खेलकुदमा आगो बल्ने

खेलकुदमा आगो बल्ने


अशुभ सङ्केत
माओवादीको खेलकुदमा बढ्दै गएको हस्तक्षेप र कब्जा गर्ने रणनीतिका कारण अहिले खेलकुदमा सन्त्रास फैलिएको छ । हात्तीको दाँतझैं खाने र देखाउने भूमिकामा प्रस्तुत भएको माओवादीले अब खेलकुदलाई सफाया गर्ने पक्का भइसकेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाको काँधमा बन्दुक राखेर निसाना साँध्दै आएको माओवादीले अहिले खेलकुदका कुनै पनि निकायलाई छोडेको छैन । जिल्ला र क्षेत्र हुँदै केन्द्रसम्म आफ्नो पकड कायम गरेको माओवादीले त्यसपछि आफ्नो निसाना खेलकुदका राष्ट्रिय सङ्घहरूलाई बनाएको कसैबाट छिपेको छैन । तदर्थवादलाई अन्त्य गर्ने र लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्ने बहानामा खेलकुदका सङ्घमाथि हमला बोलेको माओवादी अहिले आफ्नो रणनीतिमा सफल भएको छ । मिलाउनेभन्दा पनि फुटाउने र घुसाउने कार्यमा दत्तचित्त भएर लागेको माओवादीले पछि मोज गर्ने रणनीतिका कारण अहिले खेलकुद बद्नाम मात्रै होइन, गुमनाम हुने स्थितिमा पुगेको छ । जुन समग्र खेलकुदको विकासका लागि दुर्भाग्य हुने ठोकुवा गर्न सकिन्छ ।
पानीले शिरै छोप्न थालेको स्थितिमा अहिले खेलकुद गुज्रिरहेको छ भन्दा अतिसयोक्ति नहोला । वर्तमान अवस्थामा खेलकुदका साठी सङ्घमाथि माओवादीले कब्जा जमाइसकेको छ । साँचो अर्थमा भन्ने हो भने खेलकुद माओवादीको घेरामा परिसकेको छ । माओवादीले खेलकुदमाथि यसरी धाक जमाउँदा पनि डर, त्रास र सन्त्रासका कारणले कसैले अहिलेसम्म ‘चँु’ समेत गर्न सकेका छैनन् । यसैको फाइदा उठाउँदै माओवादीले खेलकुदको आवरणमाथि नराम्रोसँग खेल्दै आएको छ । वर्तमान अवस्थामा खेलकुद माओवादीका केन्द्रीयस्तरका नेतादेखि निम्नस्तरका कार्यकर्ताहरूको परेड खेल्ने स्थलको रूपमा परिणत भएको छ । यस्तो बेथिति आफ्नै नाकमुनि झेल्दै आएका खेलाडी, कर्मचारी र सञ्चारकर्मी भने मूकदर्शक मात्रै बनेका छन् । यसरी नायकको भूमिका निभाउँदै आएका सदस्यसचिव लामा एकाएक खलनायकको रूपमा देखापरेपछि खेलकुदको इज्जत जोखिममा परेको छ । आफ्नो व्यक्तित्वभन्दा पनि पार्टीको दबाब र कुर्सीमोहका कारणले गलत बाटो रोजेका लामा अहिले खेलकुदमा नराम्रोसँग गन्हाउन पुगेका छन् । तर्सथ सदस्यसचिव लामा आफ्नो खुट्टामा आफैं किन बञ्चरो हानिरहेका छन् त्यो अहिले बुझिनसक्नु भएको छ ।
एउटा रचनात्मक ठाउँमा पार्टीको दबदबा कायम गर्न खोज्नु आफैंमा निन्दनीय कुरा हो । सो कुरालाई आत्मसात् गर्दै सदस्यसचिव लामाले खेलकुदमा राजनीति नगर्ने प्रतिबद्धता जनाएका पनि थिए । तर, विडम्बना, अहिले खेलकुदलाई राजनीतिक रूपले मात्र नभई माओवादी पार्टीकै सङ्गठनको रूपमा विकास गरिन थालेको छ । जसले गर्दा खेलकुद माओवादीले चलखेल गर्ने उर्वरभूमिको रूपमा विकास भइरहेको छ । यस्तै अवस्था रहे एक दिन राष्ट्रिय खेलकुद परिषद् माओवादी खेलकुद परिषद्को रूपमा विकास नहोला भन्न सकिन्न । लामाको बोलाइ र गराइको भिन्नताले अब खेलकुदको आवरण कुन चौबाटोमा लिलाम हुने हो त्यो चिन्ताको विषय बनेको छ । खेलकुदको नीति-नियमलाई शक्तिको आडमा समाप्त गर्न कदापि मिल्दैन । विधानसम्मत गरेका कार्यबाहेक अन्यमा आज र भोलि पनि प्रश्न उठ्ने र गैरकानुनी हुने कुरा माओवादीले बुझ्नुपर्ने भइसकेको छ । तर ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैं माओवादीले यसैलाई आफ्नो पुरुषार्थको रूपमा देख्नु सबैको टाउको दु:खाइ भएको छ । जुन कालान्तरमा खेलकुदका लागि निकै पीडादायक बन्ने कुरामा दुईमत छैन ।
