तालिबान समूहको नेतृत्व मुल्लाह उमरका छोराको काँधमा

तालिबान समूहको नेतृत्व मुल्लाह उमरका छोराको काँधमा


अफगान तालिबान समूहका संस्थापक मुल्लाह ओमरका छोरा मुल्लाह याकूबले तालिबान समूहको नेतृत्व सम्हालेका छन् । समूहका नेताहरुबीच नेतृत्वको विषयलाई लिएर सहमति जुट्न नसकेपछि याकूबलाई अन्तरिम नेतृत्व हस्तान्तरण गरिएको अफगान स्रोतलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

बताइएअनुसार तालिबानका कतिपय वरिष्ट सदस्यहरु कोरोनाभाइरसका कारण बिरामी परेका कारणले पनि याकूबलाई नेतृत्व दिइएको हो ।

अफगानिस्तानका पूर्व राष्ट्रिय गुप्तचर विभागका प्रमुख रहमतुल्लाह नबिलले हाल मुल्लाह याकूबले तालिबान आन्दोलनको नेतृत्व गरिरहेको दाबी गरेका छन् । उनले समूहको कतारको दोहास्थित कार्यालयका कतिपय सदस्यहरु कोरोनाभाइरस संक्रमित भएका र उनीहरु पाकिस्तान फर्किएको पनि बताएका छन् ।

गत फेब्रुअरीमा तालिबानसँग अमेरिकाले गरेको सम्झौताको कार्यान्वयन तथा अफगान सरकारसँगको वार्ताको महत्वपूर्ण क्षणमै तालिबान समूहको नेतृत्वमा संकट उत्पन्न भएको बताइन्छ ।

तालिबान समूहको उच्च नेतृत्वमा कुनै किसिमको विभाजन र असहमति देखा परे कमजोर अफगान शान्तिवार्ता नै धरापमा पर्न सक्ने आँकलन गरिएको छ । अमेरिकाले तालिबानसँगको सम्झौताबमोजिम आफ्ना सैनिक फिर्ता गर्न थालको भए पनि तालिबान र अफगान सरकारबीच शान्तिवार्ता शुरु हुन सकेको छैन ।

एजेन्सीहरुका अनुसार ओमरका मुख्य सहयोगी एवं महत्वपूर्ण तालिबान नेता हैबातुल्लाह अखुनजादा केही हप्तादेखि कुनै पनि बैठकहरुमा देखापरेका छैनन् । उनको स्थानमा हक्कानी नेटवर्ककका सिराजुद्दीन हक्कानीले नेतृत्व गरिरहेका छन् । यो समूहको सम्बन्ध पाकिस्तानस्थित इस्लामिक स्टेटको अलकायदा समूहसँग सम्पर्क रहेको मानिन्छ ।

इस्लामिक स्टेटको चाहना तालिबानसँग हक्कानी नेटवर्कको सम्पर्क टुटाएर पुनः अतिवादी जिहादी क्रियाकलाप शुरु गर्नु हो । नबिलका अनुसार तालिबानको राजनीतिक कार्यालयमा परिवर्तन हुने क्रम जारी रहेको छ ।

पछिल्लो समय मुल्लाह याकूब पनि तालिबानको शीर्ष नेतृत्व सम्हाल्ने गरी तयारी गरिरहेका थिए । उनका बाबु मुल्लाह ओमरको सन् २०१५ मा निधन भएको थियो । याकूबलाई सन् २०१६ मा अफगानिस्तानका ३४ मध्ये १५ वटा प्रान्तको सैनिक आयोगको नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो ।

तालिबान समूहले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासनसत्ता सम्हालेको थियो । तर सन् २००१ मा अफगानिस्तानमा लुकेर बसेका ओसामा बिन लादेनले अमेरिकामा भिषण हमला गरेपछि प्रतिशोधमा अफगानिस्तानमाथि अमेरिकाले आक्रमण गरी तालिबानलाई सत्ताच्यूत गरेको थियो ।

तालिबान समूहले त्यसयता अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाविरुद्ध सशस्त्र संघर्ष गरिरहेको छ ।