किन रहस्यमा राखियो यिनका निधनलाई ?

किन रहस्यमा राखियो यिनका निधनलाई ?


आफ्नो पूरा जीवन नै कलाकारिता क्षेत्रमा बिताएका अनि यसमा नै समर्पण गरेका कलाकर्मीहरूले कलाकारिताबाट पाउने के हो ? सहजै जवाफ आउन सक्छ कि मान, सम्मान, इज्जत, प्रतिष्ठा अनि वाहवाही । तर, जीवन खरानी भइसक्दा पनि कलाकारहरूले यो कुरा पाउन सकेका छैनन् । परिवारकै कारण यी कुराहरूबाट वञ्चित भइन् पछिल्लोपटक कलाकार सुशीला रायमाझी । कलाकारिता क्षेत्रमा लागेपछि ऊ परिवारको मात्र होइन मुलुकै प्रतिष्ठा हो । त्यसकारण पनि उसको बारेमा चासो दिने अनि ऊप्रति ध्यान जाने र उसको पक्षमा वकालत गर्ने अधिकार सबै वर्ग, तह र तप्काका मानिसलाई हुन्छ किनकि त्यो कलाकार कुनै परिवार त नातागोतामा मात्र सीमित रहँदैन, मुलुककै इज्जत र प्रतिष्ठा हो त्यो कलाकार ।
तर दुर्भाग्य, केही कलाकारहरूको परिवारले आफ्नै परिवारभित्रको स्रष्टाको मूल्य र मान्यता नबुझ्दा एउटा साधारण मान्छेको निधनभन्दा पनि निरस र अपत्यारिलो निधन हुन पुगेको कलाकारहरूको । पछिल्लोपटक यस्तैगरी करोडौँ प्रशंसकहरूलाई गुमराहमा राखेर एक हस्ती सुशीला रायमाझीको परिवारले मध्यरातमा उनको पार्थिव शरीरलाई खरानीमा परिणत गराए । यसअघि पनि हास्य कलाकार गोपालराज मैनाली र निर्देशक दीपक रायमाझीको अन्त्येष्टि पनि थुपचुप नै गरे परिवारले । तर, यी दुईको निधनलाई गुपचुप राख्नुको कारण आज पनि रहस्यमय नै रहेको छ । परिवारको आफ्नो सदस्यको महत्त्व राम्ररी नबुझदा र उनीहरूको हैसियतको उच्चतम आँकलन गर्न नसक्दा परिवारकै कारण मुलुकको इज्जत र प्रतिष्ठा मानिने स्रष्टाहरूको अन्त्यमा दशजना मलामी पनि उपस्थित हुन नपाउनु र अरूले थाहा पाउलान् भनेर मध्यरातमा उनीहरूलाई जलाउनु अर्को दु:खदायी पक्ष हो । यस्ता धरोहरको अन्त्य साहै्र नै नाजुक र अशोभनीय तरिकाले हुनु मुलुककै कलाकारिता क्षेत्रका लागि दु:खदायी कुरा हो ।
कसैबाट जानकारी पाएर आर्यघाट पुगेका यी स्रष्टाका शुभचिन्तकलाई परिवारबाटै गाली-गलौज सुरु हुन्छ ? तपाईंहरू किन आउनुभएको ? हाम्रो व्यक्तिगत मामिलामा तपाईंहरूलाई केको चासो… ? भन्नेजस्ता तुच्छ शब्दहरू प्रयोग गर्ने परिवारका सदस्यहरूले आफ्नै घरभित्र फुलेको फूलको महत्त्व बुझ्न सकेनन् । बेलुका ६ बजे साथीभाइसँग छुटि्टएर घर पुगेका निर्देशक दीपक रायमाझीबारे एक्कासि भोलिपल्ट बिहान खबर आउँछ ‘उनको त निधन भयो ।’ यसरी एक्कासि निधनको खबरले विक्षिप्त हुन पुगेको शुभचिन्तकहरूको चासोको जवाफ उनका परिवारले दिँदैनन् र जतिसक्दो चाँडो अन्त्येष्टि गर्नतिर ध्यान दिन्छन् । यसरी हस्तीको निधन नेपाली कलाकारिता क्षेत्रमा निकै नर्मल र गुमराह तरिकाले हुँदै आएको छ । निर्देशक दीपक रायमाझी अनि हास्यकलाकार गोपालराज मैनालीको निधनलाई पनि उनका प्रशंसकले अझै सहजै विश्वास गर्न सकेका छैनन् । यस्तै निधनका कारण पछिल्लोपटक कलाकार सुशीला रायमाझीको निधनलाई पनि उनका प्रशंसकहरूले पत्याउन सकिरहेका छैनन् ।
