सवारी साधन त्रिशूली नदी तर्न थप कडाई

सवारी साधन त्रिशूली नदी तर्न थप कडाई


विकास रौनियार, धादिङ

कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि राजमार्गबाट त्रिशूली नदी तर्न धादिङ प्रहरीले थप कडाई गरेको छ ।

सरकारद्वारा लकडाउन गरिएको दुई महिना पुग्दा धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अग्रसरतामा सदरमुकाम धादिङबेंसीलगायत त्रिशूली नदीवारिका विभिन्न स्थानीय तहमा प्रवेश गर्न कडाई गरिएको हो ।

कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति बैठकले धादिङबेसी लगायतमा विशेष सावधानी अपनाउने र त्रिशूली नदी तरेर आउने सवारी साधनहरुलाई विशेष निगरानी गर्नको लागि सिद्धलेक गाउँपालिकाको फुर्केखोलास्थित पुलमा अस्थायी प्रहरी पोष्ट खडा गरेर चेकजाँचमा कडाई गरिएको छ ।

सिद्धलेक गाउँपालिकाले सवारी चेकजाँचका गर्नको लागि अस्थायी प्रहरी पोष्ट निर्माण गरेको छ । ‘जिल्ला प्रवेश गर्ने मुख्य नाकाहरुमा अस्थायी पोष्ट खडा गरी प्रहरी बसिसकेको छ, प्रहरीलाई स्थानीय स्वयंसेवी युवाहरुले सहयोग गर्ने छन्’, जिल्ला प्रहरी प्रमुख रवीन्द्र रेग्मीले बताउनुभयो ।