रौतहटको क्वारेन्टिनमा बस्ने शंकास्पद बिरामीको संख्या ६ हजार नाघ्यो

रौतहटको क्वारेन्टिनमा बस्ने शंकास्पद बिरामीको संख्या ६ हजार नाघ्यो


आरके श्रीवास्तव, रौतहट

रौतहटका विभिन्न स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा बस्ने शंकास्पद बिरामीको संख्या अहिलेसम्मकै बढि ६ हजार नाघेको छ ।

भारतका विभिन्न सहरहरुबाट आउनेको संख्याबढेसँगै रौतहटको क्वारेन्टिनमा बस्नेको शंकास्पद बिरामीको संख्या एक्कासी वृद्धि भएको छ ।

कोरोना भाइरसको उच्च संक्रमण देखिएकाले भारतबाट आउनेहरु १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्न जिल्लाका विभिन्न स्थानमा ६ हजार पाँचसय ८३ बेडको क्वारेन्टिन निर्माण गरिएको छ ।

शुक्रबार अपरान्हसम्म क्वारेन्टाइनमा बस्नेको संख्यामा वृद्धि भई तीन सय ६ महिलासहित ६ हजार चार सय ३९ पुगेको सिडिओ वासुदेव घिमिरेले जानकारी दिएका छन् ।

क्वारेन्टिनहरुबाट हालसम्म कुल आठसय ५७ जना संकास्पद बिरामीको उपचार गराई घर फर्किसकेको सिडिओ घिमिरेले बताएका छन् ।

रौतहटका विभिन्न क्वारेन्टिनमा बस्ने संकास्पद बिरामीमध्ये कुल एकहजार ६ सय १८ जनाको स्वाब संकलन गरी जाँचको लागि पठाइएकोमा १८३ जना पोजिटिभ, पाँच सय ७१ निगेटिभ र अन्यको आउन बाँकी रहेको सिडिओ घिमिरेले बताएका छन् ।

भारतका विभिन्न सहरमा रोजगारीको सिलसिलामा बसेका रौतहटवासी फर्किने क्रम बढेसँगै सिडिओ घिमिरेले जिल्लाको प्रत्येक स्थानीय तहहरुमा पाँच पाँचसय बेडको क्वारेन्टिन निर्माण गर्न निर्देशन दिएका छन् ।