केही महिनाअघिसम्म पनि सुशीला रायमाझी तन्दुरुस्त नै थिइन्, उनी बिरामी भएर अस्पताल भर्ना भएको कुरा पनि लुकायो परिवारले । यो कुरा किन लुकाउनुपर्‍यो ? जवाफ अनुत्तरित नै छ । ज्वरो आएर घरमा सुतेको कलाकारको बारेमा त यहाँ ठूलो समाचार बन्दै आएको थियो तर देहान्तसम्म पुग्ने अवस्थामा रहेकी सुशीला रायमाझीबारे उनको परिवारले आन्तरिक रूपमा नै सबै कुरा लुकायो । सुशीलाको श्रीमान्को पहिले नै निधन भइसकेको थियो भने उनकी दुईवटी छोरीमध्ये एउटी एयरहोस्टेज छिन् र कान्छी अमेरिकामा अध्ययनरत छिन् ।
अहिलेका शिक्षित सन्तानबाट पनि आफ्नी आमाको निधनलाई गुमराहमा राख्नुको कारण के थियो ? कसैले बुझ्न सकिरहेका छैनन् । ‘म पनि अचम्ममा परेको छु कि किन यस्तो भयो र गुपचुप उनको अन्त्येष्टि गर्न खोजियो,’ चलचित्र निर्माता रमेशजंग रायमाझीले भने । सुशीला रायमाझीको नातेदारको रूपमा चिनिएका रमेशजंगले नै सुशीला रायमाझीको निधनबारे चलचित्रकर्मी र मिडियाहरूलाई खबर गरेका थिए । ‘रमेशजंग रायमाझीले पनि थाहा नपाउनु भएको भए सुशीला रायमाझीको निधनबारे त वर्षौंसम्म अनभिज्ञ हुन्थ्यो होला नेपाली चलचित्र क्षेत्र,’ चलचित्रकर्मीहरूको भनाइ छ ।
सुशीलाको निधनबारे जानकारी पाएपछि उनको पार्थिव शरीर हेर्न अस्पताल पुगेका चलचित्रकर्मी र सञ्चारकर्मीहरूलाई सुशिलाकी जेठी छोरी प्रसिद्धिका रायमाझीले नराम्रो व्यवहार गरेकी थिइन् । उनले चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीलाई ‘हाम्रो परिवारको बारेमा चासो दिन तपाईंहरूलाई के मतलब’ भन्नेजस्ता शब्दहरू प्रयोग गरेकी थिइन् र जवाफमा उपस्थित चलचित्रकर्मीहरूले ‘सुशीला दिदी तपाईंकी आमा मात्र होइन, यो मुलुकको सम्पत्ति पनि हो । एउटा धरोहर हस्तीको निधनप्रति चासो दिनु हाम्रो अधिकार हो’ भनेपछि पछाडि सरेकी थिइन् ।
महिनौंदेखि सुशीला ओछ्यान परेकी थिइन् । यो कुरा उनको परिवारलाई भन्दा अरूलाई थाहा थिएन र थाहा पनि दिइएन, किन ? जवाफ अस्पष्ट नै छ । उनी क्यान्सरबाट पीडित थिइन् रे ? परिवारले यही कुरा बजारमा ल्याए तर केको क्यान्सर हो र कहिलेदेखि यो रोगबाट उनी पीडित थिइन् ? यो कुरा पनि रहस्यमयी नै छ । यस्ता थुप्रै रहस्य र कुतूहल छाड्दै कुशल कलाकार सुशीला रायमाझीको परिवारले एउटा धरोहरको दु:खदायी तरिकाले अन्त्येष्टि गर्‍यो । उनको निधनले राष्ट्रिय सम्मान पाउँथ्यो र राष्ट्रिय चासोको विषय र कुतूहल हो सुशीलाजस्ती कला हस्तीको निधन । रेडियो, रंगमञ्च, टेलिभिजन अनि चलचित्र गरेर हरेक विधामा आफ्नो दह्रो उपस्थिति जनाउन सफल सुशीला रायमाझीको निधन भने हलुका र साधारण मान्छेभन्दा पनि साधारण तरिकाले भयो । त्यस्ती हस्तीको सन्तान भएर पनि आफ्नी आमाको मूल्य, मान्यता अनि उचाइ र योगदानलाई चिन्न नसक्ने उनको परिवारलाई जति गाली गरे पनि कम हुन्छ ।

