‘आफू शिक्षित नभई अरुलाई शिक्षा दिन सकिँदैन’ भन्ने सिद्धान्त रञ्जिता मल्लले पनि फ्लो गरेकी छन् । कम्प्युटर सफ्टवेयर इन्जिनियर मल्ल नेपालको जलविद्युत क्षेत्रमा केही समय काम गरेर दोस्रो पुस्ताको सुन्दर भविष्य खोज्न बेलायत पुगिन् । अध्ययन अनुभव एकातिर थन्काएर उनी सुरुमा जागिर र पछिल्लो समय आफ्नै व्यवसायमा लन्डनमा रमाइरहेकी छन् । लन्डनको वस्तुस्थिति, उनको विगत र व्यवसायबारे तरुणले गरेको कुराकानी:
० कसरी पुग्नुभयो बेलायत ?
– सन् २००७ मा हाइली स्किल (एचएचएन) प्रोग्रामअन्तर्गत लन्डन प्रवेश गरेकी हुँ । अहिले लन्डनमा आफ्नै व्यवसाय बुटिक चलाएर बसेकी छु ।
० बेलायती नै आकर्षित गर्ने के स्किल थियो तपाईंसँग ?
– कम्प्युटर इन्जिनियर पढेकी हुँ । लर्ड बुद्ध एजुकेसनको हामी दोस्रो ब्याज हौं । यो भारतको भुपाल विश्वविद्यालयबाट सम्बन्धन लिएको कलेज हो ।
० कम्प्युटर इन्जिनियर पढ्नुपर्छ भनेर कसले हुटहुटी लगायो ?
– त्यसबेला यो नयाँ विषय थियो । त्रिविले सुरु नै गरेको थिएन, केयूमा सुरु भएको तीन वर्ष भइसकेको थियो । नयाँ विषयमा अवसर धेरै हुन्छन् भनेर पढेका हौं ।
० कम्प्युटर इन्जिनियरले नेपालमै राम्रो जागिर पाउँदैन र ?
– पढाइसकेपछि सन् २००३ मा मैले मध्यमस्र्याङ्दीमा टेक्निकल इन्जिनियरको जागिर खाएँ । छोरीको भविष्यका लागि विदेश जानैपर्ने थियो, त्यसैले बेलायत एप्लाइ गरें, भिसा पाइयो ।
० बेलायततमा चाहिँ सजिलै काम पाइँदो रहेछ ?
– पाइन्छ भनेर बेलायत प्रवेश गरियो । तर, यहाँ त बेग्लै संसार रहेछ । प्रोजेक्ट प्लानिङमा अनुभव भएको मान्छे डिपार्टमेन्ट क्यासिएरको जागिर खानुप-यो । त्यसको तीन महिनापछि डिउटी म्यानेजर भएँ । केही समयपछि स्टोर म्यानेजर भएँ । कामको टेनिङ र रहँदा बस्दा आफ्नो प्रोफेसनको जागिर खोज्ने समय नै हुन छोड्यो ।
० त्यसबेला कस्तो महसुस भयो ?
– दोस्रो पुस्ताको भविष्यका लागि बेलायत आएकी हुँ । नेपालमै पनि पचास हजार रुपैयाँको जागिर त्यसैबेला खान्थें । राम्रो क्यारियर बनाउन बेलायत आएपछि संघर्षका दिन सुरु भयो । सुरुका दिन सम्झने हो भने त बेक्कार आएजस्तो फिल भएको थियो । तर व्यस्तताले मान्छेलाई अप्ठ्यारा दिन बिर्साउँदो रहेछ ।
० अहिले व्यवसायी बन्नुभएछ नि ?
– जागिरसँग सँगै बुटिक पनि खोलेकी थिएँ । विस्तारै जागिरभन्दा पनि आफ्नै व्यवसायलाई प्रमोसन गर्न थालें । डेढ वर्षजति भयो आफ्नै व्यवसायमा पूर्णकालीन भएर काम गर्न थालेको ।
० व्यवसायी कसरी बन्नुभयो ?
– यसमा चाहिँ मेरो भाइबुहारीको योगदान छ । उनीहरूले आफैं केही गर्नुपर्छ भनेर प्रेरित मात्र गरेनन्, सहयोग पनि गरे । विस्तारै आफ्नै व्यवसायमा सन्तुष्ट हुन थालेपछि जागिर छोडें ।
० इन्जिनियर पेसाबाट हराउनुभयो ?
– ठूलै सपना बोकेर विदेश आएकी थिएँ, तर त्यो सपना पूरा गर्न चानचुने संघर्षले सम्भव नहुँदो रहेछ । म मात्र होइन, मेरोजस्तै हाइस्किलमा बेलायत आउनुभएका एक/डेढ सय इन्जिनियरहरू आफ्नो पेसाबाट हराउनु भएको होला जस्तो लाग्छ ।
० विदेशमा बसेर सन्तुष्ट हुनुहुन्न ?
