अध्यक्ष केपीको अनुपस्थितिमा नेकपा सचिवालय बैठक, एमसिसीबारे छलफल

अध्यक्ष केपीको अनुपस्थितिमा नेकपा सचिवालय बैठक, एमसिसीबारे छलफल


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनौपचारिक बैठक शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । सचिवालय बैठकमा संविधान संशोधन र मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसिसी) परियोजनाबारे छलफल भएको बताइएको छ ।

शनिबार अपराह्न बसेको अनौपचारिक बैठकमा संविधान संशोधनको गृहकार्य, हालै जारी गरिएको नयाँ नक्सापछिको राजनीतिक अवस्था, आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेटलगायत सममायिक विषयमा छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

अनौपचारिक बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहनुभएको थियो ।

बैठकमा एमसिसी अध्ययन कार्यदलका तर्फबाट पार्टीका स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आआफ्ना भनाइ राख्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा एमसिसी अध्ययनका लागि कार्यदल बनाएको थियो ।