प्रेमजालमा मनिता

प्रेमजालमा मनिता


बाह्रौँ सागपछि विवाह गर्ने
त्यतिबेला ‘तेक्वान्दो खेल’ कुन चरीको नाम हो मनितालाई थाहा थिएन । खेलाडी बन्ने कुरा त उनको कल्पनाबाहिरको थियो । तर, समयको संयोग भनौँ वा भाग्यको कुरा उनी खेलकुदप्रति आकरि्षत हुन पुगिन् । दाइ अष्टमान डङ्गोल तेक्वान्दो खेलाडी भएकोले मनिताको लगाव तेक्वान्दोतर्फ बढेको थियो । आफ्नो चाहना दाइलाई बताएपछि मनिताको हाइट देखेर दाइले पनि र्समर्थन जनाउँदै उनलाई दशरथ रंगशालामा अवस्थित सेन्टर डोजोमा पुर्‍याएका थिए । त्यहाँको अनौठो वातावरण अर्थात् किक हान्नुपर्ने, आवाज निकाल्नुपर्ने देखेपछि उनको मन हच्किएको थियो । अझ केही सङ्ख्यामा मात्र महिला खेलाडी देखेपछि उनको मन दोधारमा परेको थियो । र पनि, आफ्नो प्रतिबद्धताप्रति अडिग रहँदै उनले तेक्वान्दोको प्रशिक्षण लिने साहस जुटाएकी थिइन् । यही प्रतिबद्धता र साहसका कारणले आज मनिता नेपालकी चर्चित राष्ट्रिय खेलाडी बन्न सफल भएकी छिन् ।
०५३ सालमा १९ वर्षको उमेरमा तेक्वान्दोमा प्रवेश गरेकी मनितालाई पहिले तीन महिना मात्र तेक्वान्दो प्रशिक्षण लिने अवसर जुटेको थियो । ०५४ सालदेखि नियमित प्रशिक्षणमा होमिएकी मनिताले त्यसपछि तेक्वान्दोलाई आत्मसात् गरेकी थिइन् । त्यतिबेला महिला खेलाडीहरूको सङ्ख्या न्यून भए पनि धर्ैयता र आत्मविश्वासलाई उनले आधार बनाएर प्रशिक्षणमा जुटेकी थिइन् । मिहिनेत र विश्वासको फल मीठो हुन्छ भनेझैं उनको उत्कृष्ट प्रशिक्षणले गर्दा मनिताको एकैचोटि डबल प्रमोशन भएको थियो । उनले ह्वाइटबाट एलोग्रिन बेल्ट पाएकी थिइन् । योे प्रमोशनले मनिताको खेलजीवनमा नयाँ मोड ल्याउनुको साथै नौलो आत्मविश्वास पनि पलाएको थियो । जसलाई मनिताले व्यक्तिगत साँचोमा ढाल्दै आफ्नो खेलजीवनलाई अगाडि बढाएकी थिइन् ।
बुबा राजभाइ र आमा प्रेमशोभाको कोखबाट जन्मिएकी मनिताले आफ्ना अग्रज खेलाडी संगीना वैद्य र रेणुका थापामगरले आठौँ साफमा स्वर्ण पदक जितेको देखेर निकै प्रभावित भएकी थिइन् । त्यसपछि भविष्यमा आफूले पनि केही गर्नसक्छु भन्ने उनीमा आत्मविश्वास पलाएको थियो । त्यतिबेलासम्म तेक्वान्दोलाई सोखको रूपमा लिएकी मनिताले अग्रज खेलाडीको सफलताबाट प्रभावित भएर आफूलाई आत्मविश्वासी बनाएकी थिइन् । यो घटनापछि उनको खेलजीवन वास्तविक खेल जीवनमा परिणत भएको थियो । यसरी तेक्वान्दो खेल्दै जाँदा मनिताले धरानमा भएको क्षेत्रीय तेक्वान्दो प्रतियोगितामा पहिलोपटक प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन् । उक्त प्रतियोगिता उनका लागि अनुभव बटुल्ने माध्यम बने पनि यो प्रतियोगिताबाट उनलाई नौलो कुरा सिक्ने अवसर प्राप्त भएको थियो । त्यसको केही समयपश्चात् भैरहवा भएको तेक्वान्दोको राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेर उनले आफ्नो खेलजीवनको सुनौलो ढोका खोल्न सफल भएकी थिइन् ।
