छैटौँ नखेल्ने निर्णय-सेना तर्सिएको कि गर्जिएको ?

छैटौँ नखेल्ने निर्णय-सेना तर्सिएको कि गर्जिएको ?


निकट भविष्यमा आयोजना हुन लागेको ‘छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता’मा सहभागिता नजनाउने नेपाली सेनाको निर्णयले ठूलो हलचल ल्याएको छ । प्रतियोगितामा पीएलएको सहभागिता सेनाका लागि बिझाउने विषय पक्कै बनेको छ । राष्ट्रियतासँग गाँसिएको सवालमा सेना संवेदनशील बनेर देखाउनुपर्छ । तर, मेरो गोरुको बाह्रै टक्का गर्ने क्रममा सेनाले छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नखेल्ने निर्णय गर्नु त्यो राष्ट्र र राष्ट्रियतामाथि प्रहार गर्नुसरह हुनेछ । नेपाली खेलकुदको इतिहासमा सेनाको भूमिका अग्रस्थानमा रहेको वास्तविकतालाई कसैले नकार्न सक्तैन । मुलुकको मान, सम्मान र प्रतिष्ठालाई अन्तराष्ट्रमा पुर्‍याउन र नेपाली झण्डालाई विदेशी भूमिमा फहराउन खेलकुदको माध्यमबाट सेनाले निभाएको भूमिका र गरेको योगदान स्वर्ण अक्षरले लेेखिएको छ र पनि, वर्तमान अवस्थामा सेना आफैंमा किन विचलित र तर्सिरहेको छ त्यो बुझ्न सकिएको छैन । राष्ट्रको एउटा जिम्मेवार निकाय जसको भरोसामा नेपाली जनताले राहतको सास फेरिरहेका छन्, आज त्यो संस्था नै किन सन्त्रासको आवरणमा आफूलाई ढाल्न खोजिरहेको छ त्यो सोचनीय र संवेदनशील बनेको छ ।
मुलुकको गौरवमय इतिहाससँग प्रत्यक्षरूपमा आफ्नो संलग्नता देखाइरहेको र कर्ममा विश्वास गर्ने सेनाले आफ्नो भूगोल र भविष्यको समेत अत्तोपत्तो नभएको माओवादीको पीएलएसँग किनकिन पौंडेजोरी गर्न खोजेको हो त्यो अहिले चिन्ताको विषय बनेको छ । राष्ट्रियस्तरमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा समेत छुट्टै योगदान र पहिचान बनाइसकेको र मिनी राष्ट्रिय खेलकुदको रूपमा परिचित सेनाले यस्ता झिनामसिना कुराहरूलाई बढावा दिनु कतै आफ्नै खुट्टातर्फ बन्चरो सोझ्याइरहेको त छैन त्यसको व्याख्या र विश्लेषण गर्ने बेला भएको छ । खेलकुदमा सदावहार ‘हिरो’को रूपमा रहेको सेनाले राष्ट्र र राष्ट्रियताका लागि चालेको अविष्मरणीय कदम र निभाएको भूमिकाबारे सायदै कसैलाई भनिरहनुपर्ला । तर विडम्बना, विश्वको कुनै शक्तिसँग नझुक्ने नेपाली सेना आज किन अस्तित्वहीन शक्तिको छविसँग तर्सिरहेको छ, जताततै यो प्रश्न उठिरहेको छ । कर्ममा विश्वास गर्ने र कर्म गर्दै आफ्नो गन्तव्यमा पुगेर सफलताको झण्डा गाड्दै आएको सेनाले यतिबेला अर्थात् राष्ट्रियतासँग गाँसिएको छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खुट्टा कमाउनु आमनेपालीको चिन्ताको विषय बनेको छ । जुन सेनाको गौरवमय इतिहासका लागि पनि शोभा दिँदैन । उसको कर्तव्य र आत्मसम्मानका लागि समेत भविष्यमा हानिकारक सावित हुनसक्छ ।
