कोरोनासँग जुध्न एडिबीले सघाउने

कोरोनासँग जुध्न एडिबीले सघाउने


कोरोनासँग जुध्नको लागि भन्दै एशियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई झण्डै ३० अर्ब बराबरको ऋण उपलब्ध गराएको छ ।

अर्थमन्त्रालयका सोमबार (१९ जेठ) आयोजित ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाको पनि उपस्थिति थियो ।

सो ऋण रकम सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड–१९ का कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा प्रयोग गरिने बताइएको छ । गरिब र विपन्न वर्गका लागि सामाजिक संरक्षण कार्यक्रम विस्तार गर्न र तीव्र आर्थिक पुनःउत्थानमा जानसमेत उक्त रकम उपयोगी हुने एडिबीको तर्क छ ।

कोरोना कहरले सार्वजनिक स्वास्थ्यमा समस्या सिर्जना गरेको र नेपालको सामाजिक र आर्थिक विकासमा गहिरो असर गरेको छ । नेपालले कोभिड–१९ एक्टिभ रेस्पोन्स एण्ड एक्स्पेन्डिचर सहायता (सिएआरइएस) कार्यक्रमअन्तर्गत एडिबीबाट सो ऋण सहायता पाएको हो । ऋण सहयोगबाट सरकारले सातवटै प्रदेशमा कम्तीमा दुई लाख क्वारेन्टिन निर्माण गर्न र दैनिक तीन हजार मानिसको कोरोना परीक्षण गर्न सक्ने दाबी गरिएको छ ।