‘नेपालको सहमतिविना सम्झौता गरेकोमा चीनले आत्मसमीक्षा गर्न जरुरी’

‘नेपालको सहमतिविना सम्झौता गरेकोमा चीनले आत्मसमीक्षा गर्न जरुरी’


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमा विवाद कूटनीतिक पहलबाट समाधान गर्न आग्रह गर्नुभएको छ । राष्ट्रियसभा बैठकको विशेष समयमा उहाँले नेपालको भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकको भूमि विवादको समस्या कूटनीतिक पहल र वार्ताद्वारा समाधान खोज्न आग्रह गर्नुभएको हो ।

‘भारतीय कूटनीतिक, राजनीतिक तथा विद्वानबाट वार्ताद्वारा समस्याको ऐतिहासिक तथ्यका आधारमा समाधान खोज्नुपर्छ भन्ने कुरा आएको छ’, सांसद श्रेष्ठले भन्नुभयो, ‘नेपालको चाहना पनि तथ्यकै आधारमा वार्तामार्फत भूमिका विषयमा समाधान खोज्नुपर्छ भन्ने नै हो ।’

सांसद श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक एवं आध्यात्मिक व्यक्तित्व भएको उल्लेख गर्दै भन्नुभयो, ‘नेपाल तपोभूमि हो, यस बेलामा पशुपतिनाथ, मुक्तिनाथसँग आशीर्वाद लिनुस् र यस्तो तपोभूमि लिनुहुँदैन भनेर निर्णय गर्नुस् ।’

उहाँले इतिहासको सत्य र तथ्यका आधारमा वार्ता गरी छिमेकीसँगको सुमधुर सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

‘नेपालको चीनसँग असल छिमेकीको सम्बन्ध छ, उसले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा असर पुऱ्याउने काम गरेको छैन तर नेपालको लिपुलेक भएर व्यापारिक र आध्यात्मिक मार्ग बनाउने सम्झौता चीन र भारतले नेपालको सहमतिविना गरे, चीनले त्यसमा आत्मसमीक्षा गर्न जरुरी छ”, सांसद श्रेष्ठले भन्नुभयो, ‘हामी चीनसँगको उदाहरणीय सम्बन्धलाई कुनै पनि कोणबाट कमजोर नहोस् भन्ने चाहन्छौाँ ।’