सर्वोच्चको फैसला शिरमाथि कि बुटमुनि

सर्वोच्चको फैसला शिरमाथि कि बुटमुनि


राष्ट्रिय खेलकुद परिषद्को पत्रको जवाफमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ?आईओसी) र ओलम्पिक कमिटी अफ एसिया (ओसीए) ले ध्रुवबहादुर प्रधानले नेतृत्व गरेको ओलम्पिक कमिटी नै आधिकारिक भएको पत्र पठाएपछि अहिले खेलकुदमा नयाँ तरङ्ग उत्पन्न भएको छ । राखेपका सदस्यसचिव युवराज लामाले आईओसी र ओसीएको पत्रलाई आत्मसात् गर्दै प्रधानको ओलम्पिक कमिटीलाई आधिकारिक मान्यता दिएका छन् । लामाले उक्त कुरालाई पुष्टि गर्दै ओलम्पिक कमिटीको विवाद प्राविधिक रूपमा समाप्त भइसकेको र कानुनी रूपमा मात्र मिलाउन बाँकी रहेको स्पष्ट पारेका छन् । तर, लामो समयदेखि विवादमा तानिएको ओलम्पिकलाई आधिकारिक मान्यता दिँदा राखेपले सर्वोच्चको फैसलालाई अनदेखि र अनसुनी गर्नुले दालमा कालो भने पक्कै देखिएको छ । अन्यथा राखेप सर्वोच्चको निर्णय विरुद्धमा जाने साहस कदापि गर्न सक्ने थिएन । तर्सथ अहिले प्रश्न उठेको छ- कतै यो माओवादीको ओलम्पिकलाई सिध्याउने दाउ त होइन ?
एनओसीसँगै गाँसिएको सर्वोच्चको फैसलाबारे सदस्यसचिव लामाले आफूले सर्वोच्चको फैसलालाई शिरमा राखेको बताएका छन् । लामाको कार्यशैली हेर्दा त्यस्तो कदापि देखिँदैन । लामाले सर्वोच्चको फैसला शिरमा नभई बुटमुनि राखेको प्रष्ट देखिएको छ । कानुनी राज्यमा कानुनको ठाडो उल्लङ्घन र उपहास गरेको पाइएको छ । र पनि लामा दाबीका साथ भन्छन्- सर्वोच्चको फैसला मात्र कानुनी विषय हो । यसले खेलकुद सञ्चालनको प्रक्रियालाई मध्यनजर गरेको देखिँदैन । ओलम्पिक कमिटी आईओसीको नियम र चार्टरअनुसार चल्नुपर्छ भन्दै लामाले सर्वोच्चको फैसला राष्ट्रिय रूपमा लागू हुने भए पनि अन्तर्राष्ट्रिय रूपमा लागू हुन नसक्ने बयान दिएका छन् । जुन आफैंमा अमिल्दो र विवादित छ । जसले राष्ट्रको कानुन मान्दैन त्यसलेे अन्तर्राष्ट्रिय कानुनको बगावत गर्नु कदापि मिल्दैन र गर्नु पनि हुन्न । तर्सथ खेलकुदको समग्र हितका लागि एनओसीसँग समन्वय गर्दै राखेपले अगाडि बढ्ने निर्णय गरे पनि त्यो कानुनी रूपमा कदापि मान्य हुन सक्तैन ।
यो कुरामा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान पनि स्पष्ट हुन सकेका छैनन् । एनओसीलाई राखेपले आधिकारिक रूपमा मान्यता दिए पनि प्रधानले सर्वोच्चको फैसलालाई आफूले जहिले पनि सम्मान गर्ने बताएका छन् । तर, विडम्बना, वास्तविकता आत्मसात् गरेर अगाडि बढ्नुको साटो क्षणिक फाइदाका लागि प्रधानले आगोमा हाम फाल्ने कोसिस गर्नु उनको स्वास्थ्यका लागि पनि शुभसङ्केत मान्न सकिँदैन । प्रधानले आफ्नो सफाइ पेस गर्ने क्रममा कानुन र व्यावहारिक पक्षको दुहाइ दिँदै भ्रमको खेती गर्न पछि परेका छैनन् । प्रधानले कानुनले समाधान गर्न नसकेको कुरा व्यावहारिक रूपबाट मिलाउन सकिन्छ भन्दै वर्तमान अवस्थामा ओलम्पिक अभियानलाई अगाडि बढाउन राखेपसँग सहकार्यमा जुटेको बताएका छन् । र पनि तेस्रो पक्ष अर्थात् सर्वोच्चको मान्यता पाएको एनओसीलाई बाइपास गरेर कसरी अगाडि बढ्न सकिन्छ त्यो निकै सोचनीय कुरा बनेको छ ।