पार्टीकोनिर्देशन मान्ने क्रममा पछिल्लोपटक सदस्यसचिव लामा नराम्रोसँग चुकेका छन् ‘राष्ट्रिय तेक्वान्दो युनियन’को दर्ता गरेर । विधानसम्मत गर्नै नहुने कार्य गरेर लामाले पार्टीलाई लगाउनुसम्म गुन लगाए पनि त्यो भोलि गलत नजिर बन्ने पक्का भइसकेको छ । डब्लूटीएफबाट मान्यता पाएको नेपाल तेक्वान्दो सङ्घ छँदाछँदै उनले सोही संस्थाबाट मान्यता प्राप्त अर्को सङ्घलाई किन राखेपमा दर्ता गराए त्यसको रहस्य खुल्न बाँकी नै छ । यसमा माओवादी पार्टी र लामाको के स्वार्थ छ त्यसको पोष्टमार्टम हुनुपर्ने जरुरी भइसकेको छ । एक सफल सङ्घको रूपमा परिचित तेक्वान्दो सङ्घमाथि सौता हालेर लामाले तेक्वान्दो खेलमा फुट मात्र होइन तेक्वान्दो खेललाई नै समाप्त गर्न खोजेका छन् । जसले गर्दा तेक्वान्दो खेलाडीको मानसिकतामा समेत नराम्रो असर परेको छ । खेलाडीमा अन्योल छाएको छ । उनीहरूको जोर-जाँगरमा समेत ह्रास आएको छ । वर्तमान अवस्थामा जुटाउनेभन्दा पनि फुटाउने खेलमा लागेका लामा यो कार्यपछि निकै विवादमा परेका छन् । विधानसम्मतबाहेक अन्य कार्य नगर्ने रट लगाउने लामाले पछिल्लोपटक गरेको यो हर्कतले खेलकुदमा उनको साख शून्यमा झरेको छ । त्यो खुद लामाले महसुस गरेको पनि हुनुपर्छ ।
तेक्वान्दो युनियनको दर्तासँगै विवादमा तानिएका लामाको टाउको दुखाइको विषय नै यही निर्णय बन्न पुगेको छ । कुर्सीलाई अँगालो हालेर, खेलकुदको विधानलाई कुल्चेर लामाले जुन गलत निर्णय गरे त्यसले अहिले खेलकुदमा गलत सन्देशको प्रवाह भएको छ । यो कार्यबाट हिजो उनको खुलेर प्रशंसा गर्नेहरूसमेत आलोचना गर्न थालेका छन् । सर्वप्रथम एउटै नाम र उद्देश्य भएका दुईवटा संस्था राखेपमा दर्ता गर्न कदापि पाइँदैन । त्यो लामाले राम्रोसँग बुझेको हुनुपर्छ र बुझेका छन् पनि । तर, उनले वास्तविकता बुझेर पनि किन नियम, कानुन र विधानलाई धोती लगाउने कार्य गरे त्यो बुझिनसक्नु भएको छ । यसभन्दाअघि अखिल नेपाल तेक्वान्दो सङ्घको नाममा अर्को संस्था दर्ता गर्न खोजिए पनि त्यसले आधिकारिकता नपाएको घामजस्तै र्छलङ्ग छ । अब राष्ट्रिय तेक्वान्दो युनियनलाई आधिकारिक मान्यता दिने लामाले एन्टालाई किन मान्यता नदिने यो प्रश्न गम्भीर बनेको छ । एन्टालाई दर्ता गराउने खोज्नेे व्यक्ति पूर्व तेक्वान्दो खेलाडी र पदाधिकारी रहेकाले अब उनले उक्त फाइल ओपन गरेर दर्ताका लागि प्रोसेस अगाडि बढाएको के हुन्छ ? त्यो लामाका लागि निकै चुनौतीपूर्ण बनेको छ । कानुनको पालना गर्दै तत्कालीन समयमा राज्यले ठाडै अस्वीकार गरेको कार्यलाई लामाले कसरी आधिकारिता प्रदान गरे ? त्यो अहिले बहसको विषय बन्न पुगेको छ । के पद र कुर्सीका लागि खेलकुदको आवरणलाई सार्वजनिक रूपमा लिलाम गर्न मिल्छ ? त्यो लामाले मात्रै होइन उनको पार्टीले पनि आत्मसात् गर्नु जरुरी भइसकेको छ ।
