गैरआवासीय नेपाली संघ यूकेको तेस्रो काउन्सिल वैठकमा तमासा

गैरआवासीय नेपाली संघ यूकेको तेस्रो काउन्सिल वैठकमा तमासा


लण्डन । हिजो आइतबार, फार्नबोरोहस्थित फार्नबोराह स्कूलको हलमा गैरआवासीय नेपाल संघ यूकेको तेस्रो काउन्सिल वैठक बस्यो । अति नै व्यवस्थित किसिमले आयोजना गरिएको सो कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारीहरुसहित राम्रै परिमाणमा स्थानीय नेपाली समाजका मिडियाहरुको उपस्थिति रहेको थियो । संघको महासचिव योगकुमार फगामी, सचिव संगीता मरहट्ठाले संयुक्त रुपमा सञ्चालन गरेको सो कार्यक्रममा संघले गरेको विगतका कार्यक्रमहरुलगायत प्रगतिहरुको पावरपोइन्टको प्रयोग गरी दायाँवायाँ अनि स्टेजमा पनि एकैपटक देखाइएको थियो । एनआरएनए यूकेका केही अगाडिका कार्यक्रमहरुको तुलनामा सहभागीहरु प्रशस्तै देखिएका थिए । सबैको नजरमा पर्ने गरेर व्यापक मात्रामा यु्वाहरुको उपस्थिति देखिएको थियो र ती युवाहरुको उक्त उपस्थितिलाई हालै यो अवधिको कार्यसमितिमा देखिएको दुई धारका समूहहरुको अतिरिक्त शक्तिको रुपमा प्रस्तुत गराइन सकिने सम्भावनाको आँकलन गर्दै कार्यक्रमको लगभग शुरुमा कार्यक्रम सञ्चालकहरुबाट होहल्लालगायतका अप्रिय कामहरु गरेर आयोजकलाई प्रहरीलाई बोलाउन नपरोस् भनी आग्रह गरिएको थियो ।

नेपाल तथा बेलायतको राष्ट्रिय गीतहरुमा सम्मानपूर्वक श्रद्धा व्यक्त गरिसकेपछि काउन्सिलको सो बैठकमा त्यसपछि त्यहाँ गरिने कार्यशालाहरुको बारेमा संक्षिप्तमा बताउन थाल्दा फ्लोरबाट प्रश्नउत्तरको शेसन राख्नुपर्ने र सर्वसाधारणलाई बोल्ने र सोध्न पाउने अधिकार दिनुपर्ने भन्दै र महासचिवले बारबार लिखित रुपमा प्रश्नहरु लिइने र यो कार्यक्रम अधिवेशन नभएको त्यसैले शान्त रहन भनेको भए तापनि उनको बोल्ने क्रमलाई बिथोल्दै गरेको भन्दै संघ तथा सो बैठकका सभापति योगेन क्षेत्री स्वयं मञ्चमा गई कार्यक्रममा राखिएको व्यवस्थाअनुसार रहन र महासचिवले भनेबमोजिक गर्न आग्रह गर्दै फ्लोरबाट त्यसरी ‘बकवास’ नगर्न भनेपछि कार्यक्रम अगाडि बढेको थियो । कार्यक्रममा संघका अध्यक्षको सो प्रकारको व्यवहार अति नराम्रो भएको, शब्द छनोटमा निचताको प्रदर्शन गरिएको अनि उपस्थित विभिन्न व्यक्तित्वहरुले अध्यक्षको स्तर बुझेको एक पक्षले भनेका थिएभने अर्को पक्षले कार्यक्रमको ढाँचा नै नबुझी, सञ्चालकहरुको सबै कुरा नसुनी बीचमा नै उभिएर अति जान्नेसुन्ने बन्नु एक हेपाहा प्रवृति भएको र त्यस प्रकारको प्रबृतिलाई त्यसरी नै ठीक गर्नु पर्ने धारणा राखेका थिए । तर केहीले भने गैरआवासीय नेपाली संघ यूकेका भूपू महासचिवहरुमा भक्त गुरुङ्ग र रामशरण सिंखडाजस्ता सक्षम अब नदेखिएको बताएको सु्निन्थ्यो ।