हालै राखेपले प्रधानको ओलम्पिक कमिटीलाई आधिकारिक मान्यता दिएर सहकार्य गरेपछि राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घले त्यसको घोर विरोध गरेको छ । सङ्घले सर्वोच्चको निर्णयलाई चुनौती दिँदै सदस्यसचिव लामाले दिएको अभिव्यक्ति र गरेको निर्णय आपत्तिजनक, लज्जास्पद र कानुनी राज्यको खिल्ली उडाएको जनाएको छ । त्यस्तै सङ्घले यो कदमलाई स्वेच्छाचारी र दुस्साहसपूर्ण भएको बताएको छ । सङ्घले सर्वोच्चको निर्णय पालना गर्नु प्रमुख दायित्व हो भन्दै राज्यको अनुदानबाट चलेको राखेपले अदूरदर्शी र गलत निर्णय गर्दा त्यसको गलत प्रभाव अन्य खेलकुदका संस्थामा पनि पर्ने प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । त्यस्तै राज्यको ऐन-कानुन नमान्ने, सर्वोच्चको आदेश नमान्ने, नेपाल सरकारको निर्देशन पालन नगर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन नमान्ने, परिषद्लाइ कार्यकर्ताहरूको भर्तीकेन्द्र बनाउने, पदाधिकारीहरूले मासिक तलबभत्ता लिने, नियमविपरीत कर्मचारी सरुवा गर्नेजस्ता स्वेच्छाकारी, दमनकारी र भ्रष्टाचारी क्रियाकलाप खेलकुदमा बढ्दै गएकोमा सङ्घले त्यसको विरोध पनि गरेको छ ।
राखेप र एनओसीबीच लगनगाँठो कसिएपछि सर्वोच्चले मान्यता दिएको ओलम्पिक कमिटीका उपाध्यक्ष किशोरबहादुर सिंहले यसलाई अपवित्र गठबन्धनको संज्ञा दिएका छन् । सिंहले सदस्यसचिव लामाको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै मुलुकको कानुनभन्दा आईओसीको चार्टर कदापि माथि हुन नसक्ने बताए । सिंहले लामाको अभिव्यक्तिले सर्वोच्चको मानहानि भएको पनि खुलासा गरेका छन् । सिंहले राखेपले कानुनको ठाडै उल्लङ्घन गरेको बताउँदै कानुनी बाटोमा हिँड्नसमेत अनुरोध गरेका छन् । उनले मुलुकको कानुनभन्दा माथि कोही पनि नभएको प्रष्ट पार्दै अहिले जस्तो वातावरण र परिस्थितिको सिर्जना भए पनि आफूले कहिल्यै कानुनको बाटो नबिराउने बताए । स्मरणीय छ, सदस्यसचिव लामाले सर्वोच्चले मान्यता दिएको एनओसीलाई आईओसीको चार्टर र राष्ट्रिय मान्यता प्राप्त सङ्घहरूको मान्यता नभएको र अन्तर्राष्ट्रिय मान्यता पनि प्राप्त नभएकोले प्रधानको ओलम्पिक कमिटी नै आधिकारिक ओलम्पिक कमिटी भएको जिकिर गरेका थिए ।
