प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्या निन्दनीय : कांग्रेस

प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्या निन्दनीय : कांग्रेस


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम पश्चिममा भएको नृशंस हत्याकाण्डले देशलाई नै स्तब्ध बनाएको भन्दै घटनाको निष्पक्ष र गहन छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । कानूनी रूपमा जातीय विभेद र छुवाछूतलाई दण्डनीय बनाइएको छ तर नयाँ संविधानपछिको नेपालमा अझै पनि यस्ता घटना हुनु दुःखद भएको उल्लेख गर्दै कांग्रेसले रुकुमको घटनालाई दलित समुदायमाथिको हिंसाका रूपमा लिएको जनाएको छ ।

प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याको दोषीहरुलाई दण्डित गर्न कांग्रेसले माग गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै लकडाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा युवाको समूह जाँदै गर्दा रोक्ने कार्य प्रशासनले गरेको भए सायद त्यस्तो अप्रिय घटना हुन सक्ने थिएन भन्दै आक्रमणको घटना हुँदै गर्दा पनि राज्यको उपस्थिति नदेखिएको तथ्यलाई गम्भीरतापूर्वक लिइएको जनाएका छन् । यसबारे कांग्रेसले केन्द्रीय सरकारको धारणा माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

“केही निश्चित मानिसले गरेको आक्रमणमा पूरै गाउँ समाजलाई बदनाम गराउने र दोषीलाई जोगाउने षड्यन्त्र हुनसक्ने सङ्केत हामीले पाएका छौँ । जातीय विभेदको सङ्कुचित मनोविज्ञानले निहत्था युवाहरूमाथि आक्रमणको कार्य गर्ने जो कोही हुन्, तिनलाई कुनै ढिलाइ नगरी गहन अनुसन्धानको प्रक्रिया पूरा गरेर कानूनतः अधिकतम दण्ड दिन कांग्रेस माग गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

घटनामा जीवन गुमाएका नवराज विक, टीकाराम सुनार र गणेश बुढा मगरको आत्माको शान्ति कामना गर्दै प्रवक्ता शर्माले भेरी नदीमा बेपत्ता भएका भनिएका अन्य युवाको तदारुकता साथ खोजी गर्न सरकारसमक्ष आग्रह र माग गर्दै घाइते युवाहरूको शीघ्र स्वास्थलाभको कामना गरेका छन् ।