सरकारले समयमै रकम नदिए छैटौँ धरापमा पर्छ-युवराज लामा (सदस्यसचिव, राखेप)

सरकारले समयमै रकम नदिए छैटौँ धरापमा पर्छ-युवराज लामा (सदस्यसचिव, राखेप)


अस्तव्यस्त रहेको खेलकुदलाई सम्हाल्ने क्रममा उहाँले निकै उकाली-ओरालीको सामना गर्नुपरिरहेको छ । खेलकुदका राष्ट्रिय सङ्घहरूलाई लोकतान्त्रिक पद्धतिको साँचोमा ढाल्न होस् या नेपाल ओलम्पिक कमिटीको विवादलाइ नयाँ ट्रयाकमा ल्याउन उहाँले गरेको प्रयास खेलकुदका लागि कोसेढुङ्गा सावित भएको छ । त्यस्तै अनेकौँ चुनौतीको पहाड बनेको छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफलताको मूर्तरूप दिन र सुदूरपश्चिमको नाक काटिनबाट जोगाउन उहाँले गरेको अथक मिहिनेत र बगाएको पसिनाको अहिले यत्रतत्र सर्वत्र चर्चा भइरहेको छ । सरकार होस् या राजनीतिक दल, खेलाडी होस् या पदाधिकारी सबैसँग हातेमालो गर्दै खेलकुदको काँचुली फर्ेर्नेतर्फ उद्यत रहनुभएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामासँग घटना र विचारका लागि श्रीविक्रम भण्डारीले गरेको विशेष कुराकानी :
० तपाईंले सोचेको खेलकुद र वास्तविक खेलकुदमा कस्तो भिन्नता पाउनुभयो ?
? जसरी विश्वमा खेलकुदको विकास गर्नका लागि प्रशिक्षण, अनुसन्धान प्रयोग गरिन्छ त्यो हामीकहाँ पर्याप्त छैन । भौतिक पूर्वाधारको सम्बन्धमा पनि हाम्रो विश्व-सन्दर्भमा कुनै कोणबाट तुलना गर्न मिल्दैन । त्यस्तै, हाम्रो क्षमता र प्रतिभालाई व्यवस्थापन गर्न नसकिएको, खेलकुदलाई हेर्ने दृष्टिकोण, खेलकुदबाट प्रत्यक्ष समाजमा पर्ने प्रभाव, जीवनमा हुने लाभ र राष्ट्रसँग जोडिएको कुराको राम्रो बहस नभएको परिस्थिति छ । विकास गर्छु भन्ने तर विकास नभएको अवस्था छ ।
० खेलकुदमा आउँदा जुन सोच लिएर आउनुभएको थियो, त्यसमा कत्तिको सफलता प्राप्त गरेजस्तो लाग्छ ?
? कार्ययोजनाको हिसाबले धेरै कार्ययोजना अगाडि बढेको छ । जस्तो धेरै गुट-उपगुटमा विभक्त रहेका सङ्घहरूलाई एकजुट पार्ने कार्य भएको छ । खेलकुद सङ्घहरूलाई एक्टिभ गर्ने, खेलकुदका गतिविधिलाई गाविससम्म पुर्‍याउने अर्थात् जिल्ला, क्षेत्रीय हुँदै राष्ट्रिय बनाउने । त्यस्तै दीर्घकालीन रूपमा खेलकुदलाई प्रत्यक्ष प्रभाव पार्ने प्रशिक्षणलाई अगाडि बढाउने क्रममा ‘मिसन साग’ स्पोर्टस् म्यान ट्रेनिङ ? एक्टी), स्कुल र कलेजलाई खेलकुदको जगको रूपमा विकास गर्ने, स्वस्थका लागि खेलकुद र राष्ट्रका लागि खेलकुदको अभियानको थालनी भएको छ । समग्रमा भन्नुपर्दा छैटौँ राष्ट्रिय प्रतियोगिता सञ्चालन र सम्पन्न गर्ने प्रक्रियामा छौँ । तर, डिग्रीमा हेर्ने हो भने पचास प्रतिशत काम भएको अवस्था छ ।
० खेलकुदमा राजनीतिको हावासमेत छिर्न नदिने प्रतिबद्धता जाहेर गर्नुभएको थियो, तर राजनीति त झनै मौलायो नि ?
