डा. शाक्यलाई इजरायलमा ‘उत्कृष्ट राजदूत’ अवार्ड

डा. शाक्यलाई इजरायलमा ‘उत्कृष्ट राजदूत’ अवार्ड


■ राजन घिमिरे

डा. अन्जान शाक्यलाई नेपाल सरकारले इजरायलका लागि राजदूतका रूपमा नियुक्त गर्दा आग्रहवश अन्धाधुन्ध विरोध गर्नेहरू यतिबेला हिस्स परेका छन् । राजदूत डा. शाक्यले राजदूतको रूपमा गरेको ‘पर्फर्मेन्स’का कारण यस्तो परिवेश सिर्जना भएको हो ।

यसअघि इजरालमा अरू नेपाली पनि राजदूत भएर गएका थिए, तर उनीहरूले आफ्नो ‘कार्यकाल’ मात्र पूरा गरे, उल्लेख्य काम खासै गरिदेखाउन सकेनन् । तर, शाक्यले राजदूत भएर इजरायल गएको केही समयमा नै आफ्नो दक्षता दर्शाएर इजरायली सरकारबाट समेत वाहवाही र प्रशंसा बटुल्नुभएको छ । इजरायलका लागि यी नेपाली राजदूत डा. अञ्जान शाक्यलाई इजरायलले ‘एम्बेस्डर अफ एयर–२०१९’बाट सम्मानित तुल्याएको छ ।

डा. शाक्यलाई एम्बेसडर क्लब अफ इजरायलले ‘उत्कृष्ट राजदूत’का रुपमा सम्मान गरेको हो । सम्मान इजरायलको स्वतन्त्रता दिवसका अवसर पारेर प्रदान गरिने जानकारी दिइएको छ ।

उल्लेख्य कुरा के छ भने एम्बेसडर अफ इजरायलले इजरायलमा रहेका ९० भन्दा बढी मूलुकका राजदूतमध्येबाट शाक्यको नाम छनौट गरेको हो । एउटा नेपाली चेलीको यो सफलताको यतिबेला सर्वत्र प्रशंसा गरिएको छ ।

नेपाल–इजरायल सम्बन्धलाई सुमधुर र बलियो बनाउन विशेष भूमिका खेलेबापत शाक्यलाई सम्मान गरिएको बताइएको छ भने यो सम्मानले झनै जिम्मेवारी थपिएको अनुभूति गराएको र नेपालको शान–मान बढाउन निरन्तर रूपमा आफू लागिपर्ने प्रतिक्रिया राजदूत शाक्यले दिनुभएको छ ।