भूपू अध्यक्ष सूर्य गुरुङ्गको पालादेखि शुरु गरिएको काउन्सिल बैठकको अवधारणा वास्तवमा निक्कै नै प्रभावपूर्ण देखिएको थियो । हलको चारैतिर विविध नाममा कार्यशालाहरुको आयोजना गरिएको थियो, जसमा विश्व आदर्श पण्डितको अध्यक्षतामा नेपाली नागरिकताको सवालमा नागरिकताको निरन्तरतास मे.रि. डम्बर घलेको अध्यक्षतामा भू.पू. गुर्खाहरुको आन्दोलनको बारे, गैरआवासीय नेपाली संघको च्यारिटी कार्यक्रमहरुको बारे कूल आचार्यको अध्यक्षतामा, सामूहिक लगानीको बारेमा महन्त श्रेष्ठ र थर्क सेनको सयुंक्त अध्यक्षतामा, काउन्सिलको अवधारणा र तिनको विकासको लागि सूर्य गुरुङ्गको अध्यक्षतामा, निर्वाचनको वैधानिकता, नियमकानून तथा आचरणहरुको बारेमा प्रमुख संरक्षक प्रा. सूर्य सुवेदीको अध्यक्षतामा, मपहला विभागको तर्फको बारेमा श्रीमति नरकुमारी लिम्बूको अध्यक्षतामा, यूकेमा क्षेत्रहरुको विभाजन अनि तिनको सञ्चालनको बारे कमल भण्डारीको अध्यक्षतामा, बेलायतस्थित विभिन्न संघसंस्थाहरुको बारेमा दूतबहादुर पुनको अध्यक्षतामा र निर्वाचन पद्धतिको बारेमा डा. हेमराज शर्माको अध्यक्षतामा कार्यशालाहरु सञ्चालन गरिएका थिए । सहभागीहरुको राम्रो उत्साह सो प्रकारका कार्यशालाहरुमा देखिएका थिए ।

खासगरी भूपू गुर्खाहरुको कार्यशालामा निक्कै नै चर्काचर्की भएको देखिएको थियो । मद्धत समूहका अध्यक्ष निक्कै नै चर्किएर आफ्नो भनाइ राखेका देखिएकाथिए भने यता गत निर्वाचन प्रणलीमा भएको समस्यालगायत संघबीचको दुई धारहरुका बारेमा बसेको कार्यशालामा पनि त्यस्तै प्रकारको चर्काचर्की देखिन्थ्यो । सो कार्यशालाका अध्यक्ष सूर्य सुवेदीले उपाध्यक्ष सूर्य नेम्वाङ्गलाई उनले कसको अनुमतिले आफूलाई वरिष्ठ उपाध्यक्ष भन्दै हिँडेको भन्ने प्रश्न गरेकाथिए जहाँ नेम्बाङ्ग आफूमाथि लगाइएको चन्दाको रकमको हिनामिना आदिको आरोपबारे बोल्न उपस्थित थिए । संघका दुई पक्षका नेतृत्वहरु एकै स्थानमा बसेका भए तापनि तीबीच व्यापक मतभिन्नताहरु स्पष्टै तीलगायत तिनका पक्षहरुबाट सो टेबलमा देखाइएको थियो । ती सबै मतभिन्नताहरुलाई आज अर्थात् ०१ सेप्टेम्बरमा गोर्खा प्यालेसमा बस्ने बैठकमा सुल्झाउने भन्दै कार्यशालालाई सकाएकाथिए प्रा. सुवेदीले ।

