साँखुमा मृत्यु भएकी कञ्चनपुरकी युवतीको पिपिआर परीक्षण गरिँदै

साँखुमा मृत्यु भएकी कञ्चनपुरकी युवतीको पिपिआर परीक्षण गरिँदै


काठमाडौं उपत्यकाको शङ्खरापुर नगरपालिका साँखुमा सोमबार (१२ जेठ) मृत्यु भएकी एक युवतीको पिसीआर परीक्षणको लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ ।

गत वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकोमा आएकी २० वर्षीय रीतु राईको मृत्यु भएपछि स्वाब परीक्षणको लागि पठाइएको शङ्खरापुर नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चापागाईंले जानकारी दिए ।

कञ्चनपुरबाट आएको दिनदेखि १० दिनसम्म उनलाई इन्द्रेणीको स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा राखिएको थियो । उनको आरडिटी रिपोर्ट पनि नेगेटिभ आएपछि उनी आफन्तको घरमा गएकी थिइन् । क्षयरोगको समेत बिरामी रहेकी उनको स्वास्थ्य असामान्य हुँदै गएपछि साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल कलेजमा लगिएको थियो । आज बिहान उनको अस्पतालमै मृत्यु भएको थियो ।