तेक्वान्दाको निरन्तर यात्रा गर्ने क्रममा मनिताले थुप्रै बाधा-अड्चनको सामना गर्नुपरेको छ । यसले उनको खेलजीवनलाई प्रत्यक्ष रूपमा निकै प्रभावित पनि पारेको छ । केही गरेर देखाउने बेलामा भएका ती घटनाको सम्झनाले अहिले पनि उनको मन पोल्छ । पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मनिता छनोट भए पनि त्यसबेला राजा वीरेन्द्रको हत्या अर्थात् दरबार हत्याकाण्डले खेल स्थगित हुँदा उर्त्र्सगमा पुगेको उनको खेल जीवनमा निकै प्रभाव परेको थियो । उनले आफ्नो उत्कृष्ट प्रतिभा देखाउनबाट वञ्चित हुनुपरेको थियो । त्यसपछि राष्ट्रिस्तरमा भएका चार-पाँचवटा र पोखरामा भएको दोस्रो अन्तर्राष्ट्रिय फ्रेण्डसिप तेक्वान्दो प्रतियोगितामा उनले स्वर्ण पदक जितेर आफूलाई तेक्वान्दोको उदीयमान खेलाडीको रूपमा प्रस्तुत गर्न सफल भएकी थिइन् । त्यतिबेला उनको उत्कृष्ट पदर्शनको व्यापक चर्चा-परिचर्चा भएको थियो । यो पदर्शनबाट निकै हौसिएकी मनिताले अब अन्तर्राष्ट्रियस्तरमा पनि यस्तै तहल्का मच्चाउने सोच बनाएकी थिइन् ।
समयको प्रवाहसँगै तेक्वान्दोको प्रभावशाली खेलाडी बन्दै गएकी मनिताले पाकिस्तानमा भएको नवौँ साफको छनोट खेलमा चर्चित खेलाडी रेणुका थापामगरलाई पराजित गरेपछि उनको उचाइ ह्वात्तै बढेको थियो । तर, विडम्बना, छनोट खेलमा रेणुकालाई पराजित गरेर नवौँ साफका लागि छनोट भए पनि उक्त प्रतियोगिता स्थगित हुँदा मनिताले निकै निराश बन्नुपरेको थियो । लामो समयदेखि गरेको उनको प्रशिक्षण त्यस्तै खेर गएको थियो । पछि पुन: भएको छनोट खेलमा रेणुकासँग पराजित हुँदा उनको मन निकै विचलित हुन पुगेको थियो । उनीमा अन्तर्राष्ट्रिय खेल खेल्न पाउँदिनँ कि भन्ने सन्त्रासले छोपेको थियो । यसरी मनिताले पहिलोपटक स्पेनमा भएको १६औँ विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाएर पहिलोपटक अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने मौका पाएकी थिइन् । जुन प्रतियोगितामा उनले कुनै चमत्कार देखाउन नसके पनि ठूलो अनुभव बटुल्न भने सफल भइन् । यो प्रतियोगितामा नेपालबाट सीता राई र मनिताले प्रतिस्पर्धा गरेका थिए ।
मनिताले राष्ट्रियस्तरमा थुप्रै स्वर्णपदक जिते पनि अन्तर्राष्ट्रियस्तरमा भने दशौं सागमा मात्र साइत जुरेको थियो । पहिलोपटक सागमा छनोट भएकी मनिताले श्रीलङ्कामा भएको दशौं सागमा स्वर्ण पदक जितेर आफूलाई तेक्वान्दोको उत्कृष्ट खेलाडी भएको प्रमाणित गरेकी थिइन् । पहिलो सहभागितामै स्वर्णपदक जितेपछि उनको आत्मविश्वास पनि निकै बढेको थियो । मनिताले ६२ केजी तौल समूहमा भुटान र आयोजक राष्ट्र श्रीलङ्काकी खेलाडीलाई पराजित गरेर यो उपलब्धि हासिल गरेकी थिइन् । त्यसपछि पहिलोपटक एसियन गेममा सहभागिता जनाउने क्रममा उनी कतारको दोहा पुगेकी थिइन् । एसियन गेमको