अमेरिकामा रोजी-रोटीको चक्कर
यतिबेला नेपाली कलाकारहरूको एउटा जम्बो टोली अमेरिका भ्रमणमा छ । यो टोलीमा हास्यकलाकारदेखि एक सञ्चारकर्मी अनि साथमा नायिका र गायिका छन् । अमेरिकामा रहेका नेपालीमाझ सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न अमेरिका पुगेको यो टोलीले त्यहाँ सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्छ वा गर्दैन ? त्यसबारे अहिले नै यसै भन्न सकिन्न, तर यसै जम्बो टोलीमा रहेकामध्ये एक नायिका युना उप्रेती र गायिका मल्लिका कार्कीको ध्यान भने अमेरिकामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नतिरभन्दा पनि काम खोज्नतिर लागेको जानकारी प्राप्त भएको छ । युना र मल्लिकाको यो खोजलाई अमेरिकामा लामो समयदेखि बस्दै आएका कलाकारहरूले उतै बस्न उकास्ने गरेका छन् । उनीहरूले ‘पिर मान्नुपर्दैन, हामी छौँ, काम पाइहालिन्छ नि !’ भनेर ढाडस दिएबाट युना र मल्लिकाको अमेरिकामै बस्ने रहर झन् मौलाएको बुझिन्छ । अमेरिका जानुअघि नेपालमा रहेका चलचित्रसम्बन्धी सङ्घ/संस्थाबाट ‘ग्रिनकार्ड’ एप्लाईका लागि कागजपत्र बनाउँदैमा व्यस्त रहँदा त्यो बीचमा अफर आएका केही सिनेमा युनाले छोडेकी थिइन् । यसरी सिनेमा छाड्दा युना अमेरिकाबाट र्फकन्नन् भन्ने कुरा पहिले नै प्रस्ट भइसकेको थियो र त्यसअनुरूप नै युना र मल्लिका यतिबेला अमेरिकामा चिनजान भएका कलाकार र आफन्तहरूसमक्ष पुगेर काम खोजिदिन आग्रह गर्न थालेका छन् ।
अमेरिका बसेका कलाकारहरूले जानकारी दिएअनुसार यो समूहमा गएका नौजनामध्ये अधिकांशले उतै बस्ने मनस्थिति बनाएका छन् । यसकारणले पनि ग्रिनकार्ड एप्लाई गर्दै काम गर्ने र ग्रिनकार्ड हात परेपछि नेपाल र्फकने योजना उनीहरूको रहेको छ । स्मरण रहोस् कि सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने बहानामा अमेरिका आएर उतै लुक्ने नेपाली कलाकारको यो पक्ष पुरानो होइन ।

तपाईंको दृष्टिमा
सधैं एकनास चर्चामा छाइरहने सिने-अभिनेत्री हुन् रेखा थापा । अहिलेको पुस्ताकी व्यस्त अनि सफल अभिनेत्री रेखा अभिनयको मामिलामा मात्र नभई सफल फिल्म मेकरको रूपमा पनि स्थापित छिन् । पहिलोपटक अभिनय गरेको चलचित्र हिरोदेखि पोस्टप्रोडक्सनमा रहेको पछिल्लो चलचित्र रावणसम्म आइपुग्दा उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन । निरन्तरता र आफ्नो क्षेत्रप्रतिको लगाव र सद्भाव नै सफलताको कारण हो भन्ने रेखाको दृष्टिमा जीवन र जगत् के हो त ? तपाईंको दृष्टिका लागि राजन घिमिरेसँग यसरी प्रस्तुत भइन् रेखा थापा ।

० जीवन के हो –
– भोगाइ
० प्रेम के हो ?
