रुकुममा भेटिए पहिलो संक्रमित, मलेसियाबाट आउनेमा सङ्क्रमण

रुकुममा भेटिए पहिलो संक्रमित, मलेसियाबाट आउनेमा सङ्क्रमण


रुकुम जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । प्रदेश नं ५ को एक मात्र हिमाली जिल्ला रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गाउँपालिका वडा नं १३ का २३ वर्षीय पुरुष, वडा नं १४ की १५ वर्षीया महिला र १८ वर्षीय पुरुषमा बुधबार (१४ जेठ) दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रणको पुष्टि गरेको छ ।

कोरोना परीक्षणका लागि जिल्लाभरबाट स्वाब संकलन गरिएका ५७ जनामध्ये तीन जनामा कोरोना पुष्टि भएको छ । अरुको रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना देखिएका २३ वर्षीय युवक गत चैत ६ गते मलेसियाबाट फर्किएका र अन्य दुई जना यही महिना बाराबाट फर्किएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरू बारामा इँटाभट्टामा काम गरेर फर्किएका हुन् । कोरोना पुष्टि भएका दुई जना सिद्धमण्डली मावि राङ्सीको क्वारेन्टाइन तथा मलेसियाबाट आएका युवा होम क्वारेन्टाइनमा रहेका छन् ।

ती युवकको गत वैशाख १२ गते आरडिटी विधिबाट कोरोना भाइरस परीक्षण गरिएको थियो । आरडिटीबाट उनको कोरोना रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रुकुम (पूर्व) का निमित्त कार्यालय प्रमुख यादव शर्माले जानकारी दिए ।