? खेलकुदलाई राजनीतीकरण गर्नुहुँदैन भन्नेको विपक्षमा म हिजो पनि थिएँ आज पनि छु । खेलकुदलाई पार्टीगत राजनीतीकरण गर्ने तर खेलकुदका लागि केही नगर्नेहरूको विरोधी हुँ म । तर, खेलकुदको निकास र विकासका लागि राजनीतिको सहयोगबिना सम्भव छैन । तर्सथ अन्धो राजनीति विशेषत: सङ्कीर्णवाद, अतिवाद र गुटबन्दीको विरोधमा म मात्रै होइन सम्पूर्ण खेलाडी र राखेप उत्रिनुपर्छ ।
० राजनीतिक दलहरूले खेलकुदमा हस्तक्षेप गर्नुलाई कुन अर्थले हेर्नुभएको छ ?
? मेरो विचारमा राजनीतिक दलहरूले खेलकुदमा हस्तक्षेप गर्नु भनेको खेलकुदलाई विश्वव्यापी रूपमा कसरी परिचालन गरिन्छ भनेर नबुझेको कारणले हो । साथै पार्टीगत सङ्कीर्णवाद र भोटवादी मानसिकता हो । खेलकुदको विकासमा आफ्नै राजनीति हुन्छ जसले खेलकुदको विकासका लागि कार्य गर्दछ । तर, राजनीतिले अनिवार्य रूपमा निकासका लागि कार्य गर्नुपर्छ ।
० खेलकुदमा आमूल परिवर्तन गर्ने तपाईंको चाहना खेलकुद सङ्घहरूको निर्वाचन मात्रै हो कि, अन्य पनि छ ?
? जसरी समाजमा खेलकुद स्थापित छ, सोअनुरूप खेलकुदमा आमूल परिवर्तन हुन आवश्यक छ । खेलकुद भनेको सहरकेन्द्रित सुकिला-मुकिला र आर्थिक रूपमा सम्पन्न वर्गहरूको मात्र खेलकुद हो भन्ने बुझाइ छ, त्यसमा परिवर्तन हुनुपर्छ । लिलिपुटे राजा प्रवृत्ति, मै जान्ने मै सुन्ने प्रवृत्तिबाट खेलकुदलाई मुक्त पार्नुपर्छ । खेलकुदलाई प्रत्येक परिवारको, प्रत्येक गाउँ जिल्ला क्षेत्र र हुँदै केन्द्रसम्म यसको गतिविधि सञ्चालन गरिनुपर्छ । तब मात्र खेलकुदमा आमूल परिवर्तन हुन्छ । जहाँसम्म तपाईंको प्रश्नको आशय छ, त्यो अर्थात् खेलकुद सङ्घको निर्वाचन खेलकुदलाई संस्थागत गर्ने प्रक्रिया मात्रै हो । मुख्य कुरा त आमजनताको सहभागिता र बुझाइ हो ।
० प्राय: खेलकुदका सङ्घहरूले तदर्थवादबाट मुक्ति पाए पनि सङ्घहरूमा विवाद यद्यपि जारी छ नि ?
? अहिले धेरैवटा सङ्घहरूको निर्वाचन भएको छ, अन्य नभएकाहरू पनि निर्वाचन प्रक्रियामा छन् । जहाँसम्म विवादको कुरा छ, विवाद संस्थागतभन्दा पनि व्यक्तिगत प्रवृत्तिका कारणले भएको छ । जस्तो मैले मात्र सङ्घ चलाउनुपर्छ, म नै सबथोक भन्ने केही सङ्घमा छ, तर त्यो पनि समयले अन्त्य गर्नेछ ।
० एउटै सङ्घ राखेप र एनओसीमा छुट्टाछुट्टै अस्तित्वमा रहँदा राखेप पनि विवादमा तानिएको छ, यसको समाधान के होला ?