पीएलए स्पोर्टस् क्लब अर्थात् हिजो एक राजनीतिक शक्तिबाट उदाएको सानो छवि । जो आफ्नो पार्टी सत्तामा हुँदा जुनकिरी बन्छ भने सत्ताबाहिर रहँदा झुसिलकीरा । जसको औकात वर्षायाममा उर्लने खहरे खोलासरि मात्रै छ । खेलकुदमा पीएलको इतिहास न हिजो थियो न भोलि हुनेछ । यस्तो शक्तिसँग सयौँ वर्षको इतिहास बोकेको नेपाली सेनाले कदापि प्रतिस्पर्धा गर्न मिल्दैन । सेनाले आफ्नो वस्तुस्थिति, शालीनता र धरातल के हो ? त्यो राम्रोसँग बुझ्नुपर्छ । कुनै पनि कुरोको नजितामा पुग्नुअघि त्यसलाई सयौँपटक विचार र विवेकले मन्थन गरी समग्र मुलुकको हितका लागि सोच्नुपर्छ । तर, दुर्भाग्य ! क्षणिक आवेगमा आएर सेनाले गरेको निर्णय मुलुक, खेलाडी र समग्र खेलकुदका लागि कुठाराघात बन्न पनि सक्छ । तर्सथ, अहिले पनि केही बिग्रिएको छैन । सेनाले आफूले छैटौँमा सहभागिता नजाउने निर्णयमाथि पुनर्विचार गर्नैपर्छ र सहभागिताका लागि मार्ग प्रसस्त गर्नैपर्छ । पीएलएको सेनामा सम्मानजनक समायोजनको प्रक्रिया अगाडि बढिरहेको अवस्थामा सेनाले पनि छैटौँमा आफ्नो सम्मानजनक उपस्थिति जनाउनु नै बुद्धिमानी ठहरिनेछ ।
जसरी पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सेनाले आफ्नो सहभागिता जनाएको थियो अहिले त्यस्तो अवस्था नरहेको स्पष्ट रूपमा देख्न सकिन्छ । तत्कालीन समयमा माओवादी पार्टी सेनामाथि खनिरहेको र कसरी हुन्छ सेनालाई झुकाउन प्रयत्नशील रहेका थिए तर अहिले राजनीतिले कोल्टे फेरिसकेको छ भने सबैले सेनालाई सम्मान गरेर अगाडि बढेको अवस्था छ । तर्सथ अहिले पीएलले सहभागिता जनाएका खेल नखेल्ने होइन, खेल्नुपर्ने सेनाका लागि आवश्यक भएको छ । कसैको उपस्थितिले खेलाडीको खेल्न पाउने हकमाथि प्रतिबन्ध लाग्नु त्योेबारेमा सेनाले ठण्डा दिमाकले सयौँचोटि सोच्नुपर्ने अनिवार्य भएको छ । काठमाडौंमा सम्पन्न भएको पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सेनाले पीएलएले सहभागिता जनाएको खेलहरूमा प्रतिस्पर्धा नगरेर खेलाडीले खेल्न पाउने हकबाट वञ्चित गरेको थियो । त्यो त्यतिबेलाको राजनीतिक कारण भए पनि अहिलेको अवस्था त्यस्तो छैन । अहिले पीएलएको उपस्थिति राजनीतिक कारणले नभई पाँचौँको निरन्तरता मात्रै हो । जुनबेला राष्ट्रिय खेलकुद परिषद्ले पीएलएलाई विभागीय टोलीको रूपमा नभई राजनीतिक दबाबको रूपमा मात्रै राष्ट्रिय खेलकुदमा समावेश गरेको थियो । अहिले पनि सोही अर्थात् पाँचौँको निरन्तरतालाई मात्र निरन्तरता दिएको हो । जसको व्यावहारिक र कानुनी रूपमा कुनै औचित्य छैन ।
