भारतले भन्यो सकिँदैन

भारतले भन्यो सकिँदैन


बाह्रौँ साग अनिश्चितताको घेरामा
सन् २०१२ मा छिमेकी राष्ट्र भारतमा आयोजना हुन गइरहेको १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता -साग) अनिश्चितकालका लागि र्सर्ने भएको छ । आगामी जनवरीमा आयोजना हुने १२औँ सागको आयोजना गर्नबाट किन भारत पछि हट्यो, त्यसको स्पष्ट जानकारी नआए पनि भारतले उक्त प्रतियोगिता तोकिएको समयमा गर्न नसक्ने भनी नेपाल ओलम्पिक कमिटीलाई मौखिक जानकारी गराएको छ । प्राप्त जानकारीअनुसार भारतले सन् २०१२ मा बेलायतको राजधानी लन्डनमा आयोजना हुने ओलम्पिक प्रतियोगितालाई विशेष महत्त्वले हेरेको र कमनवेल्थ गेमलाई भ्रष्टाचारले गाँजेको हुनाले सागलाई केही समयका लागि थाती राखेको बुझिएको छ । जसले गर्दा अब १२औँ साग कम्तीमा पनि एक वर्ष पछि धकेलिने पक्कापक्कीजस्तै भएको छ ।
१२औँ सागको अनिश्चितताबारे नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले भारतले तोकिएको समयमा साग गर्न नसक्ने आफूलाई मौखिक जानकारी गराएको बताए । अध्यक्ष प्रधानले यो मौखिक जानकारी मात्रै भएको र जबसम्म मिटिङ बसेर निर्णय गरिँदैन तबसम्म केही भन्न सकिँदैन भने । साथै प्रधानले यो महिनाभित्रै आफूहरूबीच बैठक बस्ने कुराको जानकारी गराउँदै उक्त बैठकले सबै कुराको छिनोफानो गर्ने बताए । भारतको कुरा सुन्दा उनीहरूले तोकिएको समयमा १२औँ साग गर्न नसक्ने लगभग पक्कापक्की भएकोले आफूहरूले १२औँ साग सन् २०१२ मा नै आयोजना गर्न दबाब दिने बताए । र, पनि यो सबै आयोजक देशमा निर्भर पर्ने कुरा भएकोले उनीहरूको निर्णय नै सर्वोपरि हुने खुलासा गरेका थिए ।
भारतले १२औँ साग तोकिएको समय गर्न नसक्ने बताएपछि अहिले उक्त प्रतियोगिताका लागि दिनरात एकै बनाएर प्रशिक्षणमा होमिएका नेपाली खेलाडीमाथि ठूलो कुठाराघात भएको छ । पहिलोपटक ‘मिसन साग २०१२’अर्न्तर्गत रहेर समयमै सागको प्रशिक्षणमा जुटेका खेलाडीका लागि भारतको यो निर्णयले अन्योलमा पारिदिएको छ । जसले गर्दा आगामी सागमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको चाहनामा तुषारापात भएको छ । नेपालको खेलकुद इतिहासमै पहिलोपटक व्यवस्थित र दूरगामी प्रभावलाई आत्मसात् गर्दै योजनाबद्ध तरिकाले प्रशिक्षणको व्यवस्था गरिए पनि नेपाली खेलाडीका लागि भने दुर्भाग्य सावित भएको छ । अर्को शब्दमा भन्नुपर्दा ‘अभागी दिसा गर्न बस्यो एक हातको लौरो पस्यो’ जस्तै भएको छ । मुलुक सङ्क्रमणकालको अवस्थामा गुज्रिरहे पनि यसपटक सागको तयारीमा कुनै कसर बाँकी राखिएको थिएन । तर, नेपाली खेलाडीको दुर्भाग्य, सागको अनिश्चितताले गर्दा भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने स्थितिको सिर्जना भएको छ ।