त्यस्तै प्रधानको ओलम्पिक कमिटीसँग हालै सहकार्य गर्न पुगेको राखेपले यसलाई औपचारिक रूपमै पुष्टि गर्नेतर्फलागेको छ । त्यसका लागि हालै बसेको राखेपको बोर्ड बैठकले ओलम्पिक मुभमेन्ट र त्यसमा राज्यको सहकार्य सम्बन्धमा ओसिएका पदाधिकारीहरूसँग छलफल गर्न कुवेत जाने निर्णय गरेको छ । मङ्सिरको तेस्रो सातामा हुने यो भ्रमणमा युवा तथा खेलकुदमन्त्री कमला रोका र सदस्यसचिव लामा रहनेछन् । प्रधान एनओसीको पहलमा हुने यो भ्रमणले ओलम्पिक कमिटीको विवादलगायत ओलम्पिक मुभमेन्ट नेपालमा कसरी लान सकिन्छ त्यसबारे छलफल केन्द्रित रहने लामाले बताएका छन् ।
के अब ओलम्पिक कमिटीको विवाद सदाका लागि समाप्त भएकै हो त ? यो प्रश्न अहिले अहम् रूपमा तेर्सिएको छ । राखेपले प्रधानको एनओसीसँग सहकार्य गरिसकेको अवस्था र सर्वोच्चको फैसला ज्युँका त्युँ रूपमा रहेको अवस्थालाई कसरी बुझ्ने त्यसले अन्योलको वातावरणको सिर्जना गरिदिएको छ । विवाद सकियो भन्दा सकिएको देखिएको छैन भने विवाद छ भन्दा अहिलेसम्म सर्वोच्चको आदेशको पालना भएको छैन । तर्सथ कुहिरोमा हराएको कागसरि बनेको ओलम्पिकको विवादले कहिले गन्तव्य भेट्टाउने हो त्यो प्रतीक्षाको विषय बनेको छ । सहकार्यको बाटोबाट व्यावहारिक रूपमा खरो उत्रिने सपना देखेका प्रधान र कानुनबाटै समस्याको समाधान देखेका सिंहबीचको लडाइँ कहिलेसम्म चल्ने हो त्यो त्यसै भन्न सकिने अवस्था छैन ।

लोकतान्त्रिक अध्यक्षमा नवीन
नेपाल लोकतान्त्रिक खेलकुद पत्रकार सङ्घको हालै सम्पन्न विशेष साधारणसभाले नवीन अर्याललाई दुई वर्षका लागि अध्यक्ष पदमा निर्वाचित गरेको छ । साधारणसभाले अर्यालको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमितिसमेत चयन गरेको छ । अध्यक्षमा नवीनसहित राधेश्याम दाहालले उम्मेदवारी दिएकोमा अर्यालले १५ मत र प्रत्याशी दाहालले ११ मत हासिल गरेका थिए । अध्यक्षसहित उपाध्यक्ष र कोषाध्यक्ष पदबाहेक अन्य सबै निर्विरोध चयन भएका थिए । उपाध्यक्षमा दुई पदका लागि तीनजनाले उम्मेदवारी दिएका थिए । जसमा उमेश ओझाले १९ र श्रीविक्रम भण्डारीले १६ मत हासिल गर्दै विजयी भएका थिए भने नारायण उपाध्याय पराजित भएका थिए । त्यस्तै कोषाध्यक्षका लागि दुईजनाले उम्मेदवारी दिएकोमा १५ मत ल्याएका निमेष अधिकारी विजयी भए । उनका प्रतिद्वन्द्वी फणीन्द्र फुँयालले ११ मत प्राप्त गरेका थिए । सचिवमा मनोज घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि हरिहर पराजुली र सहसचिवमा अन्वेषण अधिकारी निर्विरोध चुनिएका थिए । त्यस्तै, निर्विरोध चयन हुने सदस्यहरूमा राजेन्द्र श्रेष्ठ, रामसुदन तिम्सिना, लक्ष्मी लम्साल, दीपेन्द्र गुरुङ, सुफल काप\mले, सोमनाथ लामिछाने तथा मिनाल पाण्डे रहेका छन् ।

विश्व कबड्डीमा नेपालले भाग लिने
