चिनीको झोलामा लाख-लाखका बिटा !

चिनीको झोलामा लाख-लाखका बिटा !


सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ कोशी बलारबाट अवैध रकमसहित शनिबार साँझ एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सुपौल जिल्ला बथनाह गाउँ पञ्चायत वडा नं १७ बस्ने २८ वर्षीय फूलकुमार मेहता रहेको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी गराएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोगका सम्बन्धमा नेपाल सरकारले जारी गरेको बन्दाबन्दी उल्लङ्घन गर्दै भारतबाट नेपालतर्फ लुकीछिपी आउँदै गरेका उनलाई नेपाली रुपैयाँसहित पक्राउ गरिएको हो ।

उनलाई शङ्कास्पद अवस्थामा हिँडिरहेको अवस्थामा फेला पारी हातमा झुण्ड्याउने नाइलनको झोला जाँच गर्दा दुई किलो चिनीभित्र लुकाइ राखिएको नेपाली नौ लाख फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीचौकी रामपुर मल्हनीयाबाट खटिएको प्रहरी सहायक निरीक्षक श्रीप्रसाद ठाकुर नेतृत्वको प्रहरी गस्ती टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।

pict: rss