सोही कुरालाई मध्यनजर गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले नेपाली खेलकुदमा सेनाको सुनौलो इतिहास भएकोले जसरी पनि खेलाउनुपर्नेमा जोड दिएका छन् । सेनाले नखेल्ने निर्णय गर्नुभन्दा पहिले कसको कारणले नखेल्ने र त्यसको भूगोललाई राम्रोसँग अध्ययन गर्नुपर्ने स्पष्ट पारेका थिए । र्’वर्तमान अवस्थामा सेना समायोजन प्रक्रिया अगाडि बढिरहेकोले खेलकुदलाई भाँड्ने काम कतैबाट पनि हुनुहुँदैन,’ प्रधानले भने । त्यस्तै राखेपका उपाध्यक्ष पीताम्बर तिमिल्सिनाले विभागीय टोलीहरूमा सेनाले अन्तर्राष्ट्रिय पदक दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै सेनाबिनाको छैटौँ नुन नहालेको तरकारीसरह हुने बताएका छन् । तिमिल्सिनाले पीएलए विभागीय टोली नभएको खुलासा गर्दै पाँचौँको निरन्तरता मात्र भएको प्रस्ट पारेका छन् । त्यस्तै, चर्चित तेक्वान्दो खेलाडी दीपक विष्टले सेनाको नखेल्ने निर्णयले छैटौँको प्रतिष्ठासमेत दाग लाग्ने भएकाले जसरी पनि खेल्नुपर्ने कुरामा जोड दिएका थिए । सेनामा राष्ट्रिय कीर्तिमानीधारी खेलाडी भएको चर्चा गर्दै सेनाको अनुपस्थितिले छैटौँमा नकारात्मक प्रभाव पर्ने बताए ।
तर्सथ, अहिले नेपाली सेनाले छैटौँमा सहभागिता नजाउने निर्णय गरे पनि समग्र खेलकुदको विकासका लागि र त्यसबाट पर्ने नराकात्मक प्रभावलाई आत्मसात् गर्नुपर्ने जरुरी भइसकेको छ । कारण जे भए पनि कारणलाई प्राथमिकताको सूचीमा राख्नुभन्दा त्यसको समाधानका लागि सेनाले बुद्धिमानी र दूरदर्शी कदम चाल्ने सबैले विश्वास लिएका छन् । बाहनाबाजी र प्रचारबाजी गरेर अस्तित्व नै नभएको टोलीलाई चुलीमा पुर्‍याउनुभन्दा प्रतिभाबीच प्रतिभाको भिडन्तमा परास्त गर्न सके समग्र खेलकुदको कल्याण हुनेछ । पशुपतिनाथले सबैलाई सद्बुद्धि दिऊन् ।

बक्सिङमा राजीव नै उत्कृष्ट
वर्तमान अवस्थामा नेपालका राष्ट्रिय खेल सङ्घहरूलाई छैटौँ राष्ट्रिय खेलकुदभन्दा पनि निर्वाचनको रन्कोले छोएको छ । राष्ट्रिय खेलकुद परिषद्मा युवराज लामाको प्रवेशसँगै शुभारम्भ भएको खेल सङ्घको निर्वाचन अझै जारी छ । जुडो, साइक्लिङ, पौडीलगायत थुप्रै सङ्घहरूका निर्वाचन बितेका केही महिनामा सकिएका छन् । यी सबै सङ्घमा माओवादीले आफ्ना कार्यकर्ता घुसाउन सफल भएको कसैबाट छिपेको छैन । त्यसैगरी गतसाता मात्रै नेपाल ब्याडमिन्टन सङ्घको निर्वाचन सम्पन्न भएको छ । पूर्वएआईजी रमेश श्रेष्ठले स्वच्छ छविका प्रकाशबहादुर शाहीलाई पाखा लगाएर अध्यक्ष बन्न सफल भएका थिए । अन्य पदमा भने पुरानै अनुहारले निरन्तरता पाएका छन् । ब्याडमिन्टन खेलमा सक्रिय, आर्थिक रूपमा पनि निष्कलङ्क र खेलको विकासमा आफ्नै लगानी गर्न सक्ने हैसियत भएका प्रकाशबहादुर शाहीजस्ता व्यक्तित्वलाई ब्याडमिन्टनबाट गलहत्याउने प्रयास किन भयो ? त्यो अहिले खोजीको विषय बनेको छ । प्राप्त जानकारीका अनुसार शाही माओवादीभन्दा पनि एमालेको सिकार भएको खेल क्षेत्रमा गाइँगुइँ चलेको छ ।