१२औँ सागको अनिश्चितताले नेपालको तयारीमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्नमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले यसले निकै जटिल समस्या निम्त्याउने बताएका छन् । सदस्यसचिव लामाले १२औँ साग र्सर्ने समाचार आफूले पनि सुनेको तर यसको आधिकारिक जानकारी परिषद्मा आइनसकेको बताए । लामाले यो कुरा पुष्टि भएपछि सोहीबमोजिम कदम उठाउने पनि बताए । लामाले वर्तमान अवस्थामा नेपाली खेलाडी सागको विशेष तयारीमा जुटेका र त्यसैमा अर्जुनदृष्टि लगाएको बेलामा यस्तो समाचार आउनु निकै पीडादायक भएको सुनाए । अब सागको मिति कहिले तोकिन्छ ? त्यसको प्रतीक्षामा आफू बसेको बताउँदै लामाले सोहीअनुरूप खेलाडीहरूको प्रशिक्षण अगाडि बढ्ने जानकारी गराएका थिए । लामाले सागको अनिश्चितताले खेलाडीको प्रशिक्षणमा नकारात्मक प्रभाव पर्ने बताउँदै यो अहिले सबैका लागि टाउको दु:खाइ बनेकोसमेत प्रष्ट पारेका थिए ।
१२औँ सागको अनिश्चितताले खेलाडीको मनोविज्ञानमा कस्तो असर पर्ला भन्ने जिज्ञासामा खेलकुद मनोविज्ञ रमेश खनालले यसले खेलाडीहरूमा ‘नैराश्यता’ ल्याउने बताएका छन् । खनालले यस्तो स्थिति पैदा हुँदा तयारीमा बसेका खेलाडीको प्रदर्शनमा नकारात्मक प्रभाव पर्ने खुलासा गरे । आफ्नो लक्ष्य बनाएर प्रशिक्षण गरिरहेका खेलाडीका लागि यो दुस्वप्नजस्तै हुन्छ । उनीहरू म्ाानसिक रूपमा विचलित हुन्छन् । प्रतियोगिता सरिहाल्यो, अब प्रशिक्षण गरेर के हुन्छ ? भन्नेजस्ता गलत धारणाको विकास हुन्छ, जसले गर्दा पछि ती खेलाडीलाई आफूलाइ मेन्टन गर्न निकै गाह्रो हुन्छ । यस्तो अवस्थामा खेलाडी ड्रि्रेसनको सिकार पनि हुन सक्छन् । खनालले यसले खेलाडीहरूलाई मात्र नभई सहभागी राष्ट्रसमेतलाई हतोत्साही बनाउने बताएका छन् । प्रतियोगिता र्सदा लगानी र मिहिनेत बढ्ने भएकोले विश्वासको सङ्कट पनि पैदा हुने स्पष्ट पारेका छन् ।
दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) र्सर्नु कुनै नौलो कुरा नभए पनि भारतले तोकिएको समयमा गर्न नसक्ने जानकारी दिनु भने अहिले नौलो कुरो भएको छ । नेपाल, बंगलादेश, श्रीलङ्का, पाकिस्तान, अफगानिस्तान, माल्दिभ्स र भुटानले भौतिक पूर्वाधारको कमी र अन्य कारण देखाएर समयमै आयोजना गर्न नसक्नुलाई सामान्य रूपमा लिन सकिन्थ्यो । तर, भारतजस्तो खेलकुदमा सुविधासम्पन्न राष्ट्रले बिनाकारण सागलाई अनिश्चितताको बन्दी बनाउन कदापि सुहाउँदैन । यो अपाच्य कुरो पनि हो । भारतले चाह्यो भने एक महिनाभित्र पनि सागको आयोजना गर्न सक्छ । तर, विडम्बना, ‘साग’ भारतबाहेकका राष्ट्रका लागि ओलम्पिकसरह भए पनि भारतका लागि भने कुनै अर्थ राख्दैन । तर्सथ भारतका लागि साग ‘बाँदरको पुच्छर लौरो र हतियार’ जस्तै बन्दै गएको छ । सागको आयोजना अन्य राष्ट्रका लागि गौरवको विषय बने पनि भारतका लागि भने बाध्यता मात्रै बन्दै आएको छ । यो प्रतियोगितामा उसको जित र हारले कुनै प्रभाव पार्दैन । शुभारम्भदेखि नै भारतीय खेलाडीका लागि प्रतिभा जाँच गर्ने थलोको रूपमा साग प्रयोग हुँदै आएको कसैबाट छिपेको छैन । तर्सथ सागले भारतका लागि कति माने राख्छ त्यो सोझै अडकल र अनुमान लगाउन सकिन्छ । यस्तो अवस्थामा भारतलाई साग आयोजना हुनु-नहुनेले केही फरक पर्दैन । तर, सहभागी अन्य मुलुक जुन राज्यसँग गिडगिडाएर सीमित बजेटको भरमा प्रशिक्षण गरिरहेका हुन्छन् ती राष्ट्रका खेलाडीलाई भने यस्तो निर्णयले निकै प्रभाव पारेको हुन्छ । अहिले जसको सामना नेपाललगायत अन्य ६ राष्ट्रले भोग्नुपर्ने प्राय: निश्चित छ ।