‘अब खेलकुदमा कुनै पनि बेला आगो बल्न सक्छ ।’ लामाले गरेका हरेक क्रियाकलापमा माओवादीको गन्ध आएपछि अहिले परिषद् परिसरमा चलेको चर्चा हो यो । लामाका हरेक गतिविधिलाई नजिकबाट नियालिरहेका खेलाडी, पदाधिकारी, कर्मचारी, सञ्चारकर्मी र राजनीतिकर्मीहरूको मुखबाट निस्किएको आवाज हो यो । तेक्वान्दो युनियनको विवादास्पद आधिकारिकतासँगै उनीहरूले अब लामाको विरुद्धमा आन्दोलन छेड्ने योजना बनाएका छन् । अरूले वास्तविक कुरा गर्दा पनि ‘चिया गफ’ भनेर प्रतिवाद गर्ने लामाले अब खेलाडी र सङ्घका पदाधिकारीहरू आन्दोलनमा उत्रिए भने के भनेर प्रतिवाद गर्ने हुन् त्यो प्रतीक्षाको विषय बनेको छ । हावा नचली पात हल्लिँदैन भनेझैं लामाले उठाएका गलत कदमका कारणले अहिले यो आवाज बुलन्द भएको हो । भोलि तेक्वान्दो सङ्घको अस्तित्व नै खतरामा पर्‍यो भने के तेक्वान्दो खेलाडी चुप लागेर बस्लान् ? अनुशासनलाई आत्मसात् गरेका तेक्वान्दो खेलाडीको बाढी खेलकुदमा पस्यो भने के होला ? के त्यो आँधी र बाढीलाई लामाले रोक्न सक्लान् ? त्यसबेला आफ्नो आत्मसम्मान र अस्तित्वका लागि तेक्वान्दोका खेलाडी र पदाधिकारीहरूले आफ्नो छनक देखाए के होला ? त्यसपछि खेलकुदमा अप्रिय घटना घट्यो भने त्यसको जिम्मेवारी लामा र उनको पार्टीले लिन सक्छ ? तर्सथ अहिले कसैको नाडी छाम्ने काम गर्नुभन्दा दूरदर्शी भएर कार्य गर्नु नै समग्र खेलकुदका लागि हितकर हुनेछ । अन्यथा कमिलाले मर्ने बेलामा प्वाँख हालेझैं लामाको पनि खेलकुदमा हरिविजोग नहोला भन्न सकिँदैन ।

प्रधानमन्त्रीलाई मानार्थ नवौँ डान
राष्ट्रिय तेक्वान्दो युनियनले प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईलाई मानार्थ नवौँ डानका साथै प्रशंसापत्र प्रदान गरी सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् -राखेप) हातामा आयोजित एक कार्यक्रमबीच तेक्वान्दोका चिफ ग्रान्ड मास्टर दक्षिण कोरियाका जे.के. सिनले प्रधानमन्त्री भट्टर्राईको डानको प्रमाणपत्र प्रधानमन्त्रीकी धर्मपत्नी एवम् सभासद् हिसिला यमीलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा सभासद् यमीले प्रधानमन्त्री कार्यव्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसक्नुभएको जानकारी गराएकी थिइन् । त्यस्तै युनियनले युवा तथा खेलकुदमन्त्री कमला रोकालाई आठौँ, राखेप सदस्यसचिव युवराज लामालाई सातौँ तथा सभासद् चन्द्रबहादुर थापालाई मानार्थ पाँचौँ डानको प्रमाणपत्रका साथै प्रशंसापत्रद्वारा सम्मान गरेको थियो । सोही अवसरमा युनियनले सिनलाई पनि सम्मान गरेको थियो ।

खुला एथलेटिक्समा १३ स्पर्धा
नेपाल एमेच्योर एथलेटिक्स सङ्घको आयोजनामा राष्ट्रिय खुला एथलेटिक्स प्रतियोगिता हुने भएको छ । मङ्सिर १७ गतेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त प्रतियोगितामा १३ स्पर्धामा प्रतिस्पर्धा हुने भएको छ । जसमा पुरुषतर्फ सात तथा महिलातर्फ ६ स्पर्धा सामेल रहेका छन् । पुरुष र महिलातर्फ प्रतिस्पर्धा हुनेे स्पर्धामा सय मिटर, चार सय मिटर, एक हजार पाँच सय मिटर र पाँच हजार मिटर दौड तथा हाइजम्प र ज्याभलिन थ्रो रहेका छन् । पुरुषतर्फ समावेश एक बढी स्पर्धामा हाफ म्याराथन हो ।