यता अहिले नेपाल बक्सिङ सङ्घ र नेपाल बुद्धिचाल सङ्घलाई पनि निर्वाचनको रन्कोले छोएको छ । बुद्धिचाल सङ्घमा अध्यक्ष राजेशहरि जोशीले नै निरन्तरता पाउने लगभग पक्कापक्कीजस्तै भएको छ । तर, नेपाल बक्सिङ सङ्घमा भने महासचिव राजीव श्रेष्ठ र वर्तमान अध्यक्ष रविराज थापाबीच टक्कर हुने अवस्थाको सिर्जना भएको छ । सन् २००८ को बेइजिङ ओलम्पिकदेखि नै विवाद बढी भएको क्षेत्र भन्दै आएका थापाले त्यसपछि खेल क्षेत्रबाट टाढा हुने घोषणा गरेका थिए । निकै रसिला थापाले रसिलै पारामा खेलकुदलाई अवबिदा गर्ने अभिव्यक्ति बारम्बार साथीहरूका माझमा दोहोर्‍याउँदै आएका थिए । नेपाली खेलकुदको फोहोरी खेल देखेर वाक्क भएका थापाले आफू कुनै विवादमा नपर्ने र बक्सिङको विकासका लागि बाहिरबाटै संरक्षकको भूमिका निभाउने प्रस्ट पार्दै आएका थिए । तर, दुर्भाग्य ! अहिले थापाले कुर्सीको मोहमा र्‍याल चुहाएको देख्दा उनलाई नजिकबाट चिन्ने साथीहरू रसिला व्यक्तिको निचोरिएको व्यवहार देख्दा तिनछक परेका छन् ।
अध्यक्ष थापा साधारणसभाको घोषणा भइसकेपछि पुन: अध्यक्ष बन्न किन लालायित भए- त्यो अहिले बुझिनसक्नुभएको छ । बक्सिङ सङ्घको निर्वाचन नजिकिँदै जाँदा थापाले महासचिव राजीव श्रेष्ठसँग व्यापक सल्लाह र छलफल गरी अध्यक्ष पदमा नउठ्ने घोषणा गरेका थिए । त्यसपछि थापाले राजीवलाई नै अध्यक्ष पदमा उठ्न सल्लाह दिएपछि राजीवले अध्यक्ष पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए । पूर्वएआईजी थापाले राजीव श्रेष्ठलाई अध्यक्षमा उम्मेदवार बन्न र आफूले सक्दो सहयोग गर्ने आश्वासनसमेत दिएको सङ्घका एक पदाधिकारीले बताएका छन् । यसरी आफैंले उचालेर शिखरमा पुर्‍याउने अनि ऐनमौकामा धोका दिँदै आफूलाई अध्यक्षको दाबेदारको रूपमा प्रस्तुत गर्ने थापाको चरित्र अहिले बुझिनसक्नु भएको छ । थापाकै कारणले आकासिएको श्रेष्ठको व्यक्तित्वमा अहिले चार चाँद लागेको अवस्थामा थापाले प्रतिस्पर्धामा उत्रिनु भनेको सूर्य र दियोको जस्तै प्रतिस्पर्धा हुने प्राय: निश्चित छ ।
विगत केही वर्षदेखि योग, ध्यान र अध्ययनतिर मन लगाएका कारण थापा बक्सिङप्रति उदासीन देखिएका थिए । बक्सिङको जिम्मेवारी उनका लागि बोझ बन्दै गएको थियो । यो कुरा थापाको दुई कार्यकालको विश्लेषण गर्दा पनि थाहा पाउन सकिन्छ । उनले दुई कार्यकाल बक्सिङ हाँक्दा बक्सिङ खेलले कति फड्को मार्‍यो त्यो सोझै अनुमान लगाउन सकिन्छ । सो अवधिमा थापा कति क्रियाशील थिए भन्ने कुरालाई राजीव श्रेष्ठको प्रत्यक्ष सक्रियताले पनि प्रस्ट पार्दछ । साँचो रूपमा भन्नुपर्दा केही वर्षयतादेखि नेपाल बक्सिङ सङ्घ नै राजीव श्रेष्ठजस्तो देखिएको थियो । यस्तो देखिनुमा राजीवले बक्सिङ खेलको विकासमा निभाएको अहम् भूमिका नै हो ।