? केही सङ्घ राखेप र एनओसीमा देखिनु हिजोको राखेप र एनओसीको विवादका कारणले हो । अर्को कुरा त्यसलाई म वादी चरित्रले पनि सिर्जना गरेको हो । त्यसको अवशेषको रूपमा त्यो देखिएको हो । जसरी अहिले राखेप र एनओसीको सहकार्य अहिले अगाडि बढिरहेको छ त्यसले भविष्यमा दुइटा सङ्घ एउटै हुने मेरो विश्वास छ । त्यो आवश्यक पनि छ । त्यसलाई जसरी भए पनि एक बनाइन्छ । त्यो म बनाउँछु पनि ।
० अर्को कुरा एउटा तेक्वान्दो सङ्घ हुँदाहुँदै अर्को त्यस्तै खेल सङ्घ (तेक्वान्दो युनियन नेपाल) दर्ता हुनुमा राखेपको के स्वार्थ छ ?
? वर्तमान अवस्थामा नेपालमा तीनवटा तेक्वान्दो सङ्घहरू डब्लूटीएफ, आईटीएफ र टी युनियन अस्तित्वमा देखिएका छन् । यीमध्ये टी युनियन प्रशिक्षणकालमा रहेको छ । अर्को कुरा तीनवटै सङ्घ बेग्लाबेग्लै अन्तर्राष्ट्रिय सङ्घमा दर्ता भएका छन् । विषयगत रूपमा तेक्वान्दो भए पनि विधिवत रूपमा छुट्टाछुट्टै हुन् । तर, केही सञ्चारमाध्यमहरूमा यसको समाचार बन्ने गरेको छ त्यसमा राखेपको कुनै स्वार्थ पनि छैन र मेरो भन्नु पनि केही छैन ।
० तपाईंले पार्टी र नेताको दबाबमा आएर तेक्वान्दो युनियनको दर्ता गरेको चर्चा छ, सत्यता के हो ?
? पार्टीले त होइन तर पार्टीका केही व्यक्तिहरूको दबाब आएको निश्चित हो । त्यो दबाबको कारणले युनियनको दर्ता गरेकोचाहिँ पक्कै होइन । राखेपको विधि र प्रक्रियाअनुसार दर्ता गरिएको हो । अहिले जति विवाद युनियनबारे बाहिर आएको छ त्यो उनीहरूको नेतृत्वको कारणले आएको हो । युनियनले माओवादी पार्टीको ब्यानर प्रयोग गरेका कारणले अलि बढी विवाद देखिएको हो जस्को जरुरी छैन । मेरा लागि युनियन अन्य खेलकुद सङ्घजस्तै हो ।
० खेलकुदका सङ्घहरूमा माओवादी कार्यकर्ताको उल्लेख्य उपस्थिति हस्तक्षेप होइन र ?
? खेलकुदका सङ्घहरूमा केही माओवादीमा आस्था राख्ने नेतृत्वहरू छन् । जुन अन्य राजनीतिक पार्टीको दाँजोमा नगन्य छ । अहिले हामी सरकारमा भएको नाताले सबै राखेप, जिल्ला, क्षेत्र हाम्रो नेतृत्वमा भएकाले त्यस्तो देखिएको हो । जसमा सत्यता कम भ्रम बेसी छ ।
० नेपाल ओलम्पिक कमिटीको विवाद समाप्त भइसकेको भन्नुभएको छ । के विवाद सकिएकै हो त ?
? नेपालमा ओलम्पिक कमिटीको विवाद प्राविधिक रूपमा अन्त्य भइसकेको छ । कानुनन: नेपालमा दुईवटा एनओसी छ । एउटा जिल्ला प्रशासन कार्यालयमा र अर्को राखेपमा दर्ता भएको छ । सर्वोच्चले ब्युँताएको एनओसीले साधारणसभा गरेको छैन । ऊसँग एउटा सङ्घ पनि छैन । जो एनओसी बन्नका लागि अनिवार्य हुन्छ । उसले कुनै कार्यक्रम पनि सञ्चालन गरेको छैन । एनओसी हुनका लागि आईओसीले मान्यता पनि दिनुपर्छ । ओलम्पिक रिङ र ओलम्पिक गतिविधि सञ्चालन गर्न अनिवार्य रूपमा आईओसीबाट त्यो आधिकारिता प्राप्त गर्नुपर्छ । जुन कुरा सर्वोच्चले मान्यता दिएको एनओसीमा छैन । त्यो प्राविधिक रूपमा मरिसकेको र कानुनी रूपमा मात्र बाँचेको संस्था हो । अर्को राखेपमा दर्ता रहेको एनओसीसँग यी सम्पूर्ण कुरा छ ।
० त्यसो भए अब सर्वोच्चको फैसला के हुन्छ त ?
