टेनिसको ग्ल्यामरमा नेपाल रंगिने पक्का छ

टेनिसको ग्ल्यामरमा नेपाल रंगिने पक्का छ


-मनोज राणा (अध्यक्ष, अखिल नेपाल लनटेनिस सङ्घ)
टेनिस खेलप्रतिको विशेष लगाव र झुकावले गर्दा १७ वर्षको उमेरमै उहाँले टेनिसलाई आत्मसात् गर्नुभएको थियो । आफ्नो ३३ वर्षको टेनिसजीवनमा उहाँले थुप्रै उपलब्धि हासिल गर्नुको साथै मेन डबल्समा राष्ट्रिय च्याम्पियनसमेत बन्नुभएको थियो । ४५ वर्षको सिनियर भेट्रानतर्फ बैंककमा भएको प्रतियोगितामा उहाँले रनर अप भएर विश्व बरियताक्रममा ९०औँ स्थानमा समेत आउन सफल हुनुभएको थियो । खेलकुदको लामो यात्रामा बक्सिङ सङ्घको कोषाध्यक्ष, कुस्ती सङ्घको अध्यक्ष राखेपको सदस्य र नेपाल ओलम्पिक कमिटीको उपाध्यक्ष रहिसक्नुभएका र वर्तमान अवस्थामा अखिल नेपाल लनटेनिस सङ्घको अध्यक्षको रूपमा कार्यरत मनोज राणासँग घटना र विचारका लागि श्रीविक्रम भण्डारीले गरेको कुराकानी ः-
० वर्तमान अवस्थामा लनटेनिसबारे विश्लेषण गर्दा कसरी गर्नुहुन्छ ?
– वास्तविक रूपमा भन्नुपर्दा अहिले लन टेनिसको लोकप्रियताले विस्तारै जरो गाडिरहेको अवस्था छ । पहिले टेनिस सम्भ्रान्त परिवारका मानिसहरूले मात्र खेल्ने खेलको रूपमा परिचित थियो । तर, अहिलेको अवस्था त्यस्तो छैन । अहिले यो खेलप्रति सर्वसाधारणको पनि आकर्षण बढेको छ । अझ हालै गरिएको केटा र केटीको जुनियर प्रतियोगितालाई मध्यनजर गर्ने हो भने मैले यो खेलको भविष्य निकै उज्ज्वल देखेको छु ।
० लनटेनिसका खेलाडीहरूले अहिलेसम्म सोचेअनुरूपको सफलता नपाउनुको कारण के होला ?
– हुनत यो सङ्घ नेपालको सबैभन्दा पुरानो सङ्घमध्येको एक हो । तर्सथ यो खेलबाट खेलप्रेमीहरूले अपेक्षा राख्नु स्वाभाविकै कुरा हो । विगतमा यसका भौतिक पूर्वाधारहरू कम हुनु, सीमित वर्गमा मात्रै रहनु र जुनियर प्रतियोगिताहरू नहुनुका कारणले टेनिसमा दक्ष खेलाडी उत्पादन हुन नसकेका हुन् । सोही कारणले अहिलेसम्म सोचेअनुरूपको सफलता पाउन नसकेको हो । र, पनि हामीले सीमित स्रोत र साधनलाई उपयोग गरेर टेनिसको विकासलाई अगाडि बढाइरहेका छौँ ।
० टेनिस खेलको विकासका लागि निकै अहम् भूमिका निभाउनुभएको छ, कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
– तपाईंले सत्य कुरा गर्नुभयो । म टेनिसको समग्र विकासका लागि तन, मन र धन सबै खर्च गरेर लागेको छु । म अहिले अध्यक्ष भएर आएको चार वर्षयता जुनियर प्रतियोगिता खेल्न खेलाडी बाहिर अर्थात् विदेश पठाएँ । दुई दशकको लामो पर्खाइपछि ग्वान्झाउ एसियाडमा खेलाडी पठाउन र सहभागिता गराउन सफल भएँ । मेरो उद्देश्य टेनिसको समग्र विकास भएकोले यसलाई अहिले सही मार्गमा डोर्‍याउन पाउँदा निकै खुसी छु ।
० आफ्नै लगानीमा कहिलेसम्म लनटेनिसलाई अगाडि बढाउने सोच बनाउनुभएको छ ?
