काङ्ग्रेसको प्रश्न- ‘अफ्ताब आलमको घरमा प्रहरी गएका थिए कि डाका-गुण्डा ?’

काङ्ग्रेसको प्रश्न- ‘अफ्ताब आलमको घरमा प्रहरी गएका थिए कि डाका-गुण्डा ?’


प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाल सरकारद्वारा आर्थिक वर्ष २०७७/७८ को लागि प्रस्तुत बजेट परिणाममुखीभन्दा प्रचारमुखी रहेको टिप्पणी गरेको छ । बजेटमा जनतालाई आश्वासन दिने तर कार्यान्वयन नहुने खालका कार्यक्रमलाई जोड दिइएको काङ्ग्रेसको भनाइ छ ।

काङ्ग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले लकडाउनका कारण सम्पूर्ण उद्योग, कलकारखाना, पर्यटन, शैक्षिक संस्था, बैंक वित्तियलगायत क्षेत्र ठप्प भएको अवस्थामा पनि मुलुकको अर्थतन्त्रलाई माथि उठाउने र तत्काल कार्यान्वयन हुने खालका कार्यक्रमहरुलाई बजेटमा प्राथमिकता नदिएको निष्कर्ष निकालेको छ ।

कोरोना भाइरस महामारीको प्रकोपबाट पीडित निजी क्षेत्रका उद्योग व्यवसायका साथै त्यसका कर्मचारी र श्रमिक वर्गहरुलाई सम्बोधन हुने ठोस कार्ययोजनालाई बजेटले सम्बोधन नगरेको काङ्ग्रेसको ठहर छ ।

बैठकले कोरोनाको प्रभावबाट भविष्यमा हुने रोजगारीको सङ्कटलाई सामना गर्न सरकारले उपयुक्त र पर्याप्त रोजगारी सिर्जना गरी आर्थिक क्रियाकलापलाई गतिशील बनाउने योजनालाई बजेटले प्राथमिकतामा नराखेको भनी टिप्पणी गरेको छ ।

काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले अहिलेको विषम र असामान्य अवस्थामा पनि सरकारले विगतमा झै सामान्य बजेट ल्याएको बताउँदै राजश्वको सङ्कुचन भइरहेको र भविष्यमा अझै भइरहने अवस्थामा सरकारले ठूलो विदेशी र आन्तरिक ऋणको आधारमा बनाएको बजेट कार्यान्वयन गर्न कठिन हुने बताए ।

काङ्ग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा विज्ञका रुपमा पूर्वअर्थमन्त्री डा. रामशरण महत, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा. जगदिशचन्द्र पोखरेल, डा. गोविन्दराज पोखरेल र डा. स्वर्णीम वाग्ले तथा अर्थविद् डा. विश्व पौडेलले बजेटका विविध पक्षको समीक्षा गर्दै कमी, कमजोरी बारेमा जानकारी गराएका थिए ।

बैठकले यही जेठ ९ गते काङ्ग्रेस नेता एवं पूर्वमन्त्री मोहमद अफ्ताब आलमको रौतहटस्थित निवासमा मध्यरातमा ५० भन्दा बढी व्यक्ति हातहतियारसहित गई तोडफोड गरी आङ्तक सिर्जना गरेको भन्दै भत्र्सना गरेको छ । उक्त घटनामा संलग्न व्यक्तिले एम्बुलेन्ससमेत लिएर गएको हुँदा हिंसाको योजनासहित गएको हुनुपर्ने कांग्रेस बैठकको ठहर छ ।

उक्त घटनामा संलग्न व्यक्ति को थिए, प्रहरी स्वयं सादा पोशाकमा थिए वा डाका गुण्डाहरु थिए भन्ने हालसम्म प्रहरी प्रशासनले बताउन नसकेको काङ्ग्रेसले जनाएको छ । उक्त घटनाको तत्काल छानविन गरी दोषी उपर कारवाहीका लागि सरकार तथा सम्बन्धित निकायसँग बैठकले माग गरेको प्रमुख सचेतक खाणले बताए ।

यसैगरी गत जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोतीमा पाँच जनाको मृत्यु, एक जना हालसम्म पनि वेपत्ता र पाँच जना गम्भीर घाइते हुने गरी भएको हिंसात्मक घटनाप्रति बैठकले दुःख व्यक्त गरेको छ । घटनाको काङ्ग्रेसले निन्दा एवं भत्र्सना गर्दै उक्त घटनाको सत्यतथ्य एवं न्यायपूर्ण छानबिन गर्न सरकारसँग माग गरेको छ ।