अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक रिहा

अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक रिहा


संयुक्तराज्य अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक मुक्त भएर स्वदेश फर्किरहेका इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले बताएका छन् । मन्त्री जरिफले इरानी वैज्ञानिक डा. सिरोज असगरी सवार बिमान अमेरिकाबाट इरानका लागि प्रस्थान गरिसकेको जानकारी दिए ।

अमेरिकाको ओहायोमा प्राज्ञिक कामको सिलसिलामा भ्रमणमा रहेको बेला सन् २०१६ मा डा. असगरीमाथि अमेरिकी व्यापारिक गोपनीयता चोरी गरेको अभियोगमा पक्राउ गरिएको थियो ।

तेहरानको शरिफ प्रविधि विश्वविद्यालयका ५९ वर्षीय वैज्ञानिक डा. असगरलाई गत नोभेम्बरमा अमेरिकी एक अदालतले छाड्ने आदेश दिएको थियो ।

गत मार्चमा बेलायती अखबार दी गार्डियनले डा. सिरोजले आफूलाई अत्यावश्यकीय सरसफाईका सामान समेत नदिई लुजिआनास्थित अध्यागमनको थुनामा राखिएको भन्दै अन्तर्वार्ता दिएका थिए ।

सोमबार (१ जुन) इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसभीले डा. असगरीमाथिको मुद्दा टुंगिएको जानकारी दिएका थिए । इरान र संयुक्तराज्य अमेरिका दुबैले एकअर्का मुलुकका केही नागरिकलाई बन्दी बनाएर राखेका छन् ।

इरानमा हालसम्म पनि कम्तीमा पाँच जना अमेरिकी नागरिक थुनामा छन् भने अमेरिकामा कम्तीमा १९ जना इरानी बन्दी छन् ।