? सर्वोच्चको फैसलालाई सम्मान गर्नुपर्छ । तर, जुन एनओसीलाई सर्वोच्चले ब्युँताएको छ त्यसको प्रक्रिया खुद त्यो एनओसीले पूरा गर्नुपर्छ । जोे ओलम्पिक चार्टरअनुसार गठन हुनुपर्छ । जुन कुरा उक्त एनओसीले कहिल्यै पूरा गर्न सक्तैन । वास्तविक रूपमा भन्नुपर्दा सर्वोच्चले आफ्नो काम सकेको छ, बाँकी काम उक्त एनओसीले गर्नुपर्छ जुन म सम्भव देख्दिनँ ।
० तपाईंले आफू ओलम्पिक कमिटीमा जानका लागि यो प्रपञ्च गरेको हो भन्छन् नि ?
? एउटा कुरा म के स्पष्ट पार्न चाहन्छु भने एनओसीमा जानका लागि सङ्घको पदाधिकारी हुन जरुरी छ । म कुनै पनि सङ्घको पदाधिकारी छैन । तर्सथ यो चियागफमा चलाएको हल्ला र भ्रम मात्रै हो । यो मिथ्या आरोप मात्रै हो । मलाई एनओसीमा जान कुनै रहर छैन । जुन भूमिका मैले निर्वाह गरिरहेको छु त्यो नितान्त खेलकुदको हितमा र अवरुद्ध रहेको ओलम्पिकको गतिविधि सुचारु गर्न र ओलम्पिक विवादले नेपालको बेइज्जत अन्तराष्ट्रमा भइरहेको अवस्थामा त्यसको अन्त्य मात्रै मेरो चाहना हो ।
० प्रसङ्ग बदलौँ, आगामी महिना सुदूरपश्चिममा आयोजना हुन गइरहेको छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी कस्तो भइरहेको छ ?
? सर्वप्रथम यसका लागि सम्पूर्ण जिल्लाका छनोट प्रतियोगिता सम्पन्न भइसकेका छन् । माघ महिनाभित्र क्षेत्रीय प्रतियोगिता सम्पन्न हुनेछ । अहिले पूर्वाधार निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । समारोहको सन्दर्भमा व्यापक तयारी भइरहेकोे छ । सरकारबाट सैद्धान्तिक सहमति भएको १४ करोड रकम आउन बाँकी छ । त्यसका लागि पहल भइरहेको छ । समग्रमा प्राविधिक र अन्य तयारी क्रमश: अन्त्यतिर पुगिसकेको छ ।
० छैटौँका लागि सरकारले छुट्याएको बजेटमा भौतिक पूर्वाधारको निर्माण र खेल आयोजना सम्भव छ ?
? सम्भव छ, पूर्वाधारको सम्बन्धमा धनगढी रंगशालाका लागि प्याराफिट, फुटबल मैदान, एथलेटिक्स ट्रयाक र अन्य खेलकुदका कोर्स र कभर्डहलहरूको मर्मत भइरहेको छ । महेन्द्रनगरमा भलिबल, कबड्डी, कुस्ती, क्रिकेट मैदान र कबर्डहलको तयारी भइरहेको अवस्था छ । जुन पाँच महिनाअगाडि थिएन ।
० यतिबेला भौतिक पूर्वाधारको निर्माण र मर्मत-सम्भार कार्यमा ढिलासुस्ती भएको चर्चा चलेको छ, आखिर सत्यता के हो ?
-नेपालमा विशेषत: खेलकुदमा शङ्का-उपशङ्का गर्ने, काम नगर्ने र कुरा काट्ने परम्परा नै हो । तर्सथ हामीले प्राविधिक र भौतिक रूपमा सम्पूर्ण गतिविधि अगाडि बढाएका छौँ । त्यस अर्थमा शङ्का-उपशङ्का सकारात्मक भएमा ठीकै हो, तर खेलकुदको विकास नहोस् भनेर भ्रम फैलाउने र राजनीति गर्नेहरूलाई मेरो केही भन्नु छैन । हामी फागुन १४ गते उद्घाटन गछौं २१ गते समापन ।
० तपाईंले छैटौँ अन्तर्राष्ट्रिय मापडण्डको हुने बताउनुभएको छ, हर्ेदा त त्यस्तो लाग्दैन नि ?
