कोरोनाबाट जोगिन रेस्टुरेन्टमा प्लाष्टिकले छेक्ने व्यवस्था

कोरोनाबाट जोगिन रेस्टुरेन्टमा प्लाष्टिकले छेक्ने व्यवस्था


विभिन्न देशका केही रेस्टुरेन्टमा कोरोना भाइरस फैलिन न्युनीकरण गर्ने व्यवस्थासहित पुनःसञ्चालनमा ल्याइएको छ ।

एक अर्कालाई कोरोनाभाइरस सर्न नपाओस् भन्ने उद्देश्यले टेबलमा प्लाष्टिकले छोप्ने व्यवस्था गरिएको सञ्चालकहरुले जनाएका छन् ।

हरेक व्यक्तिको अनुहार तथा शरिर तीन चार तिरबाट छेकिने गरी टेवलमा नयाँ संरचना बनाइएको पाइएको एपीले जनाएको छ । त्यस्ता संरचना बनाएपछि बोलेको सुनिने, देख्न सकिने तर एक अर्कालाई नछोईने र एक अर्काको स्वासप्रश्वास आदानप्रदान नहुने सञ्चालकको भनाइ छ ।

यस्ता संरचना कोरोनाभाइरस सर्ने खतरा रहेको बेलासम्मका लागि मात्रै राखिने सञ्चालकहरुले बताएका छन् ।

रेस्टुरेन्टमा सामाजिक दुरी कायम गर्नुपर्नेलगायतका आधारभूत स्वास्थ्य सतर्कता पनि अपनाउनु पर्ने नियम कायमै राखिएको छ ।

लिथुआनियाको राजधानीमा रहेको एउटा रेस्टुरेन्टमा बनाइएका त्यस्ता संरचनाहरु स्थानीय फेसन डिजाइनरले बनाएको बताइएको छ । ‘हामीले उपभोक्तालाई सुरक्षित र सजिलो हुनेगरी व्यवस्थापन गरेका छौँ,’ रेस्टुरेन्टका एक सञ्चालक पात्रिकास रिबासल भनेका छन् ।

राजधानी भिल्निसका मेयर रेमिगिजुस सिमासिसले सृजनात्मक र राम्रो काम गरेको भन्दै उनीहरुको प्रशंसा गरेका छन् । त्यसैगरी जर्मनीको होफैममा रहेको ‘विफ एण्ड विफ’ले पनि टेवलमा यस्तै प्रकारको संरचना बनाएको छ ।

आम्स्टर्डामको मेडियामेटिक रेस्टुरेन्टले शिशाका साना साना कोठा तथा घरहरु बनाएर कोरोनाभाइरस फैलिन नदिने प्रयास गरेको छ । कोरोनाभाइरस फैलिने डरले विश्वका धेरै ठाउँका व्यापार, व्यवसाय तथा कार्यालय बन्द गरिएका छन् भने सरकारले लकडाउनको घोषणा गरेका छन् ।

कोरोनाको डर र लकडाउनका कारण व्यापार व्यवसाय सञ्चालक आर्थिक सङ्कटमा पर्न थालेपछि केही सञ्चालकले सतर्कतासहितको नयाँ व्यवस्था गरेर व्यवसाय सञ्चालन गर्न थालेका हुन् ।