एथलेटिक्सको वार्षिक कार्यक्रम
नेपाल एमेच्योर एथलेटिक्स सङ्घले आ.व. २०६८/६९ को वार्षिक कार्यक्रम हालै सार्वजनिक गरेको छ । सो कार्यक्रमअनुसार ०६८ मङ्सिर १५ र १६ मा काठमाडौंमा एथलेटिक्स टेक्निकल कोर्स, १७ गते खुल्ला एथलेटिक्स प्रतियोगिता -नगद पुरस्कारसहित), पुस २ गते डीकेएसएफ ओपन मास्टर्स एथलेटिक्स प्रतियोगिता गर्ने जानकारी गराएको छ । त्यस्तै आगामी फागुन १४-२१ धनगढीमा ३७औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता, चैत २५ काठमाडौं विद्यालयस्तरीय एथलेटिक्स ओरिएन्टेसन कोर्स, २०६९ वैशाख २३ गते काठमाडौंमा कलेजस्तरीय एथलेटिक्स प्रतियोगिता र जेठ २१ गते पोखरामा नेसनल क्रसकन्ट्री च्याम्पियनसिप (जुनियर/सिनियर) गर्ने जनाएको छ । सो वार्षिक कार्यक्रम तथा अन्य क्रियाकलापबारे सङ्घका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले जानकारी गराएका थिए । सोही अवसरमा खेलकुदविज्ञ दिवाकरलाल अमात्यद्वारा तयार गरिएको ‘नेपाल एथलेटिक्स स्टाटास्टिक’ नामक पुस्तक राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले विमोचन गर्नुभएको थियो । उक्त अवसरमा अमेरिकामा रहेकी आशया राजभण्डारीको सहयोगमा सङ्घका महासचिवमार्फत नेपाली एथलिट प्रमिला रिजाल, हरिकुमार रिमाल, केशरी चौधरी र सविता चौधरीलाई दगुर्ने जुत्ता (स्पाइक) उपहार प्रदान गरिएको थियो ।

राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसिप हुने
द हिमालयन चेस क्लबले आफ्नो दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आउँदो मङ्सिर ६ गतेदेखि १० गतेसम्म प्रथम राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसिप आयोजना गर्ने भएको छ । विश्व बुद्धिचाल महासङ्घ, एसियन चेस फेडेरेसन र नेपाल बुद्धिचाल सङ्घको स्वीकृतिमा सञ्चालन हुने यस प्रतियोगिताका विजेताले एसियन एमेच्योर र बर्ल्ड एमेच्योर च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछन् । प्रतियोगितामा फिडेको नियमानुसार पछिल्लो दुई वर्षमा १९९९ वा सोभन्दा कम रेटेड खेलाडीले मात्र भाग लिन पाउने छन् । त्यस्तै फिडे उपाधि प्राप्त, नेपाल च्याम्पियन र ओलम्पियाड खेलाडीले यो प्रतियोगितामा भाग लिन पाउने छैनन् । प्रतियोगितामा फिडे रेटिङसहित स्विस लिगअनुसार नौ चरणको खेल पूर्णचण्डी मन्दिर घर, गाबाहाल, ललितपुरमा सञ्चालन हुनेछन् । जसमा विजेतालाई आकर्षक चेस ट्रफीसहित पाँच हजार, दोस्रोलाई तीन हजार, तेस्रोलाई दुई हजार, चौथौ र पाँचौँ तथा अनरेटेडतर्फ उत्कृट खेलाडीलाई जनही एक हजार पाँच सय नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै अन्य उत्कृष्ट दशौँ स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय स्ट्यार्न्र्डडको चेस सेट प्रदान गरिनेछ । यस प्रतियोगितामा देशभरबाट ७० जना एमेच्योर खेलाडी सहभागी जनाउने क्वले जानकारी गराएको छ । जसमध्ये उपत्यकाबाहिरबाट आउने खेलाडीलाई आयोजकले नि:शुल्क आवासको व्यवस्था गरेका छ । यस्तै प्रतियोगिता सञ्चालनार्थ अनुमानित एक लाख पचास हजार रुपैयाँ खर्च लाग्ने आयोजक हिमालयन क्लबले जनाएको छ ।

राखेपद्वारा उसु सङ्घ पुनर्गठन
राष्ट्रिय खेलकुद परिषद् हालै नेपाल उसु सङ्घको पुनर्गठन गरेको छ । राखेपले उक्त सङ्घमा रहेका पदाधिकारी एवम् सदस्यहरूमा हेरफेर र थपघट गरी समायोजन गर्न आवश्यक देखिएकोले पुनर्गठन गरेको बताएको छ । साथै पुनर्गठित सङ्घले ६० दिनभित्र साधारणसभा र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गराउने गरी खेलकुद विकास नियम २०४९ को परिच्छेद ३ को नियम १० को ‘ग’को प्रावधानअनुसार तपसिलमा उल्लेखित पदाधिकारी एवम् सदस्यहरू रहने गरी नेपाल उसु सङ्घ पुनर्गठन गरिएको जानकारी गराएको छ । पुनर्गठित नेपाल उसु सङ्घका पदाधिकारीहरूमा आङ डेण्डी शेर्पा संरक्षक, दीपक सरकार अध्यक्ष, इन्द्रबहादुर थिङ प्रथम उपाध्यक्ष, वीरबहादुर तामाङ, चन्द्र तामाङ, दीपक लामा, जनकप्रसाद बर्तौला र राजीव महर्जन उपाध्यक्षमा रहेका छन् भने प्रणिलध्वज कार्की महासचिव, प्रताप थापा सचिव, नानीबाबु तामाङ कोषाध्यक्ष रहेका छन् । त्यसैगरी सदस्यहरूमा कुसुमकुमारी श्रेष्ठ, सुरेन्द्र लामा, राजु हमाल, सत्मान योञ्जन, राम जोशी, श्यामकृष्ण श्रेष्ठ, वसन्त श्रेष्ठ, राजु श्रेष्ठ, विकास श्रेष्ठ, युवराज गुरुङ, राजन खड्का (लोकबहादुर), विकास श्रेष्ठ (काभ्रे), सुश्री रती लामा रहेका छन् ।

टी-२० नकआउट क्रिकेट प्रतियोगिता
मोहम्मद स्पोर्टस् क्लब पर्साले नेपाल र भारतका स्थानीय क्रिकेट खेलाडीको उच्च मनोबल तथा प्रोत्साहन र हौसला बुलन्द राख्नका लागि वीरगञ्जको नारायणी रङ्गशालामा टी-२० नकआउट क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । सो नकआउट क्रिकेट प्रतियोगितामा पर्सा, बारा तथा भारतका विभिन्न क्लबको सहभागिता रहने भएको छ । उक्त प्रतियोगिता मङ्सिर ८ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कुरा क्लब पर्साका अध्यक्ष फिरोज मन्सुरले जानकारी गराएका छन् । उक्त खेल क्रिकेटमैदानमा नेसनल अम्पायरद्वारा दिउँसो ३ बजेदेखि बेलुकी ६ बजे र बेलुकी ७ बजेदेखि राति १० बजेसम्म सञ्चालन गरिने कुरा क्लबका उपाध्यक्ष जाबेद आलमले बताए । सो टी-२० नकआउट क्रिकेट प्रतियोगिताको आयोजना गर्न रु. पाँच लाख ५५ हजार खर्च हुने र भाग लिने २४ वटा क्रिकेट टिमसँग रु. तीन लाख ६० हजार मात्र रकम सङ्कलन हुने र बाँकी एक लाख ९५ हजार दातालगायत खेलप्रेमीहरूसँग सहयोगको रूपमा उठाइने जानकारी दिइएको छ ।