रुकुम घटनाको निन्दा गर्दै शान्ति समाजको विरोध प्रदर्शन

रुकुम घटनाको निन्दा गर्दै शान्ति समाजको विरोध प्रदर्शन


देशका विभिन्न भागमा घटेका जातीय विभेद तथा हिंसाका घटनाको मानवअधिकार तथा शान्ति समाजले निन्दा गर्दै आएको सन्दर्भबीच यही जेठ १० गते रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा घटेको दुर्दान्त घटनाले शान्ति समाज मर्माहत भएको समाजले जनाएको छ ।

चार जना युवाको मृत्यु भएको र दुई जनाको स्थिति अझै अज्ञात रहेको, कतिपयलाई कुटपिट गरिएको उक्त घटनाको निन्दा गर्दै घटनाको निष्पक्ष छानविन गरी दोषीहरुलाई कानुनसम्मत कारबाही गर्न शान्ति समाजले जोड दिएको छ । दण्डहीनताको निरन्तरता र कहालीलाग्दो सिलसिलाका कारण जातीय विभेदका घटनाहरु वृद्धि भइरहेको उल्लेख गर्दै रुकुम पश्चिममा घटेको दुर्दान्त घटनाका दोषीहरुमथि कारबाही नहुने हो भने मानवता पराजित हुने र अन्याय पुरस्कृत हुने धारणा शान्ति समाजको रहेको एक विज्ञप्तिमार्फत् जनाइएको छ ।

रुकुम पश्चिम घटनाका सन्दर्भमा संसदीय छानविन समिति गठन गर्न, दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न र पीडितहरुलाई न्याय प्रदान गर्न शान्ति समाजले आग्रह गरेको छ ।

यसै सन्दर्भमा मानवअधिकार तथा शान्ति समाज रुपन्देही शाखा, उच्च अदालत बुटवल बार एशोसिएसनलगायतका संस्थाहरुको आयोजनामा बिहीबार (जेठ १५) बिहान बुटवल राजमार्ग चौराहामा विरोध प्रदर्शन सम्पन्न गरेको समाजले जानकारी दिएको छ । प्रदर्शनपश्चात शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल र वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेलले उक्त घटनाका दोषीलाई कारवाही गर्न जोड दिँदै सम्बोधन समेत गरेका थिए ।

शान्ति समाज काठमाडौं शाखाको आयोजनामा जेठ १६ गते बिहान ८ बजे बौद्धमा अर्को प्रदर्शन हुने पनि समाजले जनाएको छ ।