भारतको फरिदावादमा हुने विश्वकप कबड्डी प्रतियोगितामा नेपालले भाग लिने भएको छ । प्रतियोगितामा नेपाली सेनाको पुरुष टिम र नेपाल प्रहरीको महिला टिमले प्रतिस्पर्धा गर्नेछन् । अखिल नेपाल कबड्डी सङ्घका अध्यक्ष लालकुमार लामाको अध्यक्षतामा हालै बसेको सङ्घको बैठकले उक्त निर्णय गरेको हो । २४ खेलाडी, दुई व्यवस्थापक, दुई प्रशिक्षक र तीन अफिसियलसहित नेपाली टोली ३१ सदस्यीय रहने सङ्घका महासचिव रामचन्द्र भट्टले जनाएका छन् । व्यवस्थापकद्वयमा सङ्घका उपाध्यक्ष फुल मोहम्मद मन्सुर र अर्का उपाध्यक्ष सरोज पोखरेल तथा प्रशिक्षकद्वयमा विमल पोखरेल र नीतुसिंह ठकुरी रहनेछन् । त्यस्तै, तीन अफिसियलमा महासचिव भट्ट तथा सदस्यद्वय रामदेव बनोट यादव र शिवभक्त सैजु रहेका छन् ।

मां पुच: दौड प्रतियोगिता सम्पन्न
‘नर्सर्ने रोगविरुद्ध जनचेतनाको अभियान’ भन्ने मूल नाराका साथ ललितपुर ७ वडा स्वास्थ्य कार्यान्वयन समितिको आयोजनामा रिय काठमाडौं म्याराथन २०१२ र नेपाल एमेच्योर एथलेटिक्स सङ्घद्वारा प्रोत्साहित ‘दोस्रो ललितपुर नगरव्यापी मां पुच: रनिङ कप’ तीन किलोमिटर दौड प्रतियोगिता हालै सम्पन्न भएको छ । दौड ललितपुर बालकुमारीबाट सुरु भई बालकुमारीमै सम्पन्न भएको थियो । उक्त दौड प्रतियोगितामा चोछे न्हूज: मां पुच: का विना महर्जनले १२.१७.७ मिनेटमा पूरा गरी प्रथम, लुखुसी मां पुच:का जमुना महर्जनले १३.०३.८ मिनेटमा पूरा गरी दोस्रो र पिन्छें मां पुच: का विना महर्जनले १३.५३.६ मिनेटमा पूरा गरी तेस्रो स्थान हासिल गर्न सफल भएका थिए ।
प्रतियोगिताका सफल खेलाडीलाई प्रमुख अतिथि पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री दिलीप महर्जनले पुरस्कार वितरण गर्नुभएको थियो । उक्त दौड प्रतियोगितामा ३० देखि ५० वर्षका ८३ जना महिला सहभागी थिए ।

राखेपको अन्तरक्रिया कार्यक्रम
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव र परिषद्अर्न्तर्गत विभागीय प्रमुख, निर्देशक, शाखा प्रमुख र प्रमुख प्रशिक्षकबीच सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हालै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रियामा विभिन्न चार बुँदा ओलम्पिक कमिटीको विवाद, खेलकुद विकास ऐन परिमार्जन, छैटौँ राष्ट्रिय प्रतियोगिता र प्राविधिक कर्मचारीका बारेमा छलफल भएको थियो ।
उक्त कार्यक्रममा ओलम्पिक कमिटी विवाद सम्बन्धमा कर्मचारी सङ्घको नाममा सञ्चारमाध्यममा आएको विज्ञप्ति गलत, नियोजित, भ्रामक र आधारहीन रहेको निष्कर्षनिकालिएको थियो । सो अवसरमा सदस्यसचिवद्वारा सर्वोच्चको फैसलाविरुद्ध बाझिनेगरी कुनै निर्णय नगरिएकोसमेत स्पष्ट पारिएको थियो । त्यस्तै खेलकुद विकास ऐन परिमार्जन सम्बन्धमा हाल विद्यमान रहेको खेलकुद विकास ऐनलाई परिमार्जन गरी समयसापेक्ष बनाई सरकार परिवर्तनसँगै परिषद्मा जुन तरलता देखिन्छ त्यसलाई समाप्त पार्न निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने विषयमा अन्तरक्रियामा छलफल भएको थियो ।
यसैगरी आउँदो फागुनमा सुदूरपश्चिमाञ्चलको कैलाली र कञ्चनपुरमा आयोजना हुने छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई विवादरहित ढङ्गले सफल पार्न सम्पूर्ण परिषद्का प्राविधिक तथा प्रशासनिक कर्मचारीहरूको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिइएको थियो । त्यस्तै परिषद्मातहत जिल्ला खेलकुद विकास समिति र क्षेत्रीय खेलकुद विकास समितिमा प्राविधिक कर्मचारीको अभाव रहेको गुनासो तथा छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीहरूको प्रशिक्षणमा बाधा पुग्ने देखिएकोले प्राविधिक कर्मचारी न्यून रहेको जिल्ला तथा क्षेत्रमा स्वयम्सेवक प्राविधिक कर्मचारीलाई नियुक्ति गर्नुपर्ने निष्कर्षनिकालिएको थियो ।

खेलकुदमा रियाक्सन !रमेश खनाल
कुनै उत्तेजनाप्रति जब खेलाडीले क्रिया गर्दछ तब त्यसलाई प्रतिक्रिया ?रियाक्सन) भनिन्छ । प्रतिक्रियाको सम्बन्ध समयसँग हुन्छ । उत्तेजना हुने र प्रतिक्रिया गर्नेबीचको समय नै रियाक्सन टाइम हो । मनोवैज्ञानिकहरूले प्रतिक्रिया समयलाई दुई भागमा बाँडेका छन् । सरल प्रतिक्रिया समय र जटिल प्रतिक्रिया समय । सरल प्रतिक्रिया गर्नुपूर्व खेलाडीलाई त्यसको ज्ञान हुन्छ । अनि उसले सरल ढङ्गबाट सम्पन्न गर्दछ । तर, जटिल प्रतिक्रियाको बारेमा उसलाई ज्ञान हुँदैन । यो जस्तोसुकै कठिन भएर आउन सक्दछ । पूर्वअनुमानबिना घटित हुने भएको हुँदा जटिल भनिएको हो ।
सरल प्रतिक्रिया समयलाई पनि मनोविज्ञहरूले तीन भागमा विभाजित गरेका छन् । त्यो हो स्वाभाविक प्रतिक्रिया समय ?नेचुरल रियाक्सन टाइम), सांवेदनिक प्रतिक्रिया-समय ?सेन्सोरियल रियाक्सन टाइम) र स्नायुविक प्रतिक्रिया काल ?मस्क्युलर रियाक्सन टाइम) ।
स्वाभाविक प्रतिक्रिया समयमा खेलाडीको दिमागमा कुनै वृत्तिविशेष हुन्न । र, जब ऊ उत्तेजित हुन्छ तब प्रतिक्रिया गर्दछ । तर, अन्य दुई प्रतिक्रियामा निर्देशन प्राप्त नभई कार्य हुन्न । स्नायुविक प्रतिक्रिया समयमा खेलाडीलाई के भनेर निर्देशन दिइन्छ भने उत्तेजना हुनेबित्तिकै छिटोभन्दा छिटो प्रतिक्रिया गर । तर, सांवेदनिक प्रतिक्रिया समयमा खेलाडीलाई उत्तेजना चिनेर, परख गरेर मात्र प्रतिक्रिया जनाउनेजस्तो निर्देशन दिइन्छ ।
यो सरल प्रतिक्रिया समयलाई जस्तै जटिल प्रतिक्रिया समयलाई पनि निर्णय प्रतिक्रिया समय ?डिस्त्रिmमिनेसन रियाक्सन टाइम), तथा रुचि प्रतिक्रिया समय ?च्वाइस रियाक्सन टाइम) मा विभाजन गरिएको छ ।
खेलाडीको स्वरूप र स्वभावअनुसार प्रतिक्रिया समय प्रभावित हुन्छ । त्यसैले गर्दा व्यक्ति व्यक्तिअनुसार प्रतिक्रिया समय फरक हुन्छ । प्रतिक्रिया समयलाई शारीरिक थकावट, मानसिक अवस्था, उमेर, होहल्ला अभ्यास, प्रेरणा र एकाग्रताजस्ता कुराहरूले प्रभाव पार्दछ । खेलकुदमा मात्र होइन अन्य क्षेत्रमा पनि प्रतिक्रिया समय अध्ययनको विषय भएको छ । यस विषयमा जर्मन ज्योतिषी बैसन र अमेरिकाका मिचेलको वैज्ञानिक अध्ययन महत्त्वपूर्ण मानिन्छ । मिचेलले एक यन्त्रको विकास गरे । जसको सहायताले द्रष्टव्य ?भिजुयल) तथा श्रवण ?अडियोटरी) उत्तेजना व्यवहार अध्ययन गरियो । जसमा व्यक्तिको प्रतिक्रिया समय १.७ मि.स. देखि २२३ एम.एस. सम्म हुँदोरहेछ । अझ हेमहोल्ज नामक मनोविज्ञले भ्यागुतो र मानिससँग तुलना गर्दै अध्ययन गरे । त्यसैगरी स्विटजरल्यान्डका मनोविज्ञ, ज्योतिषी हिर्ष कैटल, डालेग ले पनि प्रतिक्रिया समयको अध्ययन गरेका छन् ।
प्रतिक्रिया-समयलाई नाप्नका लागि धेरै पहिलेदेखि क्रोनोस्कोप नामक यन्त्र प्रयोग गरिन्छ । अझ यसलाई भरनियर तथा टिप क्रोनोस्कोप यन्त्र पनि भन्छन् । टिप क्रोनोस्कोप धेरै विश्वासिलो संवेदनशील यन्त्र हो । यसमा एक सेकेन्डमा हजार अंशसम्मको ज्ञान पाउन सकिन्छ । तर, प्रयोगशालामा धेरैजसो भरनियर क्रोनोस्कोप नै प्रयोग हुन्छ ।
खासगरी खेलाडीको प्रतिक्रियाकाल ठीक भए भएन त्यो थाहा पाउन ल्याबमा टेस्ट नै गर्नुपर्छ । ठीक समयमा खेलाडीले ठीक तरिकाबाट प्रतिक्रिया व्यक्त गरिरहेको छैन भने त्यसलाई समस्याको रूपमा लिनुपर्छ । एउटा मार्सल आर्टको खेलाडीले क्रियाको प्रतिक्रिया ठीक समयमा गर्दैन भने पक्कै पनि ऊ पराजित हुन्छ ।
प्रतिक्रियाको सूचना ग्रहण गर्ने क्षमता पनि परीक्षण गर्नुपर्छ । मार्सल आर्टमा खेलाडीहरू आँखाबाट सूचना ग्रहण गर्छन् । दिमागमा कार्यक्रम बनाउँछन् वा अनि शरीरलाई प्रतिक्रिया गर्न अह्राउँछन् । यो एउटा स्वत: चल्ने मनो शारीरिक प्रक्रिया हो । यसमा खेलाडीले कति समयमा सूचना ग्रहण गर्दछ र शरीरमा पठाउँछ त्यो महत्त्वपूर्ण कुरो हो । खेलाडी, खेलाडीमा यसको भिन्नता हुन्छ । आज उसले प्रतिक्रिया गर्ने समय र भोलि उसले प्रतिक्रिया गर्ने समय भिन्नता हुन सक्छ । मार्सल आर्टजस्तो खेलमा जति छोटो समय लगाएर प्रतिक्रिया जनाउँछ त्यति नै राम्रो ठानिन्छ । खेलाडीले लामो समय लगाएर प्रतिक्रिया जनाउनु नै एक समस्या हो । यस्तो समस्यामाथि अध्ययन गर्न भनी छोडियो भने गरेर त्यसैको कारणबाट खेलाडी पराजित हुन्छन् । अब खेलाडी थाकेको छ भने प्रतिक्रिया कालमा फरक पर्न सक्छ । खेलाडी राम्रोसँग सुतेको छैन भने, खेलाडीको पाचनक्रिया गडबडी भएको छ भने । खेलाडी मानसिक रूपमा अस्वस्थ छ भने, खेलाडी शारीरिक रूपबाट अस्वस्थ छ भने पनि उसको प्रतिक्रिया काल फरक पर्दछ । तर, यदि खेलाडी स्वस्थ छ भने उसको प्रतिक्रिया कालमा प्रगति हुनुपर्छ । र, प्रगति गर्न सक्दैन भने कम्प्युटरका विभिन्न खेलहरू खेलाएर उसलाई प्रगति गर्न सिकाउनुपर्छ ।
खेलमा प्रतिक्रिया एक महत्त्वपूर्ण कुरो हो । यसको सम्बन्ध समय, छिटो, छनोट र जटिलतासँग हुन्छ । हाम्रो उद्देश्य, हाम्रो खेलाडीले ठीक समयमा ठीक तरिकाबाट प्रतिक्रिया व्यक्त गर्न सकुन् भन्ने नै हुन्छ । त्यसका लागि खेलाडीको प्रतिक्रिया गर्ने समय नोट, परीक्षण गरेकै हुुनुपर्छ । साथै यस सम्बन्धमा स्वयम् खेलाडी पनि सचेत भइरहनुपर्छ ।

सविना, सञ्जय र वीरमान च्याम्पियन
बाह्रौँ राष्ट्रिय पुरुष तौल समूह तथा एघारौँ राष्ट्रिय महिला खुला फुलकन्ट्याक्ट कराते प्रतियोगिताको महिला खुलातर्फसविना श्रेष्ठ शनिबार पहिलो भएकी छिन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ?राखेप) को प्राङ्गणमा भएको फाइनलमा सविनाले प्रतिभा माझीलाई पराजित गरिन् । नेपाल क्योकुसिन कराते डो सङ्घद्वारा आयोजित प्रतियोगिताको पुरुषतर्फ५५ केजीमुनि सञ्जय राई पहिलो भए । फाइनलमा उनले राजकुमार घिसिङलाई पाखा लगाए । दलबहादुर राना तेस्रो तथा प्रकाश तामाङ चौथो भए । पुरुषको ६५ केजीमुनि वीरमान तामाङले फाइनलमा सन्तोषलाई पन्छाउँदै उपाधि चुमे । सुमन शाही ठकुरी तेस्रो तथा दिनेश खड्का चौथो स्थानमा रहे । त्यस्तै पुरुष खुलामा कान्छालाल वाइबा च्याम्पियन बने । फाइनलमा उनले दीपेन्द्र बटालालाई निराश पारे । राजकुमार गुरुङ तेस्रो भए भने गोपाल भुजेलले चौथो स्थानमा चित्त बुझाए ।

चैतमा बुढासुब्बा गोल्डकप
धरान फुटबल क्लबको आयोजनामा सञ्चालन हुँदै आएको मोफसलको चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको १४औँ संस्करण आगामी चैतमा हुने भएको छ । चैत १८ देखि २५ गतेसम्म सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता यसपटक एन्फा टेक्निकल सेन्टर हुने जानकारी आयोजक समितिका अध्यक्ष किशोर राईले जानकारी गराएका थिए । राईले यसअघि प्रतियोगिता धरान रंगशालामा हुँदै आए पनि यसपटक रंगशाला निर्माणाधीन अवस्थामा रहेकोले अन्तै गर्न लागिएको जानकारी गराएका थिए । यसपटक प्रतियोगिताको राशिमा वृद्धि गरिएको छ । यसपटकको विजेताले दुई लाख ५० हजार र उपविजेताले एक लाख ५० हजार पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले मोटरसाइकल र र्सवाधिक गोलकर्ताले नगद २० हजार पाउने अध्यक्ष राईले बताएका छन् । यसअघिका प्रतियोगितामा १२ टिमलाई सहभागी गराउँदै आएको आयोजकले १४औँ संस्करणमा १० टिमलाई मात्र सहभागी गराउने निर्णय गरेको छ । प्रतियोगितामा नेपालका चर्चित ‘ए’ डिभिजनका क्लबका साथै बंगलादेशको धानमुन्डी, हङकङ र अस्ट्रेलिया टिमहरूले प्रतिस्पर्धा गर्नेछन् ।