? अन्तर्राष्ट्रिय मापडण्ड भन्नाले हाम्रो सापेक्षमा दक्षिण एसियाको सापेक्षामा भनेको हो । जापान, अमेरिका, चीन र युरोपको सापेक्षमा भनेको होइन । तर, विगतको जस्तो खुला चौरमा छैटौँको आयोजना पक्कै हुने छैन । यो राष्ट्रिय प्रतियोगिताको अनुगमन गर्न अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई बोलाउँदै छौँ । जस्का लागि पनि हामीले न्यूनतम मापडण्ड पूरा गर्नैपर्छ ।
० यसपटक जिल्ला र क्षेत्रलाई सम्पूर्ण अधिकार दिनुभयो, कस्तो महसुस गरिहनुभएको छ ?
? हामी अहिले सङ्घीय अवधारणाअन्तर्गत र शक्ति विकेन्द्रीकरणको अभ्यास गरिरहेका छौँ । क्षेत्र र जिल्लामा स्वायत्त रूपमा कार्यक्रम अगाडि बढाउन समायोजन गरिरहेका छौँ । जसको नतिजा अहिले सकारात्मक आइरहेको छ । प्रत्येक जिल्लामा महोत्सवहरू सम्पन्न भइसकेका छन् । विगतको जस्तो विवाद र केन्द्रीकृत अवधारणालाई परिवर्तन गर्न सफल भएका छौँ । प्राविधिक र नीतिगत निर्देशनमा मात्र केन्द्रले हेरिरहेको छ । जसले गर्दा जिल्ला क्षेत्रमा नेतृत्वको र व्यवस्थापनको विकास भएको छ । जिल्ला र क्षेत्रको नेतृत्व सक्षम देखिएको छ । खेलाडीहरूमा खासै विवाद देखिएको छैन ।
० जिल्ला र क्षेत्रमा व्यापक बजेट दुरुपयोग भएको सुनिन आएको छ, यसको जानकारी तपाईंलाई छ होला नि ?
? जिल्ला र क्षेत्रमा बजेट दुरुपयोग भएको छ भन्ने मिथ्या हल्ला मात्रै हो । किनभने सम्पूर्ण बजेट, खर्च गर्ने विधि निर्देशिकाबाट निर्दिष्ट छ । सबै कुरो तोकिदिएको छ । कुनै जिल्ला र क्षेत्रमा त्यस्तोे हल्ला छैन । केन्द्रमा बसेका केही भाइरसहरूको मिथ्या हल्ला मात्रै हो यो । आवश्यक परे जोकोही पनि जिल्ला-क्षेत्रमा गएर अनुगमन गर्दा राम्रो हुन्छ । त्यो अधिकार सम्पूर्ण सङ्घ, खेलाडी र आमनागरिकलाई छ । यदि त्यस्तो भएको भने ती कारबाहीका भागीदार हुनेछन् ।
० राष्ट्रिय प्रतियोगिता गर्नु भनेको नौलो हिरो जन्माउनु हो, के छैटौँले आफ्नो औचित्य पुष्टि गर्ला त ?
? खेलकुदमा कुनै प्रतियोगिता आफैंमा महत्त्वपूर्ण हुन्छ । गत वर्ष स्थगित भएको छैटौँ यो वर्ष हामी सञ्चालन र सम्पन्न गर्दै छौँ । जसले सम्पूर्ण देशमा रहेका खेलाडीहरूमा ऊर्जा प्रदान गर्नेछ । साथै राष्ट्रिय च्याम्पियनहरूको पहिचान गराउनेछ । जो प्रतिभाहरू भोलिका दिनमा अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउनेछन् । समग्रमा राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई छैटौँले पुष्टि गर्नेछ, सम्पूर्ण युवाशक्तिमा नयाँ जोस, जाँगर र ऊर्जा सञ्चार गर्नमा सफल हुनेछ । त्यसमा म सतप्रतिशत विश्वस्त छु ।
० अन्त्यमा खेलकुदमा अहिलेसम्मको आफ्नो मूल्याङ्कन कसरी गर्नुहुन्छ ? र, भविष्यको योजना के छ ?
