दुरुत्साहन मुद्दामा प्रहरी जवान पुर्पक्षका लागि थुनामा

दुरुत्साहन मुद्दामा प्रहरी जवान पुर्पक्षका लागि थुनामा


बागलुङ नगरपालिका–२ माझकोट आनन्द चौपारीस्थित डेरागरी बस्ने ३३ वर्षीया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा जिल्ला अदालत बागलुङले प्रहरी जवान राकेश दवाडीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले थुनामा राख्न आदेश दिएको हो । उनलाई कारागारमा राख्न अदालतले आदेश दिएको प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

आत्महत्या दुरुत्साहनको आरोप लागेका प्रहरी जवान दवाडीविरुद्ध सम्झनाका बुबा खड्कबहादुर सार्कीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । तनहुँको व्यास नगरपालिका वडा नं ८ का स्थायी बासिन्दा दवाडी जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत रहँदै आफूसँग सम्बन्धमा रहेको र उनैको व्यवहारका कारण आत्महत्या गर्नुपरेको सम्झनाले सुसाइट नोटमा उल्लेख गरेकी थिइन् ।

गत भदौ १ गतेदेखि कार्यान्वयनमा आएको देवानी संहिता २०७६ ले आत्महत्या दुरुत्साहन गर्नेलाई कारवाहीको व्यवस्था गरेको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पाँच वर्षसम्म कैद र रु ५० हजार जरिवाना हुने कानूनी व्यवस्था छ । सम्झनाले गत वैशाख १६ गते बिहान आफ्नै कोठामा झुण्डिएर आत्माहत्या गरेकी थिइन् ।