समर्पण किशोरमा -सरस्वती श्रेष्ठ

समर्पण किशोरमा -सरस्वती श्रेष्ठ


बहुचर्चित पत्रकार (सम्पादक, जनआस्था) किशोर श्रेष्ठकी जीवनसङ्गिनी सरस्वती श्रेष्ठ एक प्रतिभाशाली नारी हुनुहुन्छ । गायन कलामा निपुण, सुमधुर आवाजकी धनी भएर पनि अहिलेसम्म आफ्नो प्रतिभा सार्वजनिकीकरण गर्न तत्परता नलिनुहुने स्रस्वती तथा किशोरले गत साता -वैशाख २९ गते बुधबार) मात्र आफ्नो शुभविवाहको पन्ध्रौं वर्ष पूरा गर्नुभएको छ । उक्त शुभ दिनका अवसरमा आफ्ना पति किशोरमा सरस्वतीले समर्पण गर्नुभएको यो मर्मस्पर्शी कविता यहाँ प्रकाशित गरिएको छ ।
निधारमा रातो टीका
आँखामा गाजल होस्
ओठमा रातै लाली होस् मेरो
गलामा पोते होस्

सिउँदोमा मेरै बिहेको सिन्दुर
त्यही फुर्के धागो होस्
चौबन्दी रातो फरिया रातो
सबै थोक रातो होस्

हात होस् उनकै अञ्जुलीभरि
पानी त्यो लिएर
यो सास मेरो रोकिए हुन्थ्यो
त्यही पानी पिएर

काँधमा बोकून् उनैले मेरो
शवको अर्थीलाई
यहीँ मर्न पाऊँ हेरेर आँखा
नेपाली धरतीलाई

चिता बनाई दागबत्ती दिने
उनकै हात होस्
अन्तिम घडी यो शून्य कोखको
आभाष नहोओस्

बाँचुन्जेल सधैं शौभाग्यवती
भएर बाँच्न पाऊँ
हातमा राता काँचका चुरा
लगाई मर्न पाऊँ

गजल- बलराम उपाध्याय
जनतन्त्र आ’को भन्छन्, कता आ’को थाहा छैन
छाप्रा-छाप्री कटेरामा, गाँसबास गा’को छैन

बुढेसकालको लाठी थियो, माथ्लोघरे माइलो
समानताको झ्याली पिट्थ्यो तल्लाघरे काहिँलो
आमाको त्यो मुहारमा खुसी अझै आ’को छैन

माइतीविहीन भए चेली, कोही भए विधवा
दूधेछोरो सोध्छ अझै कहिले आउँछन् मेरा बा ?
मार्छु-मार्छु भन्छौ अझै चेत तिम्रो आ’को छैन

भोगविलास तिम्रो लक्ष्य, दौंतरीलाई बीचमै छोड्यौ
आफ्नो बारी बँझ्याएर पराइको आँगन गोड्यौ
रगतको होली खेल्ने विचार तिम्रो गा’को छैन
राष्ट्रियता तिमीभित्र अझै पनि आ’को छैन