– यसमा के छ भने मेरो मात्रै नभइकन समन्त प्राइभेट सेक्टर, सरकार र पब्लिकको सपोर्ट र सहयोग रहेको छ । जसले गर्दा हामीलाई काम गर्न सजिलो भएको छ । हामी उत्साहित भएका छौँ, केही गर्नुपर्छ भन्ने जोस-जाँगर बढेको छ । भविष्यमा यसको सकारात्मक असर टेनिसमा पर्ने र खेलाडीहरूको स्तरवृद्धि हुने मैले विश्वास लिएको छु ।
० अहिले विश्वव्यापी रूपमा टेनिसले ठूलो फड्को मारिसकेको अवस्थामा नेपालमा यसको गति कछुवाको जस्तै हुनुलाई कसरी हेर्नुभएको छ ?
– नेपालको टेनिसको इतिहासलाई कोट्याउन हो भने हामी अहिलेसम्म लोकल अर्थात् राष्ट्रिय प्रतियोगिताभन्दा माथि उठ्न सकेका छैनौँ । ज्यादै थोरै प्रतियोगिता हुनु र ती पनि लोकलस्तरमै सीमित हुनाका कारणले हामीले अन्तर्राष्ट्रिय टेनिस कोर्ट थप्दै छौँ । अहिले ती कोर्टहरूको निर्माणपश्चात् तुरुन्तै अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गरिने भएकोले अब नेपाली खेलाडीहरूको पनि दिन फेरिने पक्का छ ।
० लामो समयदेखि टेनिसमा सम्बद्ध हुनुहुन्छ, अहिले टेनिसको वागडोर पनि तपाईंको हातमा छ, भविष्यको रणनीति कस्तो बनाउनुभएको छ ?
– म लामो समयदेखि टेनिसमा आबद्ध भएकोले मैले यसको विकासका लागि विशेष योजना बनाएको छुु । मेरो योजना भने पनि भविष्यको रणनीति भने पनि टेनिसलाई अन्तर्राष्ट्रिय मानचित्र अर्थात् एसियनस्तरमा लग्नुपर्ने अवश्यकता देखेको छु । यसका लागि हामी लनटेनिसका सम्पूूर्ण पदाधिकारी आ-आफ्नो जिम्मेवारीपूर्वक कार्य गरिरहेका छौँ । निकट भविष्यमा यसले अवश्य रंग देखाउनेछ ।
० लनटेनिस महँगो खेल भएका कारणले आमखेलाडी त्यति आकरि्षत भएको पाइएको छैन, यसबारे तपाईंको राय छ ?
? सर्वप्रथम लनटेनिस सहरमा मात्रै खेलिने खेल हो । अर्को कुरा यो खेल महँगो र सम्भ्रान्त परिवारमा मात्र सीमित रहेकाले विगतमा आमजनताको पहँचबाट टाढा भएको थियो । तर, अहिलेको अवस्था त्यस्तो छैन, समयले कोल्टे फेरिसकेको छ । यही कुरालाई आत्मसत् गर्दै हामी टेनिसमा सबैको पहुँच बनाउन काठमाडौं महानगरपालिका, पोखरा र धरानमा सेन्टर खोल्ने अभियानमा लागेका छौँ । यसपछि अन्य सहरको बारेमा पनि सोचेका छौँ ।
० त्यसो भए आमानेपालीको पहुँचसम्म पुर्‍याउन कस्तो उपायको अवलम्बन गर्नुभएको छ ?
