संविधान संशोधनको प्रस्तावमा राप्रपाको समर्थन

संविधान संशोधनको प्रस्तावमा राप्रपाको समर्थन


राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान सशोधनसम्बन्धी सरकारको प्रस्तावलाई समर्थन गर्ने भएको छ ।

पार्टी अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको बैठकले विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकले निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधान र भास्कर भद्राद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको भूभाग समेटेर जारी गरेको उक्त नक्सा निशान छापमा समावेश गर्न सरकारले यही जेठ ९ गते संविधान संशोधन विधेयक सङ्घीय संसदमा दर्ता गराएको थियो । नेपालको संविधानको अनुसूची–३ मा निसान छाप समावेश छ ।

नेपालको उक्त भूभाग भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक नक्सामा समावेश गरी मानसरोवर जाने सडकसमेत निर्माण गरेपछि नेपाल सरकारले विरोध जनाउँदै तत्काल नक्सा सच्याउन गम्भीर ध्यानाकर्षण गराएको थियो ।

सरकारले संविधान सशोधन विधेयकको पक्षमा राष्ट्रिय सहमति कायम गर्न सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुसँग उक्त विषयमा समान धारणा बनाउने प्रयास गरिरहेको छ ।