बर्दिया क्वारेन्टिनमा मृत्यु हुनेको रिपोर्ट नेगेटिभ

बर्दिया क्वारेन्टिनमा मृत्यु हुनेको रिपोर्ट नेगेटिभ


बर्दियाको गुलरिया नगरपालिकामा रहेको बबई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा मृत्यु भएका एक व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

अछामबाट मजदूरी गरी फर्किएका गुलरिया नगरपालिका –९ का ५५ वर्षीय पुरुषको बुधबार (१४ जेठ) क्वारेन्टिनमा मृत्यु भएको थियो । उनको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको पिसिआर रिपोर्ट बिहीबार नेगेटिभ आएको हो ।

यस्तै, रुकुम (पूर्व)का तीन कोरोना सङ्क्रमितलाई उपचारका लागि दाङ पठाइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बुधबार गरिएको कोरोना परीक्षणमा तीन जनालाई नसंक्रमणको पुष्टि भएको थियो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी अञ्जु पोखरेलले दिएको जानकारीअनुसार उनीहरुलाई उपचारका लागि बेलझुण्डी पठाइएको हो ।

होम क्वारेन्टिनमा बसेका एक र पुथाउत्तरगंगा गाउँपालिकाको सिद्धमण्डली मावि राङ्सीको क्वारेन्टिनमा रहेका दुई जनामा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि हुनेमा गाउँपालिकाका १३ का २३ वर्षीय पुरुष तथा १४ का १५ वर्षीया महिला र १८ वर्षीय पुरुष छन् । २३ वर्षीय पुरुष गत चैत ६ गते मलेसियाबाट आएका हुन् भने अन्य दुई जना यसै महिना बाराबाट आएका बताइएको छ । रुकुम (पूर्व) जिल्लाभरबाट ५७ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।