– टेनिसलाई आमनेपालीसम्म पुर्‍याउन ग्रासरुटबाट अघि बढाउने सोचअनुरूप काठमाडौंबाट शुभारम्भ गरिसकेका छौँ । जसअनुरूप काठमाडौंका दशवटा स्कुलका खेलाडीलाई हप्ताको दुईपटक ‘फ्री’ खेल्न पाउने सुविधा प्रदान गरेका छौँ । यदि उनीहरूले स्तरीय पर््रदर्शन गरेको खण्डमा भविष्यमा सङ्घले विशेष सहयोग गरेर उनीहरूलाई विशेष प्रशिक्षण दिने व्यवस्था गरेको छ । त्यस्तै, अन्डर- १४ का खेलाडीलाई वर्षको एकपटक विदेश लगेर खेलाउने व्यवस्था मिलाएका छौँ ।
० सङ्घले लनटेनिस खेलको समग्र विकासका लागि कुनै योजना बनाएको छ ?
-अवश्य योजना बनाएका छौँ । जुनियर मेन, ओमेन र सिनियर खेलाडीलाई ट्रेनिङ र प्रतियोगिता खेल्न पठाउने व्यवस्था मिलाएका छौँ । यही योजनाबमोजिम उत्कृष्ट खेलाडीद्वय प्रीति रिजाल र रमेश कार्कीलाई अमेरिकामा छात्रवृत्तिका लागि पहल गरेर अमेरिकासमेत पठाइसकेका छौँ । अहिले उनीहरू अमेरिकामै अध्ययन र ट्रेनिङ गरिरहेका छन् । भविष्यमा साग गेम र एसियन गेमका लागि उनीहरूलाई बोलाएर मुलुकको प्रतिनिधित्व गराउनेछौँ । त्यस्तै, अर्को खेलाडी सरिता अधिकारीलाई पनि हामीले ‘एथलेटिक इन एक्सन’को सहयोगमा अमेरिकामा अध्ययन र टे्रनिङका लागि पठाएका छौँ ।
० छिमेकी मुलुक भारत र चीनले टेनिसमा ठूलो सफलता हात पारिसकेका छन्, नेपाले उनीहरूको सफलतालाई कसरी हेरेको छ ?
– यसमा के छ भने हामीलाई टेनिसको विकासका लागि धेरै टाढा जानुपर्दैन । भारतले हामीलाई हरेक किसिमले सहयोग गरेको छ । अहिले चीनकी लिनाले महिला सिंगलतर्फ ग्रान्डस्लाम जितेपछि एसियाली मुलुकमा टेनिसको क्रेज निकै बढेको छ । तर्सथ अहिले हामीले दुवै छिमेकी मुलुकसँग सहकार्य र सहयोगको आशा गरेका छौँ ।
० विश्वमा टेनिसको व्यावसायिकताले शिखर छोएको छ, नेपालमा यसको सम्भावना कस्तो देख्नुहुन्छ ?
– सबैले बुझ्नुपर्ने कुरा के छ भने पहिला त टेनिसका दुईवटा सङ्घ छन् । पहिलो अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन अर्को अल टेनिस प्रोफेसनल । हामी अहिले प्रोफेसनल लेवलमा पुगेका छैनौँ, एमेच्योर लेवलमै छौँ । एमेच्योर लेवलबाट प्रोफेसनल लेवलमा पुग्नका लागि प्रतियोगिता खेलाइएको र त्यसको अङ्कको आधारमा माथि गइन्छ अर्थात् त्यो नै व्यावसायिकतर्फ पुग्ने खुड्किलो हो । सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको धेरै खेल खेलाएर अङ्क प्राप्त गर्नु नै हो ।
० टेनिसको ग्ल्यामरले दिनप्रतिदिन यो खेल लोकप्रिय र चर्चित बन्दै गएको छ, नेपालको परिप्रेक्ष्यमा यो लागू हुन्छ कि हुँदैन ?
