आज प्रेमका कुरा गरौँ !

■ लक्ष्मणप्रसाद खतिवडा



प्रेम भनेको भावना, अनुभव एवम् अनुभूति पनि हो । संसारमा सबैभन्दा बढी बुझ्न खोजेर पनि बुझ्न नसकिएको विषय हो– प्रेम । जिउने आधार बनेको प्रेम जन्मको मूलस्रोत पनि हो । प्रेमकै कारण मानिसको जन्म हुन्छ, हुर्किन्छ पनि । न खोज्दा पाइन्छ न त माग्दा नै पाइन्छ प्रेम । प्रेम चाहेर हुने, चाