चौरजहारी घटनामा हराएका थप एक जनाको शव भेटियो

चौरजहारी घटनामा हराएका थप एक जनाको शव भेटियो


गत १० जेठमा भएको चौरजहारी घटनामा हराएकामध्ये भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको भेरी नगरपालिकाको कालाभुर नजिक शव फेला परेको छ । योसँगै पाँच जनाको शव फेला परेको छ ।

सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जनाएअनुसार बुधबार लोकेन्द्र सुनारको शव फेला परेको थियो भने भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन् । भेरी नगरपालिका–४ का नवराज विक, लोकेन्द्र सुनार, गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ ।

हिउँ पग्लिएर भेरी नदी धमिलो भएकाले पानीभित्र बेपत्ता भएकाको शव खोज्न गोताखोरहरुलाई कठिन भएको छ । अन्तर्जातीय प्रेमका कारण जेठ १० गते पश्चिम रुकुमको चौरजहारी–८ सोतीमा भएको घटनामा हराइरहेका तीनजनाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको थियो ।

घटना भएको पाँच दिनसम्म पनि हराएकाहरु सम्पर्कमा नआएको र कतै नभेटिएपछि भेरी नदीमै डुबेको आशङ्कामा सशस्त्र प्रहरी गण शमशेरगञ्जबाट तालिम प्राप्त गोताखोर झिकाएर परिचालन गरिएको थियो । तर नदी धमिलो भएकाले पानीभित्र हेर्न नसकिएको र शङ्कास्पद स्थानमा छामेर खोज्नुपरेको सशस्त्र प्रहरीका प्रमुख बस्नेत बताउँछन् ।

हिमालमा हिउँ पग्लिएकाले पानीको बहाव पनि बढेको र नदी पनि निकै धमिलो छ, पानीभित्र हेर्न मिल्दैन धमिलो पानीकै कारण खोजी कार्यमा कठिनाइ भएको भन्दै प्रमुख बस्नेतले अक्सिजनसहित अत्यावश्यक उपकरण लिएर आएका गोताखोर गहिरो तलाउमा पनि धेरै बेर डुबेर पानीभित्र अड्किएको वस्तु खोज्न सक्ने क्षमताको रहेका जानकारी दिए । तर नदी नै धमिलो हुँदा समस्या भएको बताइएको छ ।

पानीमा डुबेर खोज्न मिल्ने अक्सिजनसहितको पाँचजनाको टोली उताबाट आएको र जिल्लामा तालिम प्राप्त केही जनशक्ति गरी दर्जनभन्दा बढी सशस्त्र प्रहरी बेपत्ताको खोजीमा बुधबार बिहानैदेखि भेरीमा परिचालन गरिएको बस्नेतले बताए ।

हराएकाको खोजी कार्यमा स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान दैनिकजसो संलग्न रहे पनि भेटाउन नसकेपछि गोताखोर बोलाइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी पन्तलाई उद्धृत गर्दै राससले जनाएको छ । बेपत्ताहरु नदीमा डुबेको हुन सक्ने आशङ्कामा सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको हो ।