यही महिनाको २९ तारिखपछि विधिवत रुपमा महेन्द्र कँडेल अध्यक्ष बन्ने र योगेन क्षेत्री सहअध्यक्ष रहने भन्ने सहमति २०१३ को सेप्टेम्बरको २९ तारिखमा लण्डनस्थित दूतावासमा गरिएको थियो । सोबेला गरिएको सहमतिको विपरीत दुबै पक्षले कार्यहरु गरेका समाचारहरु बाहिर आएका थिए । यसै क्रममा फेरि एकपटक गैरआवासीय नेपाली संघ यूके दुई खेमामा विभाजित भएका लाग्दथे र योगेन क्षेत्रीले खुलेआम रुपमा सेप्टेम्बर २९ मा गरिएको सहमति नमान्ने भन्दै हिँड्दै थिए भने महेन्द्र कँडेल अहिलेदेखि नै भावी कार्यक्रमहरुको तर्जुमा गर्दै हिँडेका भेटिन्थे । एकातिर रहेका प्रा। सुवेदी भने अनुशासन समितिले त्यो सहमतिलाई कार्यान्वयन गराउँछ भन्ने विश्वस्त देखिन्थे । तर गत महिनाको १७ तारिख महेन्द्र कँडेलको तर्फबाट काउन्सिलको विशेष बैठक बोलाइने कुरा सार्वजनिक गरेलगत्तै योगेन समूहले गत ३१ तारिखको अर्थात् हिजोको यस काउन्सिल बैठक राखेका थिए । तर अन्त्यमा दुबै पक्षहरु यस बैठकमा एकै स्थानमा सँगै बसेका थिए । मुख्य संरक्षकको रुपमा प्रो। सुवेदी पनि यहाँ भएकोले यस बैठकले कुनै निर्णयलाई सार्वजनिक गर्नेमा सबै आशावादी थिए ।

वैठकमा सासु बुहारीबीचको झगडाहरु देखिने प्रकारका भनाभनलगायत चुक्लीहरु सुनेका प्रा. सुवेदी निक्कै नै दिक्क देखिन्थे । आफूसँग पटक्कै समय नभएको बताएर लन्चपछिको कार्यक्रमको लगत्तै आफूले पहिले बोलेका थिए । आफ्नो उक्त मन्तव्यमा उनी निक्कै नै दिक्क अनि उदास लाग्दथे । धेरै नै आक्रामक पनि देखिएका थिए दुबै पक्षतर्फ । खचाखच भरिएको सो भेलालाई सम्वोधन गर्दै उनले व्यापक रुपमा गैरआवासीय नेपाली संघको यूके शाखाका वर्तमान अध्यक्ष र अर्का प्रतिद्वन्द्वी महेन्द्र कँडेलको खुब आलोचना गर्दै खिल्ली उडाएका थिए, जसमा प्रशस्तै ताली पाएका थिए उपस्थित सर्वसाधारणहरुका जमातबाट । उनले आफ्नो मन्तव्यमा पछिल्लो सहमतिपछि यी दुबै पक्ष मिलेर दुई दुई वर्ष पालैपालो संस्थालाई चलाउने सहमति गरेको गरेको थाहा आफूले पाएको खुलासा गरेका थिए जसबारे पछि आआफ्नो बोल्ने क्रममा कुनै वक्ताहरुले चर्चा गरेनन् । संस्था विभाजित हुन थाल्यो र मध्यस्थता गरिदिनका लागि केन्द्रीय नेतालगायत विभिन्न संरक्षकहरुबाट गरिएको बिन्तिअनुसार आफूले मध्यस्थता गरेर गत वर्ष एक हस्ताक्षरित सहमति गरेको तर त्यसको तामेल नभएकोमा आफू दुःखी भएको पनि त्यहीं बताएकाथिए । वैधानिकताको कुरा गर्ने भए योगेन क्षेत्री एक वैधानिक अध्यक्ष हुन् र महेन्द्र कँडेल अवैधानिक तर बेलायतमा दुईवटा उही नामका संस्थाहरुको उदय हुनु राम्रो कसैलाई पनि नहुने भएकोले गरिएको अर्को चक्रीय प्रणालीको अवधारणाअनुसारको हस्ताक्षरित सहमतिको वैधानिक पद्धति हो, त्यसलाई नमान्ने भए आफूलाई भन्नु केही नभएको पनि आफ्नो मन्तव्यमा बताउने सुवेदी निक्कै क्रोधित पनि देखिन्थे । आफूलाई समय नभएकोले आफ्नो प्रमुख संरक्षकको पदबाट अवकास लिएको त्यहीँ भन्न भ्याएकाथिए ।