तयारीका लागि कोरियामा तीन महिना प्रशिक्षण गरेपछि उनी निकै उत्साहित बनेकी मनिता आफूले पदक जित्ने कुरामा विश्वस्त थिइन् । आखिर भयो पनि त्यस्तै, उनले लिग चरणका खेलमा भुटान र भारतका खेलाडीलाई पाखा लगाउँदै सेमिफाइनलकोे यात्रा तय गरेकी थिइन् । तर, विडम्बना, सेमिफाइनलमा चाइनिज ताइपर्ेइकी खेलाडीसँग पराजित हुँदा मनिताले कास्य पदकमै चित्त बुझाउनुपरेको थियो । मनिता अहिले पनि भन्छिन्, ‘यदि मेरो सेमिफाइनलमा चाइनिज ताइपेइकी खेलाडीसँग भिडन्त नपरेको भए अरूलाई जित्ने सम्भावना हुन्थ्यो ।’
अन्तर्राष्ट्रिय सहभागितलाई निकै सुखद बनाएकी मनिताको त्यसपछिको लक्ष्य एघारौँ सागमा स्वर्ण पदक जित्ने रहेको थियो । त्यसका लागि मनिताले निकै कडा प्रशिक्षणसमेत गरेकी थिइन् । मिहिनेतले रंग देखाउँदै मनितालाई फाइनलसम्म पुर्‍यायो पनि । तर, दुर्भाग्य उनको, फाइनलमा उत्कृष्ट पदर्शन गर्दागर्दै पनि उनले पराजयको मुख देख्नुपर्‍यो । मनिताको दाबी छ, त्यो मैले जितेको गेम थियो, कसरी हारेँ त्यो मलाई थाहा छैन । एघारौँ सागमा आफ्नो प्रतिस्पर्धा आयसा र दीपक गुरुको भन्दा अघि परेको भए त्यसको परिणाम अर्कै आउने उनले दाबीसमेत गरिन् । यतिबेलासम्म मनिता पुलिस क्लबमा आबद्ध भएर तेक्वान्दोमा प्रतिनिधित्व गर्दै आएकी थिइन् । सोही क्रममा काठमाडौंमा भएको पाँचौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेर मनिताले आफू अब्बल खेलाडी भएको सावित गरिन् । वर्तमान अवस्थामा पुलिसको हवल्दार पदमा कार्यरत मनिता कोरियन प्रशिक्षक कोन योङ दोङबाट नियमित प्रशिक्षण लिइरहेकी छिन् ।
मनिता बाहिरबाट जति सरल देखिन्छिन् उनको भित्री मन पनि त्यति नै सरल छ । रिस-रागको त कुरै छोडौँ उनी कसैको बारेमा नराम्रो सोच्न पनि सक्दिनन् । सबैलाई राम्रो देख्ने उनले तेक्वान्दोको भविष्य पनि निकै उज्ज्वल देखेकी छिन् । तेक्वान्दो पहिलेको जस्तो जटिल नभएको भन्दै प्रतिभाशाली खेलाडीले सहजै अवसर पाउने उनले बताइन् । तेक्वान्दो खेल निकै अनुशासित भएको र अहिलेसम्म महिला खेलाडीप्रति दर्ुर्व्यहार भएको आफूलाई थाहा नभएको बताएकी छिन् । आफूलाई गुरुहरूले सोचेभन्दा पनि बढी माया गर्ने बताउने मनिताले तेक्वान्दो खेलमा महिला खेलाडीको भविष्य निकै उज्ज्वल रहेको र अहिले थोरै मिहिनेतले पनि ठूलो सफलता हात पार्न सकिने राज खोलेकी छिन् । त्यसैले महिला खेलाडीहरूले अलिकति कडा मिहिनेत गरेको खण्डमा निकै राम्रो परिणाम आउने उनको विश्वास छ ।
३० वसन्त पार गरिसकेकी मनितासँग विवाहको प्रसङ्ग चलाउँदा उनले आफू केही समयपछि नै विवाह गर्ने बताइन् । अरेन्ज म्यारिजमा विश्वास गर्ने मनिताले आफ्नो केटासाथी भएको खुलासा गर्दै उसैसँग मागीविवाह गर्ने स्पष्ट पारेकी थिइन् । उनले आफ्नो जीवनसाथीबारे विस्तृत रूपमा केही नबताए पनि खेलकुद क्षेत्रसँग सम्बन्धित नरहेको र आफ्नो विवाह अन्तरजातीय हुने बताइन् । उनले विवाहपछि सक्रिय खेलजीवनबाट सन्न्यास लिई प्रशिक्षक बनेर खेलाडी उत्पादनमा लाग्ने रहस्योद्घाटन गरेकी छिन् । १२औँ सागलाई अन्तिम लक्ष्य बनाएकी मनिताले उक्त प्रतियोगितामा स्वर्ण पदक जितेपछि सक्रिय खेलजीवनमा पूर्णविराम लगाउने पनि प्रस्ट पारेकी छिन् ।