क्रिकेटका पूर्वअध्यक्ष संरक्षकमा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ०६८ कात्तिक ७ गते गठित टंक आङबुहाङको अध्यक्षतामा बनेको नेपाल क्रिकेट सङ्घ -क्यान) मा हालै संरक्षक, सल्लाहकार, उपाध्यक्ष र थप सात सदस्य मनोनीत गरेको छ । क्यानको यस तदर्थ समितिलाई आफ्नो गतिविधि सञ्चालनार्थ सहज होस् भन्ने कुरालाई मध्यनजर राखी राखेपले सङ्घलाई विस्तार गरेको बताएको छ । जसअनुसार क्रिकेट सङ्घका पूर्वअध्यक्ष विनयराज पाण्डेलाई सङ्घको संरक्षकमा मनोनयन गरिएको छ । पाण्डेलाई क्यान केन्द्रीय कार्यसमितिलाई आर्थिक र अन्तर्राष्ट्रिय समन्वयसम्बन्धी परामर्शसमेत प्रदान गर्ने गरी जिम्मेवारी दिइएको हो । त्यसैगरी सङ्घका संस्थापक अध्यक्ष जयकुमारनाथ शाहलाई क्यानको सल्लाहकारमा र उपेन्द्र भट्टर्राईलाई उपाध्यक्षमा मनोनीत गरिएको छ । त्यस्तै क्रिकेट सङ्घमा थप गरिएका मनोनीत सदस्यहरूमा पवन अग्रवाल, निरञ्जन रिजाल, दीपक कोइराला, धर्मसुन्दर बज्राचार्य, किरणशम्शेर राणा, दिवाकर घले, ठाकुरप्रताप थापा रहेका छन् ।

प्रिमियर र नेसनल च्याम्पियन
नवौँ प्राइम कप बास्केटबल प्रतियोगिताको पुरुष र महिला दुवै समूहमा डिफेन्डिङ च्याम्पियन प्राइम उपाधि रक्षा गर्न असफल भएको छ । महिलाको फाइनलमा प्रिमियरले प्राइमलाई ३२-२९ ले पाखा लगायो । उपाधिसँगै प्रिमियरले प्राइमसँग लिग खेलमा भोगेको हारको बदलासमेत लियो । पहिलो क्वाटरमा प्राइमले ११-९ को अग्रता लिए पनि बाँकीका सबै क्वाटरमा प्राइम पछाडि परेको थियो । दोस्रोमा प्रिमियरले ८-६ स्कोर गर्दै खेललाई १७-१७ को बराबरी स्थितिमा पुर्‍यायो । तेस्रो क्वाटर प्रिमियरले ६-४ ले आफ्नो पक्षमा पार्‍यो । चौथोमा ९-८ अङ्क जोड्दै प्रिमियरले उपाधि चुम्यो । प्रिमियरको जितमा सुजाता र्राईले नौ अङ्कको योगदान दिएकी थिइन् । प्राइमकी नयना शाक्यले सर्वाधिक १२ स्कोर गरे पनि जितका लागि पर्याप्त भएन ।
पुरुषको उपाधि भिडन्तमा नेसनलले प्राइमको चुनौती ५६-४२ ले समाप्त पारेको थियो । सुरुवातमा १७-१२ ले अगाडि बढेको नेसनलले दोस्रो क्वाटरमा ७-६ को अग्रता लिएको थियो । तेस्रोमा नेसनल १२-१३ को झिनो अन्तरले पछि पर्‍यो । चौथोमा २०-११ स्कोर गर्दै नेसनलले जित सुनिश्चित गर्‍यो । नेसनलका विकास गुरुङले १९ तथा प्राइमका आयुष सिंहले २० अङ्क बटुले । पुरुषमा नेसनलका प्रजुन पोखरेल तथा महिलामा प्रिमियरकी अनुष्का मल्ल मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । प्राइम कलेजद्वारा आयोजित प्रतियोगिताअर्न्तर्गत पुरुषमा १६ तथा महिलामा ६ टिम सहभागी थिए ।

राष्ट्रिय प्रतियोगितामा ३१ खेल
