहित्यकार अतीत मुखियाले भुक्तभोगीको अनुभवले भरिएको हुनाले उपन्यास रोचक भएको बताउनुभयो । पुस्तकलाई लिएर डा. सुरेन्द्र केसी, बबिता बस्नेत, श्रवण मुकारुङ, मोमिला, डा. विष्णु राई, शशि राई, टंक भट्टराईलगायतले बोल्नुभएको थियो । सन् १९८६ मा हवाईमा ब्रिटिस आर्मीमा रहेका गोर्खाद्वारा एकजना ब्रिटिस मेजर कुटिएपछि एक सय ११ जना गोर्खालाई अत्यन्त अपमानपूर्वक स्वदेश फर्काइएको थियो । साँझमा पार्टी भइरहेको बेला बेलायती मेजरले गोर्खाहरूको आत्मसम्मानमा चोट पुर्‍याउने वचन बोलेपछि चारजना गोर्खाद्वारा ती मेजर कुटिएका थिए । टेन्टमा बत्ती निभाएर कुटिएकाले कसले कुट्यो थाहा भएन, लामो अनुसन्धानपछि पनि कुट्ने सिपाहीहरू पत्ता नलागेपछि उक्त पार्टीमा भएका सबै गोर्खालाई जागिरबाट निकालेर स्वदेश फर्काइएको थियो । यही घटनामा आधारित उपन्यास ‘राइफलको मूच्र्छना’ नेपाली प्रतिभा प्रतिष्ठान बेलायत/ब्रुनाईले प्रकाशित गरेको हो ।

शव वाहन किन्न शिव पुराण
भक्तपुरको बालकोट- ९ स्थित देवडोलमार्गमा रहेको शिव मन्दिर परिसरमा माघ २६ गतेदेखि लगाइएको श्री शिव पुराण महायज्ञ हिजो मंगलबार सम्पन्न भएको छ । उक्त शिव पुराण पण्डित कृष्ण घिमिरेले वाचन गर्नुभएको थियो । शव वाहन खरिद गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त शिव पुराण महायज्ञमा यथेष्ट दाताहरूको सहभागिताका कारण १६ लाख रुपैयाँ सङ्कलन भएको श्री शिव पुराण महायज्ञ मूल आयोजक समितिका अध्यक्ष सुनिल ठकुरीले बताउनुभयो । शिव पुराण महायज्ञ सम्पन्न भए पनि उक्त कार्यलाई सहयोग गर्न अन्य सङ्घ/संस्था र व्यक्तिहरूसँग पनि अध्यक्ष ठकुरीले आग्रह गर्नुभएको छ । आर्थिक सङ्कलन अरू बढे शव वाहनका अतिरिक्त एम्बुलेन्स पनि खरिद गर्ने पुराण आयोजक समितिले जनाएको छ ।

यसरी सम्झिए पूर्व श्री ५ ले प्रजातन्त्र दिवसलाई
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रले ६२औँ प्रजातन्त्र दिवसका असरमा एक सन्देश दिनुहुँदै राष्ट्रियता, राष्ट्रिय अखण्डता र प्रजातन्त्रको रक्षाका निमित्त मन, बुद्धि र विवेकबाट सदैव संलग्न रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा जारी विज्ञप्तिमा उहाँले भन्नुभएको छ, ‘प्रजातन्त्र आधुनिक विश्व राज्य व्यवस्थाको एक सुन्दर अलंकार मात्र होइन मानवीय हक, हित र राष्ट्रिय विकासको सुन्दर पक्ष तथा आधार स्तम्भ पनि हो । यसै आसयका साथ राजा, जनता तथा प्रजातन्त्रप्रेमी व्यक्तित्वहरूको अथक प्रयत्नबाट आजभन्दा ६१ वर्षअघि नेपालमा प्रजातन्त्रको प्रादुर्भाव भएको हो । इतिहासको त्यो सुनौलो सर्न्दर्भलाई नभुलौँ भन्ने आग्रहका साथ ६२औँ प्रजातन्त्र दिवसका अवसरमा आज म हाम्रा जिजुबुबा राष्ट्रपिता श्री ५ त्रिभुवनसहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको स्मरण गर्न चाहन्छु,’ उहाँले अगाडि भननुभएको छ, ‘मुलुक