जीवनमा थुप्रै तीतामीठा क्षणलाई आत्मसात् गरेकी मनिताको अविष्मणीय क्षणको रूपमा दशौं साग रहेको छ । यर्सथमा कि उनले उक्त प्रतियोगितामा पहिलो सहभागितामै स्वर्ण पदक जित्न सफल भएकी थिइन् । उनी यसलाई आफ्नो जीवनको सबैभन्दा खुसीको क्षणको रूपमा पनि बयान गर्न हिच्किचाउँदिनन् । त्यस्तै उनको दु:खको क्षणमा ११औँ साग रहेको छ । उनले अहिलेसम्म पनि फाइनलमा भोग्नुपरेको पराजयलाई बिर्सन सकेकी छैनन् । मनिता निराश हुँदै भन्दै थिइन्, ‘जितको भन्दा हारको सम्झनाले बढी सताउँदोरहेछ ।’ त्यो हार अकल्पनीय थियो, जसलाई अहिलेसम्म मैले स्वीकार गर्न सकेको छैन । जसले मलाई बेलाबेलामा नराम्रोसँग घोच्दै आएको छ । सायद त्यसले मलाई जीवनभर पोल्छ होला । त्यसलाई म बिर्सन खोज्दा पनि बिर्सन सक्दिनँ । त्यसले मेरो पिछा छोड्दा कि छोड्दैन त्यो मलाई थाहा छैन ।

छैटौँमा राष्ट्रपति र प्रधानमन्त्री
राष्ट्रिय खेलकुद परिषद्को ८६औँ बोर्ड बैठकले सुदूरपश्चिमाञ्चलमा हुने छैटौँ राष्ट्रिय खेलकुदलगायत विभिन्न विषयमा केन्द्रित रहेर हालै निर्णयहरू गरेको छ । उक्त बैठकले छैटौँ राष्ट्रिय खेलकुद उद्घाटन समारोहका लागि प्रमुख अतिथिमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादव, विशेष अतिथिमा सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा विशिष्ट अतिथिहरूमा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल -प्रचण्ड), नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका
अध्यक्ष्ँ झलनाथ खनाल र मधेसी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदारलाई आमन्त्रण गरी राष्ट्रिय एकताको सन्देश दिने निर्णय गरेको छ । साथै पुरस्कार वितरण तथा समापन समारोहका लागि सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्ने निर्णय गरेको छ ।
साथै राखेपबाट पेस गरिएको कार्यक्रम तथा बजेट स्वीकृत भइसके पनि रकम निकासा हुन ढिला भएकोले आउँदो माघ १ गतेदेखि क्षेत्रीय प्रतियोगिता सुरु हुने भएकोले तत्काल खरिद नगर्दा प्रतियोगिता नै रोकिने हुँदा छैटौँ राष्ट्रिय खेलकुद सञ्चालन गर्न खेल सामग्रीसहित सम्पूर्ण सामग्री कम्तीमा सात दिनको सूचना प्रकाशित गरी प्रतिस्पर्धाबाट खरिद गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले अधिराज्यभरि छरिएर रहेका १४-१८ वर्ष उमेर समूहका पाँच फिट १० इन्च उचाइका पुरुष खेलाडी तथा पाँच फिट पाँच इन्च उचाइका महिला खेलाडी गरी कम्तीमा सयजना छनोट गरी निजहरूको रुचिबमोजिम खेलहरूमा समावेश गर्ने निर्णय पनि गरेको छ । साथै छैटौँ राष्ट्रिय खेलकुदका लागि महेन्द्रनगरमा रहेको खेलकुदको जग्गामा क्रिकेट मैदान विस्तार गर्ने निर्णय गरेको छ ।