-ग्ल्यामरको कुरा गर्दा स्कुल र कलेजमा बास्केट बल, फुटबलका टिम गेमहरू लोकप्रिय देखिएका छन् । इन्डिभिजुएल गेमको कुरा गर्दा स्विमिङ र टेनिस पहिलो पङ्क्तिमा आउँछन् । तर्सथ नेपालमा यो कुरा सम्भव नहुने त प्रश्नै आउँदैन ।
० अहिले सातदोबाटोमा दुईवटा अन्तर्राष्ट्रिय टेनिस कोर्टको निर्माण भइरहेको छ, टेनिस खेलको विकासका लागि यो पहिल्यै हुनुपर्ने होइन र ?
-हुनुपर्ने थियो, तर भएन, यही नभएका कारणले हामी पछि पर्नुपरेको हो । अब दुईवटा कोर्ट बनेपछि यस क्षेत्रको विभिन्न महत्त्वपूर्ण र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नेछौँ । जसमा डेभिस कप, फेडेरेसन कप, क्ष्त्ँ,ब्त्ँ यहाँ गर्न सकिनेछ । यी प्रतियोगिताहरू नेपालमा सञ्चालन गर्नका लागि अन्तर्राष्ट्रिय टेनिस सङ्घले पनि सहयोग गर्छ ।
० अन्तर्राष्ट्रिय टेनिस कोर्टको निर्माण गर्दा सम्बन्धित निकाय राखेप र सरकारले त अवश्य सहयोग गरेको होला नि ?
– हामीलाई सरकारले थप दुईवटा कोर्ट निर्माणका लागि आवश्यक जग्गा प्रदान गरेको छ । त्योबाहेक नेपाल इन्भेस्टमेन्ट बैंकका चेयरम्यान पृथ्वीबहादुर पाण्डेले पाँच लाख, शिखर इन्स्योरेन्सका चेयरम्यान विकाश राणाले पाँच लाख र मन्जेकर टेनिस फ्यान क्लबकी अध्यक्ष ज्योति राणाबाट पाँच लाख आर्थिक सहयोगस्वरूप प्राप्त भइसकेको छ । अझ दुई-तीनवटा व्यापारिक कम्पनीबाट सहयोग पाउने आश्वासन पाएका छौँ ।
० सम्बन्धित निकायले के गरेमा लनटेनिसले फड्को मार्ने विश्वास गर्नुभएको छ ।
? सम्बन्धित निकायले बजेट विनियोजना हुँदा टेनिसका लागि केही रकम छुट्टै व्यवस्था गरिदिए राम्रो हुने थियो । साथै टेनिस खेलको समग्र विकासलाई ध्यानमा राख्दै टेनिसका खेलमा प्रयोग हुने खेलसामग्रीमा भन्सार छुट गरिदिएमा खेललाई अगाडि बढाउन सहज हुन्थ्यो ।
० दक्षिण एसियाली मुलुकमा नेपालले स्वर्ण पदक जित्ने विश्वास राख्नुभएको छ ?
– यहाँ झुटो बोल्नुहुँदैन, झुटको खेती र झुटको आश्वासन दिएर कसैलाई फाइदा हुँदैन । अझै एक दशकसम्म नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा स्वर्ण पदक जित्न सक्दैन । कारण स्पष्ट छ- भारत हामीभन्दा निकै अगाडि छ । यस्तो अवस्थामा भारतलाई पराजित गरेर स्वर्ण पदक नेपालले जित्छ भन्नु दुस्साहस मात्रै हुनेछ । र, पनि रजत र कास्य पदकका लागि भने लड्न सकिन्छ । अन्य दक्षिण एसियाली मुलुक र हाम्रो स्तर एउटै भएकोले यो सम्भावनालाई नकार्न मिल्दैन । पुरुषभन्दा पनि महिला खेलाडीबाट मैले यो सम्भावना देखेको छु ।
० दक्षिण एसियाली मुलुकमा पनि नेपाल पछि पर्नुको कारण के हो, तपार्इं नेपालको प्रतिद्वन्द्वी कसलाई मान्नुहुन्छ ?