स्वतन्त्र नरहे प्रजातन्त्रको महत्त्व र अस्तित्व रहँदैन । प्रजातन्त्रको महत्त्व र अस्तित्व रहँदैन । प्रजातन्त्र नभए जनताका अधिकार कुण्ठित हुन्छन्, राष्ट्रियताको जरो जर्जर हुन्छ । विधि व्यवस्थामा मौलिक राष्ट्रिय परिवेश नभए प्रजातन्त्र तथा राष्ट्रियता दुवै जीर्ण र अपूर्ण रहन्छन् । राष्ट्रियता, जनहित र प्रजातन्त्रको यही आदर्श एवम् मौलिक मान्यतामा हाम्रा पूर्खा एवम् अग्रजहरूको जस्तै मेरो पनि अटल आस्था, विश्वास, सहयोग र समर्थन छ ।’ मलाई लाग्दछ, ‘विखण्डन, विचलन, विद्वेष, विग्रह र विद्रोहबाट प्रजातन्त्रको राजपथ निष्कन्टक हुन सक्दैन । प्रजातन्त्रलाई मजबुत पार्न र प्रजातान्त्रिक पद्धतिबाट राष्ट्रलाई जोगाइराख्नका लागि राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक पक्षबाट अत्यन्त गहन सोच राखिनुपर्द भन्ने मेरो मान्यता रहिआएको छ । राष्ट्रियता, राष्ट्रिय अखण्डता र प्रजातन्त्रको रक्षाका निमित्त मन, बुद्धि र विवेकबाट म सदैव संलग्न रहिरहने प्रतिबद्धता पुनः व्यक्त गर्दछु,’ अगाडि भनिएको छ ।

जलविद्युत्मा पनि एमालेकरण
सरकारले जलविद्युत्को विकासका नाममा गठन गरेको जलविद्युत् लगानी तथा विकास कम्पनीमा विभिन्न बहानामा एमालेकरणको प्रयास भएको बुझिएको छ । चारपटकसम्म कम्पनीका लागि योग्य र्सर्ीइओ नपाइएको बहानापछि एमाले कार्यकर्ता एजिन्द्रप्रसाद लुइँटेललाई मनमौजी तरिकाले काम गर्न व्यवस्थापन संयोजकको पगरी दिइएको लामो समयपछि उक्त आशय सार्वजनिक हुन पुगेको छ । लुइँटेललाई पूर्ववर्ती सरकारका अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नर युवराज खतिवडा र जलविद्युत् क्षेत्रका खेलाडी तथा बैंकर गुरुप्रसाद न्यौपानेको चालबाजीमा कम्पनीमा व्यवस्थापक संयोजकको रूपमा ल्याइएको हो । यसअघि लुइँटेल राष्ट्र बैंकको वीरगञ्ज शाखामा कार्यरत थिए ।
पछिल्ला दिनमा एमालेका नेता तथा एमालेनिकट बैंकरहरूले साना तथा मझौला जलविद्युत् आयोजनामा धेरै लगानी गरेका कारण आफूअनुकूलको निर्णय गराउन सहज हुने अवस्थालाई दृष्टिगत गरी कनिष्ठ निर्देशक हुँदाहुँदै पनि राष्ट्र बैंकबाट लुइँटेललाई नै झिकाएको बुझिएको छ । जब कि लुइँटेल जलविद्युत्सम्बन्धी नीति र कार्यक्रमसँग नितान्त असम्बन्धित कर्मचारी हुन् । उनी व्यवस्थापनका विद्यार्थी पनि होइनन् । तर पनि सम्बन्धित पक्षको असावधानीका कारण र्सर्ीइओ नपाइएको भन्ने प्राविधिक आधारमा निजलाई जलविद्युत् कम्पनीको हर्ताकर्ता बनाएर एमालेकरण गर्न माओवादी नेतृत्वको सरकार नै अग्रसर हुनुलाई आश्चर्यजनक मानिएको छ ।

विभिन्न पार्टीबाट काङ्ग्रेस प्रवेश
नुवाकोट/ नुवाकोटको मदानपुर गाविस-७ मा गत ४ गते आयोजित एक कार्यक्रमबीच विभिन्न पार्टी परित्याग गरी एक सय ५३ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूमा एकीकृत माओवादी जिल्ला सदस्य मंगलसिंह तामाङ, मदानपुर- ७ का वडा इन्चार्ज पूर्णबहादुर लामा, जनशक्तिका वडाध्यक्ष विष्णु लामालगायतका छन् ।