– नजिक ल्याउने सम्बन्ध
० सुन्दरता के हो ?
– आकर्षण
० मन के हो ?
– सही र गलत छुट्याउने माध्यम
० भावना के हो ?
– अनुभूति
० विवाह के हो ?
– अपरिचितलाई आफ्नो बनाउने माध्यम
० बन्धन के हो ?
– अनुशासन
० अपमान के हो ?
– पीडाको स्रोत
० इज्जत के हो ?
– आत्मबल उकास्ने बुटी
० बेइज्जति के हो ?
– अपमानबोधको स्रोत
० मिलन के हो ?
– सुखद अनुभूति
० विछोड के हो ?
– दुखद् घडी
० जवानी के हो ?
– जीवनमा एकपटक आउने विशेष समय
० बालपन के हो ?
– जीवनको एउटा सुखद क्षण
० तृष्णा के हो ?
– केही विशेष तत्त्व हासिल गर्नका लागि एउटा विशेष सङ्केत
० रिस के हो ?
– आफूलाई नष्ट गर्ने सजिलो उपाय
० जोस के हो ?
– उत्साह
० नसा के हो ?
– आफैंलाई पतन तुल्याउने मीठो माध्यम
० यौन के हो ?
– राम्रो सोचे राम्रो गलत सोचे गलत प्रवृत्ति
० सन्तुष्टि के हो ?
– प्रगतिको अन्त्य
० कर्तव्य के हो ?
– जिम्मेवारी
० विश्वास के हो ?
– कसैप्रति आस्था
० असल के हो ?
– सबैको मन जित्ने बाटो
० खराब के हो ?
– अरूको अगाडि गलत बनाउने तत्त्व
० सबभन्दा ठूलो धोखा के हो ?
– विश्वासघात
० दु:ख के हो ?
– सुखको सन्देश
० सुख के हो ?
– अल्छी बनाउने माध्यम
० खुसी के हो ?
– मनको आनन्द
० आनन्द केमा छ ?
– अरूको खुसीमा
० मित्र को हो ?
– जसले सुख-दु:खमा साथ दिन्छ
० शत्रु को हो ?
– जसले नराम्रो सोच्छ
० सङ्घर्ष के हो ?
– सफलताको सुरुवात
० प्राप्ति के हो ?
– आनन्द
० आस्था के हो ?
– विश्वास
०र् धर्म के हो ?
– आस्था
० नैतिकता के हो ?
– बन्धन
० चरित्र के हो ?
– हेराइ
० ज्ञान के हो ?
– जीवनलाई शुद्ध बनाउने माध्यम
० बुद्धि के हो ?
– ज्ञान
० सम्झौता के हो ?
– सहमति
० सृष्टि के हो ?
– प्राकृतिक नियम
० गुरु को हो ?
– जसले सकारात्मक सोेच बाँड्छ
० राजनीति के हो ?
– चर्चा र पदको लोभ
० देश के हो ?
– सम्मान गर्नुपर्ने मातृभूति
० समाज के हो ?
– सहमति र सहकार्यको एक परिवार
० पद के हो ?
– घमण्डी तुल्याउने माध्यम
० विकास के हो ?
– प्रगतिको उज्यालो बाटो
० व्यापार के हो ?
– बाँच्ने आधार
० अनुशासन के हो ?
– जीवनको सुन्दर गहना