जेठ २१ देखि निजी विद्यालयमा विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने प्रयत्न

जेठ २१ देखि निजी विद्यालयमा विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने प्रयत्न


सरकारको नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि सोही अवधारणाको फेर समातेर निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने सूचना गरेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन–प्याब्सन), राष्ट्रिय अभिभावक महासङ्घ, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) लगायतका संस्थाले शुक्रबार (१६ जेठ) संयुक्त विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन् ।

ती संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही जेठ १३ गतेको राष्ट्रका नाममा भएको सम्बोधनमा नयाँ शैक्षिक वर्षअन्तर्गतको पठनपाठन सञ्चालनको काम अगाडि बढाउने घोषणा गर्नुभएको हुनाले बन्दाबन्दीपछि परिवर्तित सन्दर्भमा सामाजिक दूरी कायम राखी विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्न आफ्ना शिक्षक तथा कर्मचारीलाई उपस्थित गराउने भएको हो तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसबारे कुनै निर्णय गरेको छैन ।

मन्त्रालयको निर्णयपछि मात्रै सबै सामुदायिक विद्यालयमा समेत भर्ना खुल्नेछ । मन्त्रालयले गत वैशाख २२ गते विज्ञप्ति जारी गरी अर्काे निर्णय नभएसम्म कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नलिन अपिल गरेको थियो । मन्त्रालयले भर्ना वा अनलाइन कक्षाका नाममा कुनै पनि शुल्क नलिन पनि आग्रह गरेको थियो ।