प्रा. सुवेदी दिक्किएर बाहिरिएपछि अन्य कार्यशालाका अध्यक्षहरुले आआफ्नो ‘आउटकम’हरु समाजमा राखेका थिए । उपस्थित सहभागीहरु पातलिँदै गएकाथिए । सबै अध्यक्षहरुको भनाइ सकिएपछि फ्लोरबाट तीनवटा प्रश्नहरु उठाउनका लागि माइक दिइएको थियो । यूके यूथको तर्फबाट आफ्ना लिखित प्रश्नहरु बोल्नका लागि मञ्च त्यो समूहका नेता रिचार्ड गुरुङ्गलाई दिइएको थियो । आम जनताले नसुन्ने गरेर संघभित्र छुट्टै किसिमका सहमतिहरु किन गरिए, तिनका जानकारी जनतालाई वा साधारण सदस्यहरुलाई नि दिइएन रु पैसाको हिनामिना किन गरियो रु किन नेतृत्वका लागि हानथाप गराई समाजमा गलत प्रभाव पारेको रु एनआरएनए सञ्चालन गर्न नसकेको हो भने युवाहरुका हातमा किन नछोड्ने आदि प्रश्नहरु रिचार्डले राखेका थिए । तीनवटा प्रश्नहरु सकिए पनि आफूलाइ्र्र बोल्न दिइनु पर्ने भन्दै कार्यक्रममा होहल्ला गरेपछि सञ्चालकले माइक दिएका थिए । गैरआवासीय नेपाली संघ यूकेका सूर्य गुरुङ्गपछिका अर्थात् कूल आचार्य, योगेन क्षेत्री र महेन्द्र कँडेलहरु फटाहा भएका, भाँड हाल्ने खालका, समाजलाई भ्रममा राख्ने खालका आदि इत्यादि भन्दै खबरदारी निक्कै चर्को आवाजमा गरेका थिए, जसको भनाइलाई समर्थन गर्दै ताली ठोक्नेहरु र माइक खोस्नुपर्छ भन्नेहरु यत्रतत्र देखिएका थिए ।

कार्यक्रमको अन्त्यतिर कार्यक्रमका अध्यक्ष तथा संघका वर्तमान अध्यक्ष योगेन क्षेत्रीले २४ वर्षअगाडि आफू खान नपाएर सडकमा भौंतारिँदा कसैले आफूलाई एक छाक खान दिएको आफूले कहिल्यै नभुलेको र आफूले सक्दो अब त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्नकै लागि यसरी संस्थामा लागेकोले पैसाको हिनामिना आफूले गर्ने भन्ने प्रश्नै नउठ्ने अति नै भावुकताका साथ बताएकाथिए । अहिले बेलायतमा एनआरएनहरुमा भइरहेको विवाद सत्य र असत्यबीचको लडाइ तथा वैधानिक र अवैधानिकबीचको लडाइजस्तो भएको भए पनि संस्थाको लागि आफूले त्याग गर्दै गत सालको सहमतिमा भाग लिएको तर अर्को पक्षबाट त्यसको कार्यान्वयन नभएको भन्दै समाजको लागि आफू सँधै लागी पर्ने वचनवद्धता पनि सोही अवसरमा क्षेत्रीले गरेका थिए । विवादको सवालमा आफू व्यक्तिगत रुपमा नलागेको, समाजलाई तोड्नु हुँदैन भन्नेमा आफू सकारात्मक भएको बताउँदै अन्त्यमा आफ्नी बुहारीले आइस बकेट च्यालेन्ज गरेको बदलामा आफूले त्यहीं स्टेजमा १५१ राष्ट्रहरु दायाँ र वाँया आँखाका रुपमा दुईजना साथीहरुलाई दिँदै उल्टो यात्रा गर्दै आएका विश्व साइकिल यात्रीहरुलाई आर्थिक सहयोग गर्नको लागि आफूलाई साथ दिनको लागि आग्रह गरेका क्षेत्रीले केही मिनेटमा सहभागीहरुबाट आफ्नो १०० पाउण्डलगायत जम्मा १४३६ पाउण्ड र १ अमेरिकी डलर उठाउन सफल भएका थिए ।

