हाम्रा सेलिब्रेटी, युट्यूबर र युट्यूबका शीर्षक

हाम्रा सेलिब्रेटी, युट्यूबर र युट्यूबका शीर्षक


■ राजन घिमिरे

सेलिब्रेटी ! आफैंमा उच्च, सम्मानजनक, प्रतिष्ठित र गरिमामय शब्द हो यो । शानदार भाव र उच्चतम विशेषतालाई परिभाषित गर्दछ यस शब्दले । यो शब्दबाट परिचित हुनु या कतैबाट सम्बोधित हुन पाउनु पनि कम गौरवको कुरा होइन । तर, के हाम्रा सेलिब्रेटीहरूले चाहिँ यसको महत्व बुझेका छन् त ? वा आफूले पाएको परिचय र सम्मानको लाज राखेका छन् त सेलिब्रेटीहरूले ? सेलिब्रेटीको मापदण्ड र दायरा के हो ? शब्द आफ्नो नामसँग जोडिएपछि सेलिब्रेटी शब्दको इजज्जत राख्न र यसको मर्यादा नतोड्न हाम्रा सेलिब्रेटीहरूले कत्तिको मिहेनत गरेका छन् त ? कत्तिको सामाजिक दायित्व पूरा गरेका छन् त ? यस्ता सवाल समय–समयमा उठ्ने गरेका छन् ।

सेलिब्रेटी भनिएको छ तर त्यसअनुरूपको आचरण छैन । सेलिब्रेटी भनिएको छ, तर सामाजिक दूरी, दायित्व र उपस्थिति वजनदार छैन । उसोभए के हाम्रा सेलिब्रेटी कर्म, त्याग, क्षमता, दक्षता र आफ्नो क्षेत्रप्रतिको लगावले सेलिब्रेटी भएका हुन् ? कि मिडियाको नाममा केही आफन्ती युट्यूबरहरूले उचालेको भरमा ? उनीहरूको ढाडस र वाहवाहीमा आफूलाई सेलिबे्रटी सोचेर नाक फुलाइरहेका त छैनन् ? यो पनि अर्को पाटो हो ।

अब हाम्रा सेलिब्रेटीहरूको के नै बाँकी छ र दर्शकहरूले थाहा पाउन ? यदि तपाईंहरू सेलिब्रेटी हो भने जहिले पनि कौतुहलता जगाएर रहन सक्नु पर्छ । प्रचारका नाममा आफ्ना केही युट्यूबरहरूलाई उक्साएर वा उनीहरूको बहकावमा आफ्ना पारिवारिक, निजी वा गोप्य कुराहरू पनि खोल्नाले अब ती सेलिब्रेटीहरूको वास्तबिकता छर्लंङ्ग भैसकेको छ । जन्मदिनमा मात्र होइन आफ्ना परिवारको श्राद्धमा पनि घरमा खिच्न बोलाउने, सस्तो चर्चाको लागि भान्छा र बेडरूममा पनि युट्यूबको क्यामरा छिराउन अनुमति दिने अनि युट्यूबरहरूले आफ्नो हेडलाइनमा ‘फलानो र फलानी यस्तो खान्छन्’ ‘यस्तो छ फलानाको भान्छा’ ‘यस्तो छ ट्वाइलेट’ ‘फलानेको ट्वाइलेटमा त यस्तो देखियो, छिटो हेरिहाल्नोस् ? सनसनी.. !’ यस्तै–यस्तै के–के हो के–के लेखिदिन्छन् ।

यस्ता हेडिङ (शीर्षक) र सेलिब्रेटीहरूको आन्तरिक कुरा हेर्ने दर्शकहरू पनि होलान् र युट्यूबरहरूले केही रकम पनि कमाउंलान्, तर यही कुरा बजारमा आउँदा आफ्नो साख र गरिमामा कत्तिको ह्रास आएको छ त ? यसतर्फ हाम्रा सेलिब्रेटीहरूले ध्यान दिएको देखिँदैन । आज त तपार्इंहरूको सम्बन्ध ती युट्यूबरहरूसँग राम्रो होला, उनीहरूले अँगालो मार्लान्, गाला पनि जोड्लान् तर पछि तिनीहरूसँग सम्बन्ध खराब हुँदा तपाईंहरूको आन्तरिक पक्षको बारेमा बाहिर गलत हल्ला गर्ने, तपाईंहरूको उछित्तो काड्ने तिनीहरू नै हुनेछन् । यसतर्फ पनि सोच्ने कि ?

