रौतहटमा कोरोनासंक्रमित बढ्दै, शुक्रबार एकै दिन ५६ जना थपिए

रौतहटमा कोरोनासंक्रमित बढ्दै, शुक्रबार एकै दिन ५६ जना थपिए


आरके श्रीवास्तव, रौतहट

रौतहटमा दिन–प्रतिदिन कोरोना संक्रमित बढ्दै गएका पाइएको छ । शुक्रबार (१६ जेठ) अपरान्ह एकै दिन ५६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यसका साथै रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या १ सय ८३ पुुगेको छ ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठका अनुसार राजपुर नगरपालिकामा ३३ जना, इसनाथमा १५, मौलापुरमा ६ र बौधीमाईमा दुईजना गरी ५६ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

यससँगै रौतहटमा संक्रमितको संख्या एकसय ८३ पुगेको छ । हिजो साँझ एकैपटक १७ जनामा कोरोना पुष्टि भएपछि एक सय २७ पुगेको थियो ।
शुक्रबारका संक्रमितहरु लकडाउनपछि भारतका विभिन्न शहर बाट आएर आ–आफना नजिकका क्वारेनटाइनमै बस्ने क्रममा उनीहरुको स्वाब संकलन गरी जाँचको लागि पठाइएको थियो ।

संक्रमित सबैजना घरका मानिसको सम्पर्कमा नआएको कारण अन्यलाई जोखिम नहुने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा जिल्ला सदरमुकाम गौरबाहेक प्राय सबै स्थानमा लकडाउन उल्लंघन भइरहेको छ ।

गरुडा, कटहरियालगायत ग्रामीण भेगका सबै पसलहरु निर्वाध रुपमा खुलीरहेका छन् । बिना मास्क सामाजिक दुरीको कुनै वास्ता नगरी बजारमा दैनिकजसो भीड लागिरहेकाले जिल्लामा कोरोना भाइरसबाट संक्रमणको जोखिम बढदै गएको स्थानीयहरुले बताउँदै आएका छन् ।

सदरमुकाम गौरमा प्रहरीले लकडाउन पालना गराउन केही बल प्रयोग गरेको देखिए पनि अन्य ठाँउका प्रहरी भने मुकदर्शक बनेको गुनासो सुनिएको छ ।

स्थानीयवासी र प्रहरीबीच झडप, १२ राउण्ड हवाइफायर

रौतहटको इशनाथ नगरपालिका वडा ७ जोकहा गाँउमा प्रहरी र स्थानीयवासी बीच झडप भएको छ । परिस्थिति नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइफायर समेत गर्नुपरेको थियो ।

गाँउलेहरुले कोरोना संक्रमित स्थानीय दुई व्यक्तिलाई गाउँमै राखेर उपचार गर्बानुपर्ने, अन्यत्र लैजान नहुने अडान राखेर रोकावट गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक रविराज खडकाले बताए ।

जोकहास्थित अनवारुल इश्लामिक मदरसामा बस्दै आएका दुई जनामा कोरोना भाइरस पुष्टि भएपछि उनीहरुलाई उपचारको निमित प्रहरीले अन्यत्र आइसोलेसनमा लैजान खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

झडप साम्य पार्न प्रहरीले १२ राउण्ड हवाइफायर गर्नुपरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिएका छन् ।