नवप्रवेशीहरूलाई नेपाली काङ्ग्रेस नुवाकोटका सभापति एवम् संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसीले पार्टीको सदस्यता वितरण गरेका थिए । त्यसक्रममा सभापति केसीले विगतमा माओवादीले गरेको भ्रमको राजनीतिको पर्दाफास भएकाले नुवाकोटमा माओवादी त्यागेर काङ्ग्रेस प्रवेश गर्ने लहर सुरु भएको बताउँदै नवप्रवेशीहरूको सम्मान एवम् जिम्मेवारी प्रदान गर्ने सवालमा काङ्ग्रेसले कुनै कसर नछोड्ने प्रतिबद्धता व्यक्त गरे ।
यसैबीच यशोदादेवी केसी मेमोरियल ट्रष्ट नेपाल, मेडिकल कलेज जोरपाटी र बिपी स्मृती अस्पताल काठमाडौंको संयुक्त आयोजनामा नुवाकोटमा संचालित निःशुल्क स्वास्थ्य शिबिरबाट दुईहजार भन्दा बढि प्रत्यक्ष लाभान्वित भएका छन् ।गत शनिवार नुवाकोटको कुमरी गाविस-३स्थित बिरेन्द्र उच्च माबिमा आयोजित शिबिरमा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष एवं बरिष्ठ छाती रोग बिशेषज्ञ डा.केदार नरसिंह केसी नेतृत्वको २३ जना बिशेषज्ञ चिकित्सक टोलीले पाठेघर, हाडजोर्नीं, मोतियाबिन्दु, पत्थरी लगायतका रोगहरुको परिक्षण र पाँच लाख भन्दा बढिको औषधी निःशुल्क बितरण गरिएको ट्रष्टले जनाएको छ ।-शिव देवकोटा

जनमोर्चा नेपालको देशप्रेम !
नेपाल र भारतका जलस्रोत र ऊर्जामन्त्रीहरूबीच जनमोर्चा नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ । डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार निर्माण भएदेखि नै सरकारविरुद्ध आवाज उठाउँदै आएको सो पार्टीले गत ३ र ४ गतेको नयाँदिल्ली बैठकबाट गरिएको पञ्चेश्वर विकास प्राधिकरण तत्काल कार्यान्वयन गर्नेे निर्णयप्रति असन्तुष्टि जनाएको हो । सो निर्णयलाई राष्ट्रघाती संज्ञा दिएको जनमोर्चा नेपालले सन् २०१३ सम्ममा कोसीमा डीपीआर बनाउने निर्णय तत्काल फिर्ता लिन पनि चेतावनी दिएको छ ।
सो पार्टीका महासचिव साध्यबहादुर भण्डारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा माथिल्लो कर्णाली निर्माण गर्नका लागि भारतीय निजी जीएमआर कम्पनीलाई दैलेख, कालिकोटलगायतका वनक्षेत्रउ पलब्ध गराउने भनी मन्त्रिपरिषद्ले
गरेको निर्णयको पनि भर्त्सना गरिएको छ । जनमोर्चा नेपालको यस विरोधलाई कतिपयले चाहिँ मुलुकको विकासको बाटो अवरुद्ध गर्ने प्रपञ्चको रूपमा पनि अर्थ्याएका छन् ।

आफैंले भत्काएको बनाउन चासो दिएन माओवादीले
सशस्त्र द्वन्द्वका क्रममा क्षति भएका भौतिक संरचनाहरूको पुनर्निर्माण कार्यमा सम्बन्धित निकायले पर्याप्त चासो नदेखाएपछि ती संरचनाहरूको पुनर्निर्माणमा ढिलाइ भएको छ । सशस्त्र द्वन्द्वको बेला तत्कालीन माओवादीले लमजुङका ६१ गाविसमध्ये ५० वटा गाविस भवन, दुईवटा इलाका प्रहरी कार्यालय र आधा दर्जनभन्दा बढी प्रहरीचौकी, रेञ्जपोस्टलगायतका सरकारी भवनहरूमा क्षति पुर्‍याएको थियो । द्वन्द्वको समाप्तिपछि पनि ती संरचनाको पुनर्निर्माण हुन नसक्दा जिल्लाको समग्र विकासमा बाधा पुगेको छ । तर, जिल्लामा क्षतिग्रस्त ५० गाविस भवनमध्ये सरकारले अहिलेसम्म नौवटा मात्र पुनर्निर्माण सम्पन्न गरेको छ ।