त्यस्तै छैटौँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पर्ने ट्रयाकसुट र खेलकुद किट्सका निमित्त प्रायोजक खोजी कार्यान्वयनमा ल्याउन परिषद्का कोषाध्यक्ष इन्द्रबहदुर थिङको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । सोही बैठकले प्रथम दक्षिण एसियाली बिच खेलकुदको घोडचढी प्रतियोगितामा स्वर्ण विजेता ध्रुवप्रसाद अर्याललाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ । विविध निर्णयअर्न्तर्गत अपाङ्गता भएका सबै खेलका सङ्घहरू मिलेर आएमा नेपाल सरकारद्वारा विशेष खेलकुदलाई छुट्याइएको बजेटमा थप गरी अपाङ्गता भएका व्यक्तिको छुट्टै राष्ट्रिय खेलकुद गर्ने निर्णय पनि गरेको छ ।

वरिष्ठ खेलकुद पत्रकार सिंहको निधन
दक्षिण एसियाली खेलकुद पत्रकार सङ्घका संस्थापक अध्यक्ष तथा वरिष्ठ खेलकुद पत्रकार्रर् इश्वरमान सिंहको यही सोमबार निधन भएको छ । ७५ वर्षीय सिंह पक्षघात रोगबाट पीडित हुनुहुन्थ्यो । सामान्य प्यारालाइसिसको अवस्थामा आफ्नै घरमा लड्दा उहाँ विगत दुई वर्षदेखि पक्षघातले थला पर्नुभएको थियो । गत १५ गते शुक्रबार पुन: व्यथाले च्यापेपछि सिंहलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना गरिएको थियो ।
लामो समयसम्म खेलकुद पत्रकारितामा संलग्न रहनुभएका सिंहले तीन दसकभन्दा बढी समय राष्ट्रिय समाचार समितिमा समाचार सम्पादनको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । आफ्नो जीवनकालमा आधा दर्जनभन्दा बढी खेलकुद पुस्तक प्रकाशित गरिसक्नुभएका सिंह विभिन्न मान-सम्मानबाट पुरस्कृत हुनुभएको छ ।
सोमबारै सिंहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय खेलकुद परिषद्परिसरमा राखिएको थियो । दिवंगत सिंहप्रति नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन राजवंशी, दक्षिण एसियाली खेलकुद पत्रकार सङ्घका उपाध्यक्ष किशोर केसी, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका उपाध्यक्ष श्रीविक्रम भण्डारीलगायतका खेल-पत्रकार, खेलकुद पदाधिकारी र कर्मचारीहरूले श्रद्धासुमन प्रकट गरेका छन् । साथै सिंहको असामयिक निधनप्रति गहिरो सवेदना प्रकट गर्दै तीनवटै खेलकुद पत्रकार सङ्घले शोक-विज्ञप्ति प्रकाशित गरेका छन् । स्वर्गीय सिंहका आठ छोरी, दुई छोरा र श्रीमती हुनहुन्छ ।

खेलाडी छात्रावासको उद्घाटन