? कुरा स्पष्ट छ, यो क्षेत्रमा नेपाल पछि परेको कारण भौतिक पूर्वाधारको अभाव, खेलसामग्रीको अभाव, नियमित प्रशिक्षणको अभाव र प्रायोजक नहुनुले हो । नेपालको प्रतिद्वन्द्वीको कुरा गर्दा पाकिस्तान अलि माथि भए पनि खासगरी बंगलादेश र श्रीलङ्का नै हुन् । नेपालको परिप्रेक्ष्यमा पदकको कुरा गर्दा मैले महिला खेलाडीको भविष्य राम्रो देखेको छु । महिला खेलाडी सक्रिय रूपमा लागेको खण्डमा नेपालले पदक जित्ने सम्भावना बढी छ ।
० अन्त्यमा टेनिस खेलको भविष्य कस्तो देख्नुभएको छ ?
– पहिले टेनिस खेललाई सामन्ती खेल भन्ने गरे पनि अहिले त्यस्तो छैन । सामाजिक रूपमा पनि टेनिसका खेलाडीको इज्जत बढी छ । क्लब-क्लबहरूमा काम पाइरहेका छन् । स्पष्ट रूपमा भन्नुपर्दा व्यावसायिक रोजगार प्रदान गर्न पनि टेनिस खेल सहायकसिद्ध भएको छ । त्यसैले मैले टेनिस खेलको भविष्य एकदमै उज्ज्वल देखेको छु ।
फुटबलमा अनुशासनहीनताको पराकाष्ठा
-लम्बोधर काजी
गणेश थापाले अखिल नेपाल फुटबल सङ्घ एन्फाको वागडोर सम्हालेको अहिले दुई दशक पुग्नै लागेको छ । यो अवधिमा नेपाली फुटबलको विश्लेषण गर्दा ‘अधोगति’बाहेक अर्को देखिएको छैन । फुटबलको रसदपानी खानेले थापाको कार्यकाललाई ऐतिहासिक बताउँदै सूर्यलाई हत्केलाले छेक्ने दुस्प्रयास गरे पनि त्यो थापाकै लागि दुर्भाग्य बन्दै गएको छ । सत्यतथ्यलाई आत्मसात् गर्नुभन्दा चाकरी-चाप्लुसीलाई सर्वोपरी ठान्नेहरूले आफ्नो स्वार्थसिद्ध गर्ने क्रममा फुटबलको हुर्मत लिने कार्य गर्दै आएको कसैबाट छिपेको छैन ।
दुई दशकसम्म मुलुकलाई एउटै अन्तर्राष्ट्रिय उपाधि दिलाउन नसक्ने थापा अहिले ‘अनलक्की’ भएको प्रमाणित भइसकेको छ । थापाले अहिलेसम्म प्रयोग गरेका सम्पूर्ण अस्त्रशस्त्रहरू फेल अर्थात् भुत्ते सावित भइसकेका छन् । तर्सथ अब पनि थापाले फुटबलमा चार चाँद लगाउँछु भन्नु आकाशतिर फर्केर थुक्नुसरि मात्रै हुनेछ । ‘घर खाने बुहारीको…बाटै थाहा हुन्छ’ भनेझैं थापाको दुई दशकको कार्यकाल हेर्दा पनि सोझै अनुमान लगाउन सकिन्छ । बुहारीको प्रशिक्षण गर्दा उनी कति सफल भइन् त्यसको नतिजा केही मिनेटमै देख्न सकिन्छ । तर, थापाको अर्थमा यो समय लागू हुँदैन । त्यसैले उनलाई वर्षौंको समय दिइएको थियो । विडम्बना, थापाले दुई दशकको समयमा माखोसमेत मार्न नसकेको सायदै भनिरहनुपर्ला ।
