क्वारेन्टिन व्यवस्थापनमा सेना

क्वारेन्टिन व्यवस्थापनमा सेना


शेरबहादुर सिंह (रासस)

कञ्चनपुरका पाँच स्थानीय तहका क्वारेन्टिनको व्यवस्थापनमा नेपाली सेना खटिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकको टोली दुई दिनदेखि खटिएको हो ।

सो गुल्मका गुल्मपति सेनानी प्रणयजङ्ग मल्लले सुरक्षा समितिको निर्णयअनुसार महाकाली नगरपालिका, बेलौरी, पुर्नवास, बेल्डाँडी र लालझाडी गाउँपालिकामा खटिएको जानकारी दिनुभयो । ‘स्थानीय तहमा रहेका ठूला क्वारेन्टिनमा बसेर आवश्यक व्यवस्थापनको काम हामीले गर्दैछौं ।’ उहाँले भन्नुभयो, ‘स्थानीय तहका अन्य स्थानमा रहेका क्वारेन्टिनको निगरानी र सुरक्षा सतर्कता बढाएका छौँ ।’

उहाँले स्थानीय तहसितको समन्वयमा सेना क्वारेन्टिनको व्यवस्थापनमा जुटेको बताउनुभयो । यसअघि सेनाले गड्डाचौकी नाकामा भारतबाट आउनेको स्वास्थ्य जाँचमा समेत खटिएको थियो । त्यसैगरी आज नै उसले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनबारे यहाँ नमूना प्रदर्शन गरेको छ ।

सो गुल्म र २५ फिएको संयुक्त आयोजनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, महाकाली अस्पताल र जनस्वास्थ्यकर्मीलाई नमूना प्रदर्शन देखाइएको सेनाले जनाएको छ । ‘शव व्यवस्थापन गर्दा अपनाउनुपर्ने सुरक्षालगायत योजनाबद्ध व्यवस्थापन कसरी गर्छौँ भनेर प्रदर्शन गरिएको हो ।’ सेनानी मल्लले भन्नुभयो, ‘भैपरी आउने सङ्क्रमण चुनौतीसित जुध्न सेना आवश्यक तयारी अवस्थामा छ ।’

झोलुङ्गे पुलमा तालाबन्दी

गड्डाचौकी मुख्य बाटो हुँदाहुँदै दोधारा चाँदनीबाट दैनिक सयौँ नागरिक भारतबाट स्वदेश फर्किन थालेपछि महाकाली नदीमा रहेको झोलुङ्गे पुलमा आज बिहानदेखि कञ्चनपुरको भीमदत्तनगरपालिका–१३ का स्थानीयवासीले तालाबन्दी गरेका छन् ।

‘यो अन्तर्राष्ट्रिय नाका होइन’, भीमदत्तनगरपालिका–१३ का वडाध्यक्ष लालबहादुर शाहीले भन्नुभयो, ‘हामीले भारतबाट ल्याउनेलाई सुरक्षा सतर्कता अपनाएर लैजाऊ भनेका हौँ ।’ उहाँले पुल क्षेत्रमा स्यानिटाइजेशन गर्नुपर्ने मागसहित स्थानीयवासीले तालाबन्दी गरेको बताउनुभयो । ‘झोलुङ्गे पुल वारिपारि पनि ठूलो बस्ती छ, धमाधम भारतबाट रातभरि मान्छे ओसार्दा सङ्क्रमणको जोखिम छ ।’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य सुरक्षा सामग्री माग गर्दै नगरपालिका आएका छौँ ।’

माहाकाली नगरपालिकाबाट केही दिनयता झण्डै दुई हजार नागरिक भारतबाट स्वदेश भित्रिसकेका छन् । दशगजामा आएर अलपत्र रहेका नागरिकलाई सो नगरपालिकाले खानपिनलगायतको व्यवस्थापनमा जुटिरहेको छ ।