सङ्क्रमणका नयाँ बिरामी देखिएपछि कोरियाले बन्द गऱ्यो अढाइ सय विद्यालय

सङ्क्रमणका नयाँ बिरामी देखिएपछि कोरियाले बन्द गऱ्यो अढाइ सय विद्यालय


दक्षिण कोरियामा कोरोना सङ्क्रमणका नयाँ मामला देखिएपछि सरकारले करिव २ सय ५१ वटा विद्यालय पुनः बन्द गर्ने घोषणा गरेको छ । सङ्क्रमणमा कमी आएको भन्दै केही दिनअघि मात्र बालबालिकाका विद्यालय खोलिएका थिए ।

बितेको २४ घण्टामा द. कोरियामा कोरोनाका ५६ नयाँ संक्रमित देखिएका छन् । कोरियाको पश्चिमी इलाकामा पर्ने बाक्लो बस्ती भएको स्थान बुचनमा संक्रमणको नयाँ मामला पैदा भएको हो । कोरियाकै सबभन्दा ठूलो ई–कमर्श कम्पनी कुपाङको हेड अफिस पनि बुचनमै रहेको छ । यस कम्पनीमा कार्यरत कर्मचारीहरूले संक्रमण फैलन नदिन अपनाउनुपर्ने उपाय अवलम्बनमा लापर्वाही गरेकाले पुनः संक्रमण फैलिएको बताइएको छ ।

संक्रमण रोक्नका लागि बुचनस्थित २ सय ५१ विद्यालयहरू बन्द गरिएका छन् भने महामारीपछि खोल्ने तयारीमा रहेका सयौँ विद्यालयले आफ्ना सो योजना रद्द गरेका छन् ।

सरकारले सो क्षेत्रमा पहिले बाध्यकारी नतुल्याइएको सोसल डिस्ट्यान्सिङका नियमहरूलाई अनिवार्य तवरले पालना गर्न निर्देशन जारी गरेको बीबीसीले जनाएको छ ।

यसैबीच जोन्स हप्किन्स विश्वविद्यालयले अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ लाख एक हजार ३ सय ३७ पुगेको जनाएको छ । त्यहाँ कुल संक्रमित संख्या १७ लाख १२ हजार ८ सय १६ रहेको बताइएको छ ।

जोन्स हप्किन्सका अनुसार विश्वभर कोरोनाकै कारण ३ लाख ५७ हजारभन्दा धेरैको मृत्यु भएको र कुल संक्रमित संख्या ६० लाख रहेको छ ।

अमेरिकामा भारइरसको संक्रमण तथा लकडाउनका कारण पछिल्ला दश सातामा ४ करोड मानिसले रोजगारी गुमाएका छन् । गत साता मात्रै २१ लाख मानिसले बेरोजगारी भत्ताको लागि आवेदन दिएका छन् ।