? अहिलेसम्म मैले आफ्नो मूल्याङ्कनमा पचास अङ्क मात्र दिएको छु । मैले त्यो मात्र गरिरहेको छु जुन एउटा सदस्यसचिवले गर्नुपर्छ । खेलकुदमा धेरै कुरा गर्नु बाँकी छ, सम्पूर्ण खेलहरूमा प्रशिक्षक र अम्पायरहरूको रिफ्रेस टे्रनिङ गर्नुछ । चार हजार गाविसमा एक-एकजना स्वयम्सेवक पठाउने योजना छ ।

मञ्जुलाई स्कुटर
सातौँ ढोरपाटन ब्लु स्काई कप महिला डबल लिग भलिबल प्रतियोगितामा ‘प्लेयर अफ द सिरिज’ चुनिएकी ज्ञानुबाबाकी मञ्जु गुरुङलाई स्कुटर प्रदान गरिएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा आयोजित एक कार्यक्रमबीच टीभीएस कम्पनीका सेल्स म्यानेजर धीरज लुइँटेलले टीभीएसको स्ट्रिक स्कुटी मञ्जुलाई हस्तान्तरण गरेका थिए । यसअघि अन्य दुई विधामा प्रतियोगिता आयोजक ढोरपाटन स्पोर्टस् प्रशिक्षण क्लबले खेलाडीलाई स्कुटर प्रदान गरेको थियो । दर्शक मतका आधारमा उत्कृष्ट घोषित न्यु डायमन्डकी रमिला तण्डुकार तथा ‘ढोरपाटन प्लेयर अफ द एयर’ चुनिएकी नेपाल प्रहरीकी चूडा खड्काले स्ट्रिक स्कुटी पाएका थिए । स्कुटर हस्तान्तरण कार्यक्रमअघि आयोजक ढोरपाटन स्पोर्टस् प्रशिक्षण क्लबले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको आय-व्यय सार्वजनिक गरेको थियो । अध्यक्ष छन्त्यालका अनुसार टिकटबाट १२ लाख २५ हजार तीन सय, व्यक्तिबाट ६ लाख ५० हजार तथा विभिन्न सङ्घ-संस्थाबाट ६ लाख ७५ हजार गरी २६ लाख ५० हजार तीन सय रुपैयाँ उठेको थियो । त्यसमध्ये प्रतियोगिता सञ्चालन गर्न २६ लाख २५ हजार पाँच सय खर्च भएको बताइएको छ ।

जुडो अध्यक्षमा बज्राचार्य निरि्वरोध
नेपाल जुडो सङ्घको अध्यक्षमा दीपकहर्ष बज्राचार्य निरि्वरोध निर्वाचित भएका छन् । सङ्घको हालै सम्पन्न तेस्रो साधारणसभाले बज्राचार्यको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्यसमितिसमेतको निरि्वरोध चयन गरेको हो । बज्राचार्य अध्यक्षमा निर्वाचित भएको यो लगातार तेस्रोपटक हो । बज्राचार्य दक्षिण एसियाली जुडो महासङ्घका अध्यक्ष र एसियाली जुडो महासङ्घका उपाध्यक्षसमेत हुन् । सङ्घको उपाध्यक्षत्रयमा सुदेव महत, खड्गबहादुर दाहाल र पियुष श्रेष्ठ रहेका छन् । त्यस्तै महासचिवमा रमेश महर्जन उपमहासचिव बाबुराज महर्जन र राजेश कर्माचार्य र धर्मकुमार श्रेष्ठ सचिवको जिम्मेवारी पाएका छन् । यसैगरी सहसचिवमा हेमराज भण्डारी, कोषाध्यक्ष विपिनप्रसाद श्रेष्ठ तथा सहकोषाध्यक्षमा दिनेश आचार्य रहेका छन् ।