सेलिब्रेटीहरूको केही कुरा, प्रसङ्ग र उपस्थिति गोप्य हुनु नै उसलाई कौतुहलतामा राख्ने मुल कडी हो । तर यहाँ सस्तो चर्चाको लोभमा आफ्ना सबै कुरा खुलस्त पार्न केही सेलिब्रेटीहरू तम्तयार भएका देखिन्छन्, र पछि आफै टाउकोमा हात राख्न विवश भएको देखिएको छ । तपाईंलाई सस्तो लोकप्रियता उपलब्ध गराई दिने केही युट्यूबरहरूसँगको सम्बन्धमा पनि दूरी कायम राख्नुस् । भेट्दा अँगालो मार्ने र गाला जोडेर नजिक देखाउनु भन्दा उनिहरूसँग सीमितताको ब्यवहार गर्नुस् । आज भएभरका सबै कुरा खोल्दा भोलि तपाईंप्रति दर्शकहरूको कौतुहलता के ? तपाईंप्रति दर्शकहरूको चासो किन ? तपाईंहरूको सोझो र शालिन ब्यवहार अनि उपस्थितिको गलत प्रचार र ब्यापार भैरहेको छ । यसतर्फ पनि सेलिब्रेटीहरूले सोच्ने कि ? धेरै सहज हुँदा पनि युट्यूबरहरूकै नजरमा तपाईंहरूको स्थान, उचाई र उपस्थिति कमजोर मात्र भएको छैन कि तपाईंहरू सस्तो पनि हुँदैहुनुहुन्छ । जसलाई तपाईंहरूले नजिक सोच्नु भएको छ, तिनीहरूले नै यदाकदा तपाईंहरूको बारेमा नेगेटिब कुरा गर्दै हिँडेको पनि थाहा पाउंनुभएको होला । यसतर्फ पनि विचार गर्ने कि ?

यो लेख सबै युट्यूबर र सेलिबे्रटीहरूप्रति लक्षित होइन । हामीसँग शानदार सेलिब्रेटी र ‘वाह’ गर्नलायककै युट्यूबरहरू पनि छन् । जसले ब्यक्तिगत नभएर समाज र आफ्नो विधा वा क्षेत्रका समस्या अनि समाधानका पाटाहरूलाई उजागर गर्ने युट्यूबकारिता गरिरहेका छन् । उनीहरूले नेपाली समाज र सेलिब्रेटीका बारेमा उठान गरेका विषयले साँच्चै सनसनी पनि मच्चाएका छन् ।

प्रिय सेलिब्रेटीहरूलाई युट्यूबरहरूसँग सङ्गत नगर्नु र अन्तरवार्ता नदिनु भन्न खोजेको पनि होइन, तर दुबै पक्षले सजग, सर्तक र सावधानी अपनाए भने दुवैको शान, मान र इज्जत रहन्थ्यो । आज किन युट्यूब भन्नासाथ एउटा वर्ग र समाज नाक खुम्याउँछ ? विश्वास गर्दैनन् ? यो सब हाम्रै कमजोरी होइन र ? युट्यूबर बन्ने कि ? युट्यूबरसँगै हामी पत्रकारितालाई अगाडि बढाउने ? यो हाम्रै हातमा छ । माइती जान लागेको समयमा युट्यूबरको भीड लिएर जाने । मामाघर जाने समयमा पनि यही पारा अनि हनिमून जान लागेको समयमा पनि जानकारी । कति चाहिने हाम्रा सिलिब्रेटीहरूलाई प्रचारप्रसार । कतिपय कुरा र प्रसङ्ग त बाहिर नल्याउनुस् न, यो आग्रह गरियो !

तपाईंका क्रियाकलापहरू पछि युट्यूबमा पब्लिश गर्दा जसरी हेडलाइन राखिन्छ त्यो देख्दा तपाईंहरू नै आत्तिने कहालिने अवस्था पनि धेरैपटक पैदा भएका छन् । यसका कारण तपाईंहरू पनि धेरै मानसिक टर्चरमा पर्नुभएको छ, तर पनि तपाईंहरूको चेत खुलेको छैन । पहिला तपाईंहरू आफैं मच्ची–मच्ची सबैलाई बोलाएर बोल्नुहुन्छ अनि पछि फरक अर्थ लाग्ने अश्लील खालका हेडिङ आउँदा आपत्ति जनाउंनुहुन्छ । यस्ता घटनाहरू धेरै घटेका छन् । जिब्रो चिप्लिँदा केही फरक अर्थ लाग्न सक्छ । त्यतिबेला तपाईलाई पनि होस हुँदैन, तर तपाईंको त्यै कमजोरी हेडिङ बनाइन्छ । अनि तपाईं विवादमा..??? यस्तो छ अवस्था ।

सस्तो प्रचारबाजी र लाइक, सस्क्राइबको लोभमा एकतिर सेलिब्रेटीको इज्जत धुजा–धुजा हुँदैछ भने युट्बरहरूको कामको सम्मानले पनि धुलो चाट्दैछ ।