सङ्घका सम्पूर्ण कामकारबाहीदेखि लिएर खेलाडी विदेश पठाउने र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न राजीवको योगदान अतुलनीय रहेको छ । बक्सिङ खेलको विकासका लागि तन, मन र धनले सहयोग गरेकै कारणले अहिलेसम्म बक्सिङका खेलाडीले राहतको स्वास फर्ेर्ने मौका पाएका छन् । हालै सम्पन्न ग्वान्झाउ एसियाडमा राजीवले देखाएको दूरदर्शिताले नेपालले एक मात्र कास्य पदक बक्सिङमा जित्न सफल भएको थियो । जस्ले मुलुक पदकविहीन हुनबाट बचेको थियो । यसरी बक्सिङको विकासका लागि अहोरात्र खटेका र आर्थिक रूपमा पनि सङ्घलाई सहयोग गर्ने व्यक्तिका रूपमा राजीव खेलकुदमा चिनिएका छन् । चर्चित व्यापारी भएका कारणले पनि राजीवलाई यसपटक बक्सिङको अध्यक्षको जिम्मेवारी दिनुपर्ने खेलाडी र प्रशिक्षकहरूले बताएका छन् । अहिले खेलाडी तथा प्रशिक्षकहरूले राजीवलाई अध्यक्ष बनाउँदा सङ्घले गति लिने र बक्सिङ नयाँ मार्गमा आउने विश्वास प्रकट गरेका छन् । तर्सथ आफ्नो दुईपटकको कार्यकाललाई ऐतिहासिक उपलब्धि ठान्दै थापाले अध्यक्ष पद छाडेर अर्को कुनै सम्मान खोज्नु नै बुद्धिमानी हुने खेल विश्लेषकहरू बताउँछन् ।

निम्सद्वारा दुवै उपाधि कब्जा
डाबर ग्लुकोज डी डाफोडिल कप च्याम्पियनसिपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइज र गल्र्स दुवैको उपाधि निम्सले जितेको छ । जुनियर ब्वाइजको फुटबल उपाधि वृहस्पति विद्या सदनले हात पार्‍यो । ब्वाइज बास्केटबलको फाइनलमा निम्सले आयोजक डाफोडिललाई ५५-४६ ले पाखा लगायो । निम्सको जितमा सन्देश तामाङले २१ अङ्क योगदान गरेका थिए । डाफोडिलका कर्मा गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । प्रतियोगिताभर एक सय ५० स्कोर गरेका निम्सका सन्देश तामाङ सर्वाधिक स्कोरकर्ता बने । गल्र्स बास्केटबलको उपाधि भिडन्तमा निम्सले पेनउडको चुनौती २४-१५ ले समाप्त पार्‍यो । निम्सकी विना नकर्मीले १० स्कोर गरिन् । निम्सकै सिर्जना खड्का ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिइन् । ड्याफोडिलकी डोली तामाङ उच्च स्कोरकर्ता बनिन् । डोलीले कुल ८० स्कोर गरिन् ।

काठमाडौं भ्यालीलाई उपाधि
चौथो उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र नकआउट फुटबल प्रतियोगिताको उपाधि काठमाडौं भ्यालीले हात पारेको छ । मण्डिखाटारस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको उपाधि भिडन्तमा काठमाडौं भ्यालीले अमर इंग्लिस स्कुललाई ५-२ गोलअन्तरले पाखा लगाएको थियो । फाइनलमा काठमाडौं भ्यालीका किरण भट्टराईले दुई, लाक्पा तेन्जी शेर्पा र अरिक विष्टले १-१ गोल गरेका थिए । अर्को एक गोल आत्मघाती भएको थियो । राजीव प्रतियोगिता अवधिभर १८ गोल गर्दै सर्वाधिक गोलकर्ता बने । गोलरक्षकमा काठमाडौं भ्यालीका अमित मगर, डिफेन्समा अमरका शान डङ्गोल, स्ट्राइकरमा काठमाडौं भ्यालीका अरिक विष्ट उत्कृष्ट चुनिए । ब्राइट फ्युचर अनुशासित टिम घोषित भयो । विजेतालाई युवा तथा खेलकुद राज्यमन्त्री गोपी अछामीले पुरस्कृत गर्नुभयो । प्रतियोगितामा २० टिमले सहभागिता जनाएका थिए ।

