अमेरिकी राष्ट्रपतिद्वारा प्रवर्द्धित औषधिमाथि फ्रान्सले लगायो प्रतिबन्ध

अमेरिकी राष्ट्रपतिद्वारा प्रवर्द्धित औषधिमाथि फ्रान्सले लगायो प्रतिबन्ध


फ्रान्सले कोरोना भाइरसको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगमाथि औपचारिक रुपमा प्रतिबन्ध लगाएको छ । औलो रोगको उपचारमा प्रयोग हुने यो औषधि कोरोना भाइरसको उपचारमा हानिकारक रहेको अनुसन्धानबाट देखिएपछि फ्रान्सले प्रतिबन्ध लगाएको हो ।

फ्रान्सका दुईवटा स्वास्थ्य निकायहरु एचसीएसपी र एएनएसएमले कोविड–१९ को उपचारमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गर्न नहुने सल्लाह दिएको एक दिनपछि फ्रान्सले उक्त निर्णय गरेको हो । अध्ययनमा यस औषधिका नकारात्मक र डरलाग्दा असर हुने भेटिएको छ ।

साथै, विश्व स्वास्थ्य संगठनले गत सोमबार घोषणा गरेझैँ फ्रान्समा यस औषधिको क्लिनिकल परीक्षणमाथि पनि प्रतिबन्ध लगाइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोविड–१९ का बिरामीलाई औलोविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन सिफारिस गर्न प्रतिबन्ध लगाइएको एएनआईले जनाएको छ ।

कोरोनाभाइरसको कुनै खोप वा प्रामाणिक औषधि पत्ता नलागेको अवस्थामा फ्रान्सले गत मार्चमा यस औषधिलाई कोविड–१९ का विरामीले सेवन गर्न सक्ने भन्दै अनुमति दिएको थियो ।

बेलायती मेडिकल जर्नल ल्यान्सेटले कोविड–१९ का बिरामीलाई हाइड्रोक्लोरोक्वीन औषधि सेवन गर्न दिइए त्यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउने, व्यक्तिको मृत्यु हुने भन्दै प्रयोग गर्न नहुने बताएको थियो ।

तथापि, यस औषधिका समर्थकहरु पनि थुप्रै छन् । कोरोना संक्रमितको संख्या उच्च रहेका अमेरिका र ब्राजिल दुवै देशका राष्ट्रपति (अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो) ले कोरोना भाइरसको उपचारका लागि हाइड्रोक्लोरोक्वीनको प्रयोगलाई प्रवर्द्धन गरिरहेका छन् ।