कार्यक्रमको अवधिमा गरिएका कार्यशालाहरुको निचोड वा तेस्रो काउन्सिलको वैठकले निकालेको घोषणा पत्र नेपाल पत्रकार महासँघ यूके शाखाका अध्यक्ष चिरन शर्मा र घोषणा पत्रको तयार पार्ने समूहबाट जिव बेलबासेको उपस्थितिमा सचिव संगीता मरहट्ठाले पढेर सुनाउने क्रममा महेन्द्र कँडेलले १३ नम्बरको यस…. “गैरआवासीय नेपाली संघ बेलायतमा हाल देखा परेको विवादसम्बन्धी भएको छलफलका सहअध्यक्ष्य महेन्द्र कंडेलद्वारारा प्रस्ताव भएबमोजिम यो सम्पूर्ण बिषयलाई अनुशासन विभागमा पुर्याई छानबीन गर्नुपर्ने प्रस्ताव राख्नुभएकोमा अध्यक्ष्य योगेन्द्र बहादुर क्षेत्रीले समर्थन गर्दै आईसीसीको अनुशासन विभाग र विधान समितिमा पठाई आईसीसीको निर्णय नआउंदासम्म यो कार्यसमिति कायमै रहने प्रस्ताव गरिएकोमा सो कार्य यथाशीघ्र होस् र एनआरएन यूकेमा एकता कायम रहोस् भन्ने कामना यो बैठक गर्दछ” …..बुँदामा आफ्नो घोर आपत्ति भएको जनाउन मञ्चमा नै पुगेका थिए । घोषणा पत्र पढ्दै गरेकी संगीता मरहट्ठाको हातबाट घोषणापत्र लगभग खोसेका थिए । आफूले सो घोषणा पत्र पढ्न पाउनु पर्ने र यसलाई पूरा गर्न समय दिनुहोस् भन्दै गरेकी सचिवलाई केही अवरोध गरेपछि समय दिएका थिए । पर्दाभित्र मञ्चमा भएकाहरुले सम्झाएपछि आफ्नो बोल्ने क्रममा महेन्द्र कँडेल व्यक्तिगत रुपमा आफूले नराम्रो नगरेको, समाजको भनाइको लागि आफू जे गर्न पनि तयार भएको तर आफ्नो अनुमतिबिना कसरी आफ्नो नाम सो बुँदामा जोडियो भन्ने प्रश्न गरेका थिए । सेप्टेम्बर १ तारिखमा गोर्खा प्यालेसमा बस्ने कार्य समितिको एक विशेष बैठकलाई किन नकुरी सो प्रकारको घोषणा पत्र राखिएको भन्ने प्रश्न राख्दै आफ्नो नोट अफ डिसेन्ट भन्दै आपत्ति व्यक्त गरेका थिए भने त्यहीबेला यूके युथका रिचार्ड गुरुङ्गले आफूहरु पनि सो विशेष कार्यसमितिको बैठकमा उपस्थित हुने एक लिखित चिट महासचिवलाई हस्तान्तरण गरेका थिए । कार्य समितिमा नभएका ती युथहरुका सहभागिता वा सहभागी हुन खोज्ने प्रयासले कस्तो रुप लिने छ, त्यो भने हेर्न बाँकी छ ।

कार्यक्रमको अन्त्यमा च्यालेन्ज गरेअनुसार अध्यक्ष क्षेत्रीले वरफले भरिएको बाल्टी आफ्नो शिरमा खन्याउने अनुमति दिएका थिए र उपस्थितहरुले ताली पिटेर समर्थन गरेका थिए । अध्यक्ष क्षेत्रीको सो कार्यको सबैले खुलेरै प्रशंसा गरेका थिए । कार्यक्रमलाई रेडियो राइनो डट नेटले प्रत्यक्ष प्रशारण गरिरहेको थियो ।

तस्वीर: भीम बानिया