हमाललाई सहयोगको अपिल
भारोत्तोलनमा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जित्ने सुरेन्द्रबहादुर हमाललाई आन्द्राको क्यान्सर भएको छ । हमालले १९८४ मा सिरियामा भएको एसियाली भारोत्तोलन च्याम्पियनसिपमा कास्य पदक जितेका थिए । १९८२ को नयाँदिल्ली एसियाड, १९८४ मै अमेरिकाको लसएन्जलसमा सम्पन्न ओलम्पिकमा देशको प्रतिनिधित्व गरेका हमाल दक्षिण एसियाली खेलकुद ?साफ) को पहिलोदेखि पाँचौँ संस्करणसम्म लगातार नेपालको भारोत्तोलन टोलीमा सदस्य थिए । भारतको लखनउमा उपचार गराइरहेका हमाललाई तत्काल शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् । ४९ वर्षका हमाल नेपाल भारोत्तोलन सङ्घका निर्वाचित उपाध्यक्ष हुन । हमालको तत्काल शल्यक्रिया गर्नका लागि दुई लाख रुपैयाँको हाराहारीमा खर्च हुने बताइएको छ । शल्यक्रियापछि किमो दिनुपरेमा थप रकम लाग्नेछ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ र नेपाल ओलम्पियन सङ्घले संयुक्त रूपमा हमालको उपचारमा सहयोग गर्न सार्वजनिक आह्वान गरेका छन् । खेलाडी सङ्घका पदाधिकारीले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामासँग भेट गरी हमालको स्वास्थ्यस्थितिबारे जानकारी गराएका छन् । भेटका अवसरमा सदस्यसचिव लामाले हमालको उपचारका लागि राखेपले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको खेलाडी सङ्घका महासचिव दीपक श्रेष्ठले जनाएका छन् ।

ब्याडमिन्टनमा रमेश निर्विरोध
नेपाल ब्याडमिन्टन सङ्घको अध्यक्षमा रमेशकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठ अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिए । यसअघि प्रकाशबहादुर शाही ब्याडमिन्टन सङ्घको अध्यक्ष थिए । हालै सम्पन्न सङ्घको तेस्रो साधारणसभाले श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमितिको समेत निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ, प्रताप अधिकारी, पीताम्बर तिम्सिना तथा माधवबहादुर थापा छन् । महासचिवमा रामजीबहादुर श्रेष्ठ तथा सचिवमा वीरेन्द्र श्रेष्ठ यथावत् रहे । दीपेन्द्रकुमार श्रेष्ठले कोषाध्यक्षको जिम्मेवारी पाए । यसअघि उनी सदस्य थिए । लवभक्त श्रेष्ठ, मीनबहादुर केसी, नवीनविक्रम शाह, ऋषिकेश श्रेष्ठ, जी. नारायणबहादुर क्षेत्री, हिमाल शाह, समीरबहादुर सिंह, डम्बरसिंह गुरुङ, चन्द्रशेखर लामा, ज्ञानेन्द्र सिपाही तथा विन्दा पौडेल सिंखडा