सदस्यहरूमा रामकृष्ण बीसी, सुरजकाजी डोटेल, दीपक प्रधान, लक्ष्मीरत्न तुलाधर, ऋषिराम प्रधान, विजय गुरुङ, विष्णुबहादुर गुरुङ, सूर्यनारायण श्रेष्ठ, मनोजबहादुर केसी तथा गंगाबहादुर डङ्गोल छन् । यसअघि साधारणसभाको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामाले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । त्यस्तै सोही दिन दुई उपाध्यक्ष र १० सदस्य मनोनीत गरिएको छ । सिद्धिबहादुर शाक्य र धर्मशीला चापागाईं उपाध्यक्षमा मनोनीत भएका थिए भने सदस्यहरूमा धर्म पाक्षे, सुरेन्द्र केसी, माधवराज अधिकारी, प्रमोद नेपाल, हरिप्रसाद श्रेष्ठ, अच्युत लामिछाने, इन्द्र डङ्गोल, नरेन्द्र डङ्गोल, राजन कर्माचार्य तथा ओलम्पियन देवु थापा मनोनीत भएका थिए ।

महिला भलिबलमा काठमाडौं पहिलोे
मध्यमाञ्चल क्षेत्रीय महिला भलिबल प्रतियोगिताको उपाधि काठमाडौंले जितेको छ । सिन्धुलीमा सञ्चालित प्रतियोगिताको फाइनलमा काठमाडौंले ललितपुरमाथि २५-१३, २०-२५, २०-२५, २५-१६ र १५-६ को कठिन जित हात पारेको थियो । मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा चितवनले सिन्धुलीलाई ३-१ को सेटमा हराउँदै तेस्रो भएको थियो । पुरुष भलिबलमा भने ललितपुर पहिलो भएको थियो ।
त्यस्तै मध्यमाञ्चल क्षेत्रीय पुरुष ह्यान्डबल प्रतियोगितामा काठमाडौं च्याम्पियन बनेको छ । कपनको आकाशेधारास्थित मैदानमा भएको फाइनलमा काठमाडौंले ललितपुरमाथि २०-१३ को जित हासिल गरेको थियो । काठमाडौंको जितमा उदय बोगटीले नौ गोल गरेका थिए । उदय प्रतियोगिताकै सर्वाधिक गोलकर्तासमेत बने । उनले प्रतियोगिताभरि २९ गोल गरेका थिए । काठमाडौंकै निमा रिन्जी शेर्पा उत्कृष्ट खेलाडी चुनिएका थिए । तीनदिने प्रतियोगितामा पाँच जिल्लाको सहभागिता रहेको थियो ।

नरेश र सानु टेटे च्याम्पियन
तेस्रो अन्तरटेलिभिजन टेबलटेनिस प्रतियोगितामा नेपाल वानका नरेश रावलले दुई स्वर्ण जितेका छन् । पुरुष एकलमा स्वर्ण जितेका नरेशले निकेश खड्कासँग मिलेर पुरुष जोडीमा पनि स्वर्ण हात पारेका थिए । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष एकलको फाइनलमा नरेशले आयोजक नेपाल टेलिभिजनका मदन आचार्यलाई सोझो सेटमा पाखा लगाएका थिए । त्यस्तै पुरुष जोडीको उपाधि भिडन्तमा नरेश र निकेशको जोडीले एनटीभीकै मदन आचार्य र मनोहरि थापाको जोडीलाई सोझो सेटमा पराजित गरेका थिए । महिला एकलमा एभिन्युजकी सानु खड्काले इमेजकी सुमित्रा भट्टराईलाई सोझो सेटमा पराजित गरेर च्याम्पियन बनेकी थिइन् ।

पिस क्रोप ट्रेनिङ
नेपाल तेक्वान्दो सङ्घको आयोजनामा डब्लूटीएफ तेक्वान्दो पिस ट्रेनिङ हालै सम्पन्न भएको छ । उक्त ट्रेनिङमा डोजाङ प्रमुख, सिनियर खेलाडी तथा प्रशिक्षक गरी जम्मा दुई सय ६ जनाको सहभागिता रहेको छ । सहभागीलाई दक्षिण कोरियाबाट आएका आठजना टे्रनरले प्रशिक्षण दिएका थिए । टे्निङमा सहभागीलाई विश्व तेक्वान्दो महासङ्घको परिवर्तित नियमलगायतबारे जानकारी गराइएको थियो ।