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलोपटक विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालगायतको बन्द प्रशिक्षणमा रहने खेलाडीका लागि खेलाडी छात्रावास सञ्चालन गर्ने भएको छ । उक्त छात्रावासको हालै राखेप अध्यक्ष युवा तथा खेलकुदमन्त्री कमला रोकाले उद्घाटन गरेकी छिन् । स्मरणीय छ, त्रिपुरेश्वरस्थित राखेप हातामै रहेको तालिम तथा प्रशिक्षण विभाग र नेपाल खेलकुद प्रतिष्ठानको कार्यालयलाई सातादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा स्थानान्तरण गरी खेलकुद छात्रावास भवनका लागि प्रयोग गरिएको हो ।
सो अवसरमा मन्त्री रोकाले राखेपले खेलाडीका लागि छात्रावास स्थापना गर्नु खुसीको कुरा भएको बताउँदै यसले खेलाडीको स्तरवृद्धिमा अझ सहयोग पुग्ने विश्वास व्यक्त गरेकी थिइन् । मन्त्री रोकाले छैटौँको पूर्वसन्ध्यामा हाल विभिन्न स्थानमा भइरहेका खेल गतिविधिले राष्ट्रलाई अझ सुदृढ बनाउन सहयोग गरिरहेको धारणा राखेकी थिइन् । राखेप सदस्यसचिव युवराज लामाले विगतमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट भएका खेलाडीलाई खेलकुदको आफ्नै छात्रावास नभएर कठिनाइ भोगेको सुन्ने गरेकाले त्यसको व्यवस्थापन गर्न राखेपले खेलाडीका लागि छात्रावास सञ्चालन गर्ने प्रक्रियाको थालनी गरेको बताएका थिए । राखेप उपाध्यक्ष पीताम्बर तिम्सिना, कोषाध्यक्ष इन्द्रबहादुर थिङ, खेलाडी छात्रावासकी संयोजक एवम् राखेप सदस्य नम्बर शेर्पाले छात्रावास सञ्चालनले खेलाडीलाई थप उत्साहित बनाउन सहयोगी सावित हुने विचार व्यक्त गरेका थिए ।

अन्तर्राष्ट्रिय बक्सिङमा रत्नलाई कास्य
मित्रराष्ट्र पाकिस्तामा सम्पन्न ‘दोस्रो अन्तर्राष्ट्रिय बेनजिर भुट्टो बक्सिङ प्रतियोगिता’मा नेपाली खेलाडी रत्न तामाङ कास्य पदक जित्न सफल भएका छन् । उनले ६४ केजी तौल समूहको क्वाटरफाइनलको खेलमा केन्याका खेलाडीलाई १७-१५ ले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेका थिए । सेमिफाइनलमा उज्वेकिस्तानका खेलाडीसँग भिडेका रत्न प्वाइन्टको आधारमा पराजित भएपछि कास्य पदकमै चित्त बुझाउनुपरेको थियो ।

दीपा र उर्वीलाई स्वर्ण
दशौं इन्डो-नेपाल सोतोकान कराते प्रतियोगिताको महिला एकल काताको सिनियरमा नेपालकी दीपा थापामगर र जुनियरमा भारतकी उर्वी अग्रवाल शनिबार पहिलो भएका छन् । पुरुष एकल काताको सिनियरमा नेपालका रामनाथ सिवाकोटी तथा जुनियरमा नेपालकै सुमन आलेमगरले शीर्ष स्थान हासिल गरेका थिए । नेपाल सोतोकान कराते डो सङ्घ -एसकेआईएफ) द्वारा आयोजित प्रतियोगिताको पुरुष २५ केजीमा नेपालका सुनील लामा, ३० केजीमा भारतका पुनित शर्मा, ३५ केजीमा भारतका अशिम, ४० केजीमा नेपालका टीका बुढाथोकी, ४५ केजीमा नेपालका विकास आचार्य तथा ५० केजीमा नेपालका सन्तु डगौरिया थारूले स्वर्ण पदक जितेका थिए । त्यस्तै महिलाको ३० केजीमा भारतकी नेहा, ३५ केजीमा नेपालकी इशा लामा, ४० केजीमा भारतकी प्रज्ञा, ४५ केजीमा नेपालकी रोशनी सेन्चुरी, ५० केजीमा नेपालकी दीपा थापामगर तथा ५५ केजीमा नेपालकी राजकुमिला तामाङले स्वर्ण हात पारेका थिए ।