वर्तमान अवस्थामा राष्ट्रियस्तरमा फुटबल मौलाए पनि त्यसको सशक्तता र परिणाम उपलब्धिहीन हुन्छ भने त्यसलाई कदापि विकासको संज्ञा दिन सकिँदैन । त्यो फगत विकासको नाममा ढर्रा मात्रै हुन्छ । यहाँ फुटबल गोलो छ, गोलपोस्ट चेप्टो छ, मैदान लामो छ भन्दै जहाँबाट प्रहार गरे पनि गोल हुन्छ भन्ने मानसिकता एन्फाले पाल्नुको साटो विपक्षीका एघारजना खेलाडी पनि हुन्छन् भन्ने कुरालाई आत्मसात् गर्नुपर्ने जरुरी भइसकेको छ । अन्यथा नेपाली टोलीले विपक्षबिनाको खेलमा मात्र नतिजा निकाल्ने र च्याम्पियन बन्नेछ भन्दा अतिसयोक्ति नहोला । तर, विडम्बना, यहाँ टाउकोमा लगाउने औषधि नाइटोमा लागिसक्दा र एक सय चार ड्रि्री ज्वरो आउँदा पनि कसैले ‘उफ’समेत गरेका छैनन् । फुटबलको अहिलेको सत्यता भनेको यही हो ।
अहिले नकचराहरूको भीडमा रुमलिएको फुटबल कुहिरोमा हराएको कागसरि बनेको छ । लक्ष्य र गन्तव्यले शिखर छोए पनि कछुवा चालमा फुटबल घिस्रिरहेको छ । यो कुराको हेक्का एन्फा अध्यक्ष थापाले पनि राखेको हुनुपर्छ । यतिबेला फुटबलको वास्तविकता नराम्रोसँग छताछुल्ल भएर चौबाटोमा लिलाम भइसकेको छ । अन्तर्राष्ट्रियस्तरमा खेलाडीको प्रदर्शन, लिग खेलमा देखिएको मिलोमतो र मैदानमै देखिएको किकबक्सिङले फुटबलको बचेखुचेको प्रतिष्ठालाई रसातलमा पुर्‍याइदिइसकेको छ । जुन एन्फाका लागि अर्थहीन बने पनि आमखेलप्रेमीले यसको हिसाबकिताब राम्रोसँग राखेका छन् । वर्तमान अवस्थामा फुटबलमा देखिएको अनुसाशनहीनताको पराकाष्ठाले फुटबलको मुख्य अङ्गको रूपमा रहेको ‘फेयर प्ले’को भावनामाथि समेत नराम्रो चोट पुर्‍याएको छ । जुन नेपाली फुटबलका लागि कदापि सकारात्मक मान्न सकिँदैन ।
पोखरामा देखिएको किकबक्सिङको दृश्यले फुटबलको छविलाई नराम्रोसँग धुमल्याएको छ । सहकर्मी साथी खेलाडीहरूबीच भएको उक्त घटनाले एन्फाको नाक काटिएको छ । हिजोसम्म राष्ट्रिय टिमको जर्सी लगाएर एउटै टिमबाट खेल्ने खेलाडी बिनाकारण आपसमा भिड्दा त्यसलाई कदापि राम्रो लक्षण मान्न सकिँदैन । हारजित एक सिक्काका दुई पाटा भएको कुरालाई खेलाडीले आत्मसात् गर्न नसक्दा उक्त घटना घटेको थियो । तर, आफ्नै साथीलाई रगताम्य हुनेगरी मैदानमै ढलाउनु त्यो एन्फाको अनुशासनभित्र पर्छ कि पर्दैन त्यो चर्चाको विषय बनेको छ । अन्तराष्ट्रमा मुलुककै बेइज्जत गर्ने खेलाडीहरूलाई एन्फाले कारबाहीको नाममा कारबाही मात्र गर्नुले त्यसको परिणाम भविष्यमा कस्तो आउला त्यो प्रतीक्षा गर्नु नै राम्रो होला ।
स्की सङ्घमा जीवनराम
नेपाल स्की सङ्घको हालै सम्पन्न दोस्रो साधारणसभाले जीवनराम श्रेष्ठको अध्यक्षतामा दश सदस्यीय केन्द्रीय कार्यसमितिको निर्विरोध चयन गरेको छ । केन्द्रीय कार्यसमितिको उपाध्यक्षद्वयमा शम्भु लामा र राजुबाबु श्रेष्ठ, महासचिवमा पासाङ शेर्पा, सचिवमा विजय श्रेष्ठ तथा कोषाध्यक्षमा जितेन्द्र श्रेष्ठ रहेका छन् । त्यस्तै यमबहादुर बम, रामप्रसाद गुरुङ, पुजन आचार्य तथा वसन्तराज कार्की सदस्यमा चयन भए । ककनीमा भएको साधारणसभाको युवा तथा खेलकुद राज्यमन्त्री गोपी अछामीले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो ।