द्वन्द्वका क्रममा भत्किएका केही संरचनाको पुनर्निर्माणका लागि शान्ति मन्त्रालयले बजेट पठाए पनि पर्याप्त नभएकोले निर्माण हुन लागेका तीनवटा गाविस भवन पनि बीचैमा अलपत्र परेका छन् । जिल्ला प्राविधिक कार्यालयका अनुसार जिल्लाको तार्कुघाट, चिती, धुसेनी, बन्सार, इशानेश्वर, सूर्यपाल, बिचौर, भोर्लेटार, नेटा, बाहुनडाँडा, पाचोक, दुराडाँडा, ढोडेनी, उत्तरकन्या, फलेनी, हिलेटक्सार, इलमपोखरी, कोल्की र नौथर गाविसका भवन द्वन्द्वका क्रममा पूरै क्षतिग्रस्त भएका छन् । त्यस्तै सिन्दुरे, श्रीभञ्ज्याङ, जिता, घनपोखरा, अर्चलबोट, दूधपोखरी, धमिलीकुवा, राइनस मोहोरियाकोट, चण्डिस्थान, मालिङलगायतका गाविस भवन, चक्रतीर्थ र भोर्लेटारस्थित पशुसेवा केन्द्र, कृषिसेवा केन्द्र र रेञ्जपोस्टहरूसमेत क्षतिग्रस्त भएका थिए ।
०५२ सालदेखि सशस्त्र युद्धमा होमिएको माओवादीले ०६० सम्म जिल्लाका यति धेरै भौतिक संरचनामाथि क्षति पुर्‍याउँदै आए पनि अहिले द्वन्द्व मत्थर भएपछि पनि यी भग्नावशेषहरूको पुनर्निर्माणमा सम्बन्धित निकायले चासो देखाएको पाइँदैन ।
क्षतिग्रस्त संरचनामध्ये शान्ति मन्त्रालयले अहिलेसम्म लमजुङमा तीन करोड ९७ लाख रूपैयाँ खर्च गरिसकेको छ । उक्त बजेटबाट गौंडास्थित गाविस भवन १९ लाख ९६ हजार र १९ लाख ६५ हजारको लागतमा गौंडा पशुसेवा केन्द्रको पुनर्निर्माण गरिएको बताइएको छ । त्यस्तै १९ लाख ४५ हजारको लागतमा भोंजे गाविस भवन, १९ लाख ८७ हजारको लागतमा नौथर गाविस र २९ लाख ९६ हजारको लागतमा खुदीस्थित कृषि सेवाकेन्द्रको पुनर्निर्माण सम्पन्न भएको छ । त्यस्तै २९ लाख ९६ हजारको लागतमा राइनसकोट सिँचाइ भवन, १९ लाख ९३ हजारको लागतमा भुलभुले गाविस र १५ लाख ३९ हजारको लागतमा कुन्छा गाविसको भवनको निर्माणकार्य सम्पन्न भएको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियरले बताएका छन् । त्यसैगरी बाग्लुङपानी, तान्द्राङ टक्सार, रम्घा, करापु, चक्रतीर्थ गाविसका भवन पनि निर्माण सम्पन्न भइसकेका छन् ।
गाविस भवन निर्माण तथा पुनर्निर्माणका निम्ति पर्याप्त बजेट नआउँदा जनताले भने निकै सास्ती खेप्नुपरेको छ । गाविस भवन निर्माण नहुँदा सम्बन्धित गााविसका सचिवहरू सदरमुकाममा नै कोठा भाडामा लिएर बस्न बाध्य भएका छन् । सर्वसाधारणलाई सदरमुकाममा सचिवको खोजीमा भौंतारिनुपरेको छ । शान्ति मन्त्रालयले लमजुङमा द्वन्द्वको समयमा क्षतिग्रस्त भएका सरकारी संरचनाको पुनर्निर्माण र पुनर्स्थापना कार्यक्रमअन्तर्गत अहिलेसम्म तीन करोड ९७ लाख रूपैयाँ खर्च गरिसकेको छ ।-छविलाल बगाले