सदस्यमा चयन भए । ऋषिकेश, हिमाल र डम्बर नयाँ अनुहार हुन् । सङ्घको विधानअनुसार केन्द्रीय कार्यसमितिको सङ्ख्या २७ सदस्यीय रहने प्रावधान छ । दुई उपाध्यक्ष र ६ सदस्यको मनोनयनपश्चात् केन्द्रीय कार्यसमितिले पूर्णता पाउनेछ । साधारणसभाको युवा तथा खेलकुद राज्यमन्त्री गोपी अछामीले उद्घाटन गर्नुभएको थियो । साधारणसभामा केन्द्रका २७ तथा जिल्लाका ३० गरी जम्मा ५७ प्रतिनिधि सहभागी थिए ।

जुडोमा दीपक र इन्दिरा पहिलो
तेस्रो अम्बिकाबहादुर क्षेत्री स्मृति राष्ट्रव्यापी खुला तौलसमूह जुडो प्रतियोगिताको पुरुष ६० केजीमाथि काठमाडौंका दीपककृष्ण श्रेष्ठ र महिलाको ४८ केजीमाथि नेपाल प्रहरीकी इन्दिरा राईले पहिलो स्थान हासिल गरेका छन् । नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) मा भएको फाइनलमा दीपकले नेपाली सेनाका कालुमान तामाङ तथा इन्डिराले एमएमएसीकी फुपु ल्हामु खत्रीलाई पराजित गरेका थिए । पुरुषतर्फ शीर्ष तीन स्थान हात पार्नेले क्रमश: सात हजार, पाँच हजार र तीन/तीन हजार नगद पुरस्कार हात पारेका थिए भने महिलातर्फ पहिलो हुनेले पाँच हजार, दोस्रोले तीन हजार तथा तेस्रो हुनेद्वयले दुई/दुई हजार नगद प्राप्त गरेका थिए ।
नेपाल जुडो सङ्घद्वारा आयोजित प्रतियोगिताको पुरुषमा काठमाडौंका दीपककृष्ण श्रेष्ठ तथा महिलामा सेनाकी लीला अधिकारी इप्पोनतर्फ उत्कृष्ट घोषित भए । उनीहरूद्वयले एक-एक हजार नगद पुरस्कार पाए । उक्त एकदिने प्रतियोगिताको सम्पूर्ण खर्च स्व. अम्बिकाबहादुर क्षेत्रीको परिवारले प्रायोजन गरेको थियो । प्रतियोगिताको समापनका अवसरमा मिर्गौला रोगबाट ग्रसित सप्तरीका जुडो सहायक प्रशिक्षक चन्द्रनारायण चौधरी तथा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका जुडोका रमेश डङ्गोललाई आर्थिक सहयोग प्रदान गरिएको थियो । नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले अन्तर्राष्ट्रिय जुडो महासङ्घबाट प्राप्त आर्थिक सहयोग दुई-दुई हजार अमेरिकी डलर उनीहरूको परिवारका सदस्यलाई हस्तान्तरण गरका थिए ।

तेक्वान्दो पिस कोर्प तालिम सम्पन्न
नेपाल तेक्वान्दो सङ्घको आयोजनामा डब्लूटीएफ तेक्वान्दो पिस कोर्प तालिम त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको राष्ट्रिय तेक्वान्दो प्रशिक्षण केन्द्रमा सम्पन्न भएको छ । तालिम मुख्यत: छैटौँ राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने पीएलए स्पोर्टस् क्लबका खेलाडीलाई लक्षित गरी आयोजना गरिएको हो । तीनदिने तालिममा छैटौँमा भाग लिने पीएलएका १४ पुरुष र ८ महिला खेलाडी तथा विभिन्न सात डिभिजनका सातजना गरी जम्मा २९ प्रशिक्षार्थी सहभागी जनाएका थिए । तालिम दक्षिण कोरियाबाट आएका प्रशिक्षकले सञ्चालन गरेका थिए ।