सङ्घको सोही दिन बसेको बैठकले केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा राजा शाक्य इश्वरी पौडेल र सदस्यमा शान्तामाया परियार र अर्जुन महर्जन मनोनीत गरेको थियो । सङ्घको विधानअनुसार निर्वाचित र मनोनीत गरी केन्द्रीय कार्यसमितिको सङ्ख्या १७ सदस्यीय रहने प्रावधान छ । अब एक उपाध्यक्ष र दुई सदस्यको मनोनयनपश्चात् केन्द्रीय कार्यसमितिले पूर्णता पाउनेछ ।
नेप्लिज तेक्वान्दोको यूके च्याप्टर गठन
अन्तर्राष्ट्रिय नेप्लिज तेक्वान्दो सङ्घ (इन्टा) ले इन्टा यूके च्याप्टर गठन गरेको छ । इन्टा हेडक्वार्टर अमेरिकामा हालै बसेको बैठकले नमरजंग थापाको अध्यक्षतामा २५ सदस्यीय यूके च्याप्टर गठन गरेको हो । सङ्घका उपाध्यक्षहरूमा बुद्धिकुमार गुरुङ, थनकुमार लिम्बू, जयन्त थापा, बलराम घले, महासचिवमा ह्यारी गुरुङ, सहमहासचिवमा भीममहेन्द्र गुरुङ र कोषाध्यक्षमा सविना महर्जन रहेका छन् । त्यसैगरी सदस्यहरूमा विजय गुरुङ, कुमार सुनार, सन्देश गुरुङ, मनकुमार गुरुङ, तिलक पुन, तुल लिम्बू, भेषराज गुरुङ, अमृत मोहरा, सञ्जिता राउत, प्रदीप व्यञ्जनकार, लक्ष्मण न्यौपाने, नितेश गुरुङ, शिशिर आचार्य, विश्वजंग गुरुङ र विजय ठकुरी रहेका छन् । सङ्घको प्राविधिक निर्देशकमा मास्टर प्रेमकुमार गुरुङ र सहायक प्राविधिक निर्देशकमा नवराज घले रहेका छन ।
सो अवसरमा इन्टाका अध्यक्ष यमबहादुर पुनले विश्वभर छरिएर रहेका नेपाली तेक्वान्दोकर्मीहरूलाई समेटेर विभिन्न देशमा इन्टा च्याप्टर खोल्ने क्रममा यूके च्याप्टर सुरुवात भएको बताएका छन् । बेलायतमा रहेका तेक्वान्दो खेलाडीको सो सङ्गठनले नेपाली तेक्वान्दोको विकासमा सक्दो सहयोग गर्ने जनाएको छ । सङ्घको कार्यकाल दुई वर्षको हुनेछ । यूके च्याप्टरले तीन महिनाभित्र सल्लाहकार समिति गठन गर्नेछ । यस्तै प्राविधिक बोर्डले पनि तीन महिनाभित्र स्पायरिङ, पुम्से, रेफ्री, जजिङ र आत्मरक्षाका कोर्सहरू सञ्चालन गर्ने जनाएको छ ।
छन्त्याल सङ्घ ‘ए’लाई आर्चरी उपाधि
