यस्तो छ अर्थमन्त्री खतिवडाद्वारा प्रस्तुत बजेटको नियत !

यस्तो छ अर्थमन्त्री खतिवडाद्वारा प्रस्तुत बजेटको नियत !


■ ए. पोखरेल

अर्थशास्त्र नपढीकन पनि बजेट भाषणको नियत बुझ्न सकिन्छ ।

१) तीस वर्षदेखि देशका रैथाने बालीनालीमा विदेशी हाइब्रिड बीउको आक्रमण गराएर, सारा गाउँबाट रैथाने बीउबिजन विस्थापन गराइसकेपछि अहिले आएर पुनः बीउबिजन आयातमा भन्सार वृद्धि किन गरे अर्थमन्त्रीले ?

२) कृषि सामग्री संस्थानमाथि लुट मच्चाएर खारेज गऱ्यो बहुदल सरकारले । औपचारिक वा अनौचारिक रूपमा कृषिजन्य सामग्रीहरू आयातमा भन्सार वृद्धि गरेर नेपाली किसानको सजिलो पहुँच हुन नदिने प्रपञ्च रचिएको थियो र त्यो क्रमलाई किन निरन्तरता दिइँदै छ ?

३) नम्बर २ बुँदालाई सामान्य रूपले बुझे पनि पुग्छ । त्यो के हो भने, नेपाली साना किसानले आफूलाई चाहिने उपभोग्य खाद्यान आ–आफ्नो घर–घरमा सजिलै र सस्तो मूल्यमा उत्पादन गर्न नसकुन्, ताकि उनीहरूले नजिको बजारबाट किनेर खानु परोस् । बजारमा ठूला किसान वा वैदेशिक कम्पनीहरुले खाद्यान्न उपलब्ध गराएका हुन्छन् । यसको उद्देश्य त्यही हो । विश्व बैंकदेखि लिएर नेपाल सरकार वा अर्थमन्त्रीले साँठगाँठ गर्ने संस्था वा कम्पनीका मालिकहरु यही चाहन्छन् । नेपाल सरकार यही गरिरहेको छ ।

४) घुमाउरो पारामा नेपाली साना किसानको घाँटी चेप्न सकियो भने वैदेशिक (विदेशी) ठूला कम्पनी वा किसानले उत्पादन गरेको कृषिजन्य उत्पादन नेपालमा प्रवेश गराउने चाललाई अर्थमन्त्री खतिवडाले पनि निरन्तरता दिएका छन् ।

५) नेपाललाई दिन–प्रतिदिन परनिर्भर बनाउँदै लैजानु नेपालका बहुदलीय सरकारहरूको ध्यय रहेको छ । कसै–कसैलाई भ्रम पर्ने गरेको छ कि फलानो अर्थमन्त्रीले यो–यो कुराहरू राम्रो गऱ्यो, त्यो–त्यो कुराहरू राम्रो गऱ्यो भनेर । त्यो भनेको प्रत्येक वर्ष घाँस पलाउने रुख जरैदेखि ढालेर एक–दुई दिनको लागि गाईबस्तुलाई हरियो घाँस हाले जस्तो हो ।

६) यो र यस्तै प्रकारले अन्य नीति तथा कार्यक्रम तथा त्योअनुरूपको बजेट सरकारले बजेट भाषणमार्फत पेश गर्ने गरेको छ । कम्तीमा पनि २०४६ सालपछिका जोसुकै अर्थमन्त्री वा सरकारहरूले लिएका नीति तथा कार्यक्रमहरु नेपाल सरकार आफ्नो दायित्वबाट टाढा बस्ने, नेपाल र नेपालीलाई स्वावलम्बी वा आत्मनिर्भर बन्न नदिने अनि वैदेशिक ठूला कम्पनीहरुलाई नेपालको बजार उपलब्ध गराउने भित्री प्रपञ्चस्वरूप आउने गरेको कुरामा शंका छैन ।

७) यो काम किन गर्छन् नेपाली शासकहरू ? किनकि, यो गरेवापत वा यस्ता काम गर्ने कबुल गरेवापत ती वैदेशिक कम्पनीका एजेन्टहरुले मन्त्री बनाइदिन्छन् । अर्थमन्त्री बनाइदिन्छन् । आपूर्ति व्यवस्था मन्त्री बनाइदिन्छन् । त्यो भन्दा पनि नीच स्तरको अनैतिकतामा यो काम गर्छन्, त्यो हो– करोडौँ रुपैयाँको कमिशन ।

८) बिजुलीबाट चल्ने सवारीसाधनमा अथमन्त्री खतिवडाले भन्सार वृद्धि गरेका छन् । यसको तात्पर्य डिजेल पेट्रोलबाट चल्ने गाडी तथा मोटरसाइकलहरु खरिद गर्नु भन्ने हो । त्यो नीति पास गरिदिएवापत अब नेपालमा रहेका डिजेल पेट्रोल गाडीका मुख्य डिलरहरुले करोडौँ कमिशन अर्थमन्त्रीमार्फत नेपालका विभिन्न मन्त्रीहरुको पोल्टामा हालिदिन्छन् ।

बस्, यथार्थ यही नै हो ।