टेलिभिजन वा पेपर भए पो सम्पादन हुन्छ र भाषा मिलाइन्छ तर यहाँ अधिकांश यूट्यूबरहरूको न कुनै निश्चित कार्यालय छ न त भाषा हेर्ने र बुझ्ने ब्यक्तित्व नै । सम्पादन र जिम्मेवारीको त कुरा परै जाओस् । तपाईंको शब्दको सनसनीपूर्ण हेडिङले यूट्यूबको लाइक र सस्क्राइब बढ्ला, तपाईंलाई चिन्ने पनि धेरै होलान्, तर त्यो भीडमा तपाईंको शब्द, सोच र धारणाको मूल्याङ्कन गर्ने अर्को पक्ष पनि कतै हुन्छ । अहिले त केही समय तपाईंलाई वाहवाही मिल्ला तर दीर्घकालीन समयमा तपाईहरूको करियरका लागि यो कुरा घातक सिद्ध नहोला भन्न सकिन्न । अधिकांश यूट्यूबर साथीहरूको सोच र उद्देश्य पनि तपाईहरूको शब्दलाई मिलाएर तपाईलाई वजनदार, शिष्ट, भद्र र शालिन रूपले प्रस्तुत गर्नु हुँदैन । तपाईले जतिसक्दो अरूलाई गाली गर्ने, अर्को कलाकारको दोष देख्ने र तपाईंले कसैको रिस गरेको भाषा बोलोस् भन्ने चाहन्छन् । तपाई त्यही बोल्नुहुन्छ र हेडिङ त्यस्तै बनाउंन पाउँदा हाम्रा यूट्यूबर साथीहरू दङ्ग । तर नजानिँदो तरिकाले तपाई मारमा । यसैगरी चलिरहेको छ यूट्यूबर र सेलिब्रेटीहरूको सहकार्य ।

त्यसो त आफ्नो विधा, क्षेत्र, पेशा, समाज, वर्ग र मूलुकको संवेदनशीलतालाई मनन गरेर, ध्यानमा राखेर यूट्यूब सञ्चालन गर्ने यूट्यूबरहरूको संख्या पनि प्रशस्त छ । उनिहरू न कसैलाई गाली गर्छन् न त झगडा नै गराउँछन् वा त्यस्ता उट्पट्याङपूर्ण वा गलत हेडिङ नै राख्छन् । भद्दा र अश्लील हेडिङ राख्नु तिनको प्राथमितामा पर्दैन । खै त उनिहरूको पनि लाइक र सस्क्राइब बढेकै छ त ? आफ्नो विधा र पेशाका बारेमा भित्री पाटा र संवेदनशील विषयमा चिरफार गर्ने समाजमा उनिहरूको विश्वास पनि बढ्दै छ । यस्ता यूट्यूबरहरूले सेलिब्रेटीहरूको शान, मान र इज्जत पनि उच्च बनाएकै छन् त ?

अहिलेका केही यूट्यूबरहरूले आफ्नो क्षेत्र, विधा र पेशालाई दीगो रूपमा लिएर जाने सोच भएको देखिँदैन । यही क्षेत्रलाई निरन्तरता दिने उद्देश्नीरूमा देखिंँदैन । त्यसकारण पनि उनिहरू जे पस्कन्छन् त्यसमा सनसनी मच्चाउन खोज्छन् अनि चर्चा र केको न्यान्यो भनेजस्तो हुन खोज्छन् । यही भएर पनि हो उनिहरूले आफ्ना यूट्यूबमा प्रस्तुत गरेको सेलिब्रिटी हुन् या अन्य विधाका पात्र किन नहुन्, तिनका चर्चा र सफलतालाई भजाएर नेगेटिभ खुराक मात्र पस्केको देखिन्छ । भोली त्यो पात्र काम पनि लाग्ने छैन र त्यसको मतलब पनि हुने छैन भन्ने हेतुले उसको कुराकानीलाई सनसनी पारेर आफ्नो यूट्यूबलाई चर्चामा ल्याउन खोज्छन् । यसरी चर्चामा ल्याउन खोज्नेले सेलिब्रिटी वा अरू कुनै पात्रको करियर, पेशा र जीवनमा कत्तिको असर पुगिरहेका छन् त ? यसतर्फ मनन गर्ने कि ?

जस्तो कि जाजरकोटमा केही दिन अगाडि घटेको घटना समेटिएका यूट्यूबहरू हेर्नुस् । यो घटना केहीलाई कमाइखाने सजिलो माध्यम बनेको पाइएको छ । घटनालाई समाधानतर्फ लैजाने होइन अझै सनसनीपूर्ण बनाउने र अझै गाँठो परेको हेर्न र देखाउन चाहने यूट्यूबरहरूको यतिबेला भीड छ । ‘दुबै पक्षबीच मारामार, हेर्नुस् रहस्य खुल्दैछ, अहिले नै हेर्नुस् घटनाले लियो नयाँ मोड, ज्यानमाराहरू पहिलोपटक मिडियामा, खोले रहस्य, रूवाबासी…. यस्तै के क हो के के ? यस्तो यूट्यूबकारिता, सोच र प्रस्तुतिले कसलाई के दिन्छ र कसले के पाउँछ ? यस्तो यूटयूबकारिता गरेर हामी कुन संस्कारको विकास गरिरहेका छौँ । लाइक, सस्क्राइब र केही यूट्यूबबाट आउने डलरको लोभमा हामी के बेचिरहेका छौँ र के देखाइरहेका छौँ ? साँच्चै मनन गर्ने, सुध्रिने र सुधार्ने बेला गुज्रिसकेको छ ।