राष्ट्रिय खेलकुद परिषद्को ८४औँ बोर्ड बैठकले आगामी फागुन १४ देखि २१ गतेसम्म सुदूरपश्चिममा सञ्चालन हुने छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ३१ वटा खेल समावेश गर्ने निर्णय गरेको छ । उक्त प्रतियोगितामा सहभागी गराइने ३१ खेलमा एथलेटिक्स, फुटबल (पुरुष/महिला), भलिबल (पुरुष/महिला), पौडी, जुडो, कबड्डी (पुरुष/महिला), कराते, ब्याडमिन्टन, बक्सिङ (पुरुष/महिला), बास्केटवल (पुरुष/महिला), क्रिकेट (पुरुष/महिला), चेस, भारोत्तोलन (पुरुष/महिला), शारीरिक सुगठन, हक्की, तेक्वान्दो, कुस्ती, लनटेनिस, सफ्टटेनिस, टेबुलटेनिस, आर्चरी, जिम्न्यास्टिक, उसु, गल्फ, विलियर्ड तथा स्नुकर, सुटिङ, पौडी, स्क्वास, आईटीएफ तेक्वान्दो, फुलकन्ट्याक कराते र साइक्लिङ छन् ।
राष्ट्रिय खेलकुद परिषद्द्वारा सुदूरपश्चिमाञ्चल क्षेत्रमा सञ्चालन गरिने छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफलतापूर्वक सञ्चालन गर्न प्रधानमन्त्री बाबुराम भट्टर्राईको संरक्षकत्व र माननीय युवा तथा खेलकुदमन्त्री कमला रोकाको अध्यक्षतामा तीन सय ७६ सदस्यीय मूल आयोजक समिति र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवको अध्यक्षतामा २५ सदस्यीय कार्यकारी समिति गठन गरिएको छ । त्यस्तै राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मस्कट छानिनुका साथै सुदूरपश्चिमाञ्चल क्षेत्रमा लोकप्रिय जनावरका रूपमा लिइने बाह्रसिंगे -जरायो) लाई मस्कटका रूपमा प्रयोग गर्ने निर्णय गरिएको छ ।
यसैगरी परिषद्मा कार्यरत कर्मचारीको विशेष बढुवा सम्बन्धमा निजामती सेवा ०४९ को दफा २४ घ २ मा भएको व्यवस्थाबमोजिम सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयमा उक्त ऐनबमोजिम योग्यता पुगेका विभिन्न श्रेणी तथा श्रेणीविहीन कर्मचारीको विशेष बढुवामार्फत स्तरवृद्धि -बढुवा) भइसकेको र राष्ट्रिय खेलकुद परिषद्मा पनि श्रेणीविहीन कर्मचारीको उक्त ऐनको दफा २४ -घ) २ बमोजिम स्तरवृद्धि भएको तर श्रेणीविहीनभन्दा माथिल्लो तहका कर्मचारीको बढुवा नभएको हुँदा सोही नियमबमोजिम विशेष बढुवा गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ । परिषद्अर्न्तर्गत दैनिक ज्यालादारीमा कार्यरत कार्यालय सहयोगी,पाले, कुचीकारहरूलाई परिषद्को आन्तरिक स्रोतबाट तलबभत्ता उपलब्ध गराउने गरी मासिक ज्यालादारीमा कामकाज गराउने निर्णय गरिएको राखेपले प्रेस विज्ञप्तिमा जनाइएको छ ।

सैनिकलाई क्रिकेट उपाधि
वीरेन्द्र सैनिक आवासीय महाविद्यालयले प्रथम भीओसी इन्डो-नेपाल टी- २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित ल्याबोरेटरी उमाविको मैदानमा भएको फाइनलमा सैनिकले भारतको फरिदावादस्थित रायन इन्टरनेसनल स्कुलको ‘ए’ टिमलाई ६ विकेटले पराजित गरेको थियो । फाइनलमा पहिला ब्याटिङ गरेको रायनले २० ओभरमा पूरै विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । जवाफमा सैनिकले १९.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटाउन सफल भएको थियो । सैनिकका निरोज श्रेष्ठ म्यान अफ द म्याच बने । उनले २२ रन बनाउनुका साथै दुई विकेट पनि हात पारेका थिए । रायनका सुदिल सिंहले ३२ रन जोडे । भ्वाइस अफ चिल्ड्रेनद्वारा आयोजित प्रतियोगितामा नेपालका चार र भारतका तीन गरी सात टिम सहभागी थिए ।