विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीले नेपालको पर्यटन क्षेत्रलाई अत्यधिक मारमा पारेको परिवेशमा क्षेत्रीय होटल संघ काभ्रेले नेपाल सरकारसमक्ष ज्ञापन पत्र बुझाएको छ ।
महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा गरेको र पर्यटन क्षेत्रमा भएको अर्बौं लगानीमध्ये ४ अर्ब रुपैयाँ त बैंकको ऋण मात्र भएकोले बैंकको ब्याज तिर्न नसक्ने गरी व्यवसाय धरासयी भएको भन्दै ज्ञापन पत्र बुझाइएको हो ।
संघले काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र उद्योग तथा वाणिज्य मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाएको जनाइएको छ ।
मंगलबार (१३ जेठ) बुझाइएको उक्त सातबुँदे ज्ञापनपत्रमा लकडाउन अवधिभरको बैंकको ब्याजमा मिनाह र साँवाको भाका कम्तीमा पनि २ वर्ष थप गर्न वा सकभर मिनाहा गरिदिनका लागि आग्रह गरिएको छ ।
ज्ञापनपत्रमा सबै होटल व्यवसायीहरूलाई राष्ट्र बैंकबाट सहुलियत सुविधा पाउने पुनर्कर्जाको व्यवस्था गर्ने, कर छुट, घरभाडा छुट र विद्युत महसुल छुटलगायत माग प्रस्तुत गरिएका छन् । त्यसैगरी नयाँ बजेटमा व्यवसायीका समस्याहरूलाई सम्बोधन गर्नको लागि प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीसमक्ष माग गरिएको छ ।
क्षेत्रीय होटल संघ काभ्रेका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा विपद्को यस घडीमा होटल व्यवसायीहरूको समस्यामाथि मनन गर्दै के गर्दा सहज स्थिति सिर्जना गर्न सकिन्छ सोहीबमोजिम समर्पित हुने आशय उल्लेख गरिएको छ ।
उक्त ज्ञापनपत्र बुझाउन क्षेत्रीय होटल संघ काभ्रेमा आबद्ध पर्यटन व्यवसायी, उद्यमीलगायत कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरू उपस्थित रहेका थिए भने ज्ञापन पत्र बुझ्दै काभ्रे प्रजिअ श्रवणकुमार तिमल्सिना र धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले आफूले सम्बन्धित निकायसम्म व्यवसायीहरूका समस्या पुर्याउने र सम्बोधन गर्न सकिने समस्याहरूलाई जिल्ला र नगरबाटै समाधान गरिनेसमेत बताउनुभएको संघका सचिव ज्योत्सना सैजूले जानकारी दिनुभयो ।
प्रतिक्रिया