दोस्रो खुला गुरुङ ब्याम्बो आर्चरी प्रतियोगिताको टिम स्पर्धाको उपाधि नेपाल छन्त्याल सङ्घको ‘ए’ टिमले जितेको छ । कुल १६४ अङ्कसहित छन्त्याल ‘ए’ च्याम्पियन बनेको थियो । विजेताका लागि गोविन्द छन्त्यालले ३०, दीपक छन्त्यालले २९, कमल छन्त्यालले २७ तथा नरभूपाल छन्त्याल, बुद्धि छन्त्याल र प्रताप छन्त्यालले समान २६-२६ अङ्क जोडेका थिए । म्याग्दी मगर समाज ‘ए’ १४३ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको थियो भने एक सय ३२ अङ्क जोडेर छन्त्याल ‘बी’ तेस्रो भएको थियो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २१ हजार, १६ हजार र ११ हजार नगद पुरस्कार प्राप्त गरेका थिए । विजेतालाई समाजसेवी भीमबहादुर घले, आयोजकका अध्यक्ष कमल गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।
मार्सल टोली ढाका प्रस्थान
बंगलादेशको ढाकामा हुने दोस्रो मार्सल आर्ट च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित सात सदस्यीय नेपाली टोली हालै प्रस्थान गरेको छ । उक्त प्रतियोगितामा उमेश राजथलाले डेमोन्स्ट्रेसन र तेक्वान जुत्सुको ६४ केजी, विश्व श्रेष्ठले डेमोन्स्ट्रेसन र तेक्वान जुत्सुको ५५ केजी, विजय श्रेष्ठले हापकिडोको ६० केजी, आकाश खनालले तेक्वान्दो (आईटीएफ) को ५७ केजी, राजु महर्जनले किक बक्सिङ/आइकिडोको ७० केजी तथा नन्दकिशोर बर्माले खुलातर्फ प्रतिस्पर्धा गर्नेछन् ।
टोलीको भीआईपी डेलिगेट्समा राष्ट्रिय खेलकुद परिषद् -राखेप) का सदस्य रामकृष्ण बानियाँ, टोली प्रमुखमा नेपाल मार्सल आर्ट गेम्स कमिटीका अध्यक्ष स्वयम्भूराज डङ्गोल, व्यवस्थापकमा यमबहादुर बहिक, निर्णायकमा फातिमा बीबी, प्रशिक्षकमा अञ्जुनाथ श्रेष्ठ तथा अफिसियलमा रमेशप्रसाद सिवाकोटी र रेवतबहादुर राना रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राखेप सदस्यसचिव युवराज लामाले राखेप समीक्षालयमा आयोजित एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । उक्त अवसरमा सदस्यसचिव लामाले टोलीलाई अनुशासित भएर राष्ट्रको प्रतिनिधित्व गर्न निर्देशन दिँदै खेलाडीले सफलता हात पार्ने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिता जनवरी १० देखि १३ तारिखसम्म सञ्चालन हुनेछ ।
अञ्चलस्तरीय कराते हुने
नेपाल सितोरियो कराते डो सङ्घ शाखा डोजो नक्सालको आयोजनामा दशौँ बागमती अञ्चलस्तरीय अन्तरडोजो कराते प्रतियोगिता पुस २७ गतेदेखि हुने भएको छ । प्रतियोगितामा बागमती अञ्चलका आठ जिल्लाका डोजो तथा विद्यालयबाट करिब ६ सयभन्दा बढी खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा पुरुषतर्फ ११ र महिलामा नौ गरी कुल १९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने संयोजक इश्वर थापा (गजेन्द्र) ले जानकारी गराएका छन् । । दुई प्रतियोगिताका खेलहरू नक्सालस्थित स्टार भन्यूमा खेलाइनेछ ।