– टेवलवर्क गर्नुपर्ने मान्छे, व्यवसाय गरेर बसेकी छु । त्यसभन्दा अघि पेसाभन्दा बेग्लै जागिर खानुप-यो । यद्यपि पेसा गर्न नपाएकोमा असन्तुष्टि छैन, आफ्नै स्वतन्त्र व्यवसाय गर्दा बढी नै सन्तुष्टि प्राप्त भएको छ ।
० नेपालमा कहाँ हो नि घर ?
– हामी त काठमाडौंमै जन्मियौं । कन्या स्कुलमा पढें । बुबाको घर प्युठान हो । उहाँ राजनीतिमा संलग्न हुनुहुन्थ्यो ।
० विवाह नि ?
– यो विषय नकोट्याउँदा राम्रो हुन्छ । म एकल महिला हुँ, हाम्री एउटी छोरी छन्, उनी लन्डनमै ‘ए’ लेवलको शिक्षा हासिल गर्दैछिन् । विगत कोट्यायो भने चोटहरू बल्झेर आउँछ, म भक्कानिन्छु ।
० आफूलाई कसरी सम्हाल्नुभयो ?
– दुई वर्षसम्म त शोकमा डुबें, तर जिन्दगी त्यो होइन रहेछ भन्ने कुरा फिल हुँदै गयो । मैले आफूलाई सम्हालिनँ भने छोरीको भविष्य मात्र होइन, आफन्तसमेतलाई असर पर्ने भएकाले विस्तारै सोचाइ मोडिँदै गयो ।
० एकल आमालाई समाजले कसरी हेर्दो रहेछ ?
– नेपालमा हुँदा घरपरिवार, दाजुभाइ, सासूससुराले एक्लो महसुस गर्न दिनुभएन । कानुनी राज्य भएको बेलायतमा एकल दुक्कलको कुनै अर्थ रहँदैन । तर नेपाली समाजमा महिलाहरूले जुन हिंसा सहनुपरेको छ, त्यो मैले अहिलेसम्म फिल गरेकी छैन ।
० दोस्रो विवाह गर्ने सोचाइ बनाउनुभएन ?
– आफू केही गर्न नसक्ने, अरुको सहारा खोज्नेहरूको पहिलो प्राथमिकतामा विवाह पर्ला, तर मेरो सोचाइ बच्चाको भविष्यमा केन्द्रित भयो । त्यसैले मैले दोस्रो विवाहको कल्पना पनि गरिनँ ।
० एक्लो जीवन कत्तिको कठिन हुँदो रहेछ ?
– श्रीमान्–श्रीमती रथको दुई पांग्रा भन्छन्, एउटा पांग्रा भएन भने रथ सजिलोसँग अगाडि बढ्दैन । यद्यपि श्रीमान् भएन भन्दैमा रोएर बस्ने कुरो पनि हुँदैन । अगाडि बढ्नलाई हिम्मत गर्नुपर्छ ।
० अब के गर्नुहुन्छ ?
– व्यवसायलाई अझ राम्रो बनाउँदै लैजाने र समाजसेवामा संलग्न हुने चाहना छ । अहिले पनि केही च्यारिटी कार्यक्रममार्फत सहयोग गरिनै रहेकी छु ।
० समाजसेवामा कुन क्षेत्रलाई रोज्नुहुन्छ ?
– नेपाली महिलाको चेतनास्तर कमजोर छ, यी सबै शिक्षाको अभावले भएका हुन् । महिला शिक्षा, स्वास्थ्य र चेतनास्तरको वृद्धिमा केही गर्न सक्छु कि जस्तो लागेको छ ।
० पैसा धेरै कमाउनु भएको छ ?
– त्यस्तो प्रशस्तै कमाएकी छैन, दिन र खान पुगेको छ । बच्चाका लागि केही बचत गरेर समाजबाट आएको पैसा समाजमै जाओस् भन्ने मान्यता राख्छु ।
० नेपाल बिर्सिनुभयो ?
– बिर्सेको छैन, जहाँ गए पनि नेपाल घर हो, वर्षमा दुईपटक नेपाल पुगेकै हुन्छु । देशलाई गाली गर्नेहरूले नेपाल छोड्नुको मर्म बुझेका हुन्छन् । चाडबाड आयो भने घर सम्झिन्छु, प्रत्येक बिहान नेपालको हालखबर नसुनी दिनचर्या सुरु हुँदैन ।
० नेपालको पछिल्ला खबर थाहा छ त ?
– खै ! के भनौं, दुःख–सुखका कुरा बराबरी छन् । पहिरोले सुनकोसी थुनेको छ, बाढीले धेरै नेपालीको उठीबास मात्र लगाएको छैन, ज्यान पनि लिएको छ । यो दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्छु । साथै, महिलाहरूको तीज नजिकिएको छ । बिनातडकभडको तीज मनाउन नेपाली दिदी–बहिनीलाई सन्देश दिन्छु ।
प्रतिक्रिया