एमसीसीबारे यस्तो छ साझा पार्टीको सुझाव

एमसीसीबारे यस्तो छ साझा पार्टीको सुझाव


साझा पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसिसी) सम्झौता संशोधनविना संसद्बाट पास नगर्न सरकारको ध्यानाकर्षण गरेको छ । साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले सम्झौताका कतिपय बुँदा नेपालको राष्ट्रिय स्वाभिमान र हित विपरीत रहेको जनाउँदै संशोधनविना संसदबाट पास गर्नु उपयुक्त नहुने जनाएका छन् ।

प्रवक्ता डा. आचार्यले एक प्रेस विज्ञप्ति जारी गर्दै एमसिसी सम्झौता नेपालको कानूनभन्दा माथि भएको, नेपाल सरकारको समेत लगानी रहने आयोजनाको लेखापरीक्षणमा महालेखा परीक्षणको संलग्नता नहुने, नेपालभित्रै निर्माण हुने प्रसारण लाइनका लागि तेस्रो मुलुक भारतको स्वीकृत लिनुपर्ने भएकोले यसबाट समस्या आउन सक्ने औल्याएका छन् ।

एमसिसीमार्फत सम्पन्न गरिने आयोजनामा रोजगारीका लागि नागरिकताको कुनै बन्देज नहुने र सम्झौताको केही दफा आयोजना सम्पन्न भइसकेपछि पनि क्रियाशील रहने जनाउँदै यसलाई विवेकपूर्ण ढङ्गले अध्ययन गरेर मात्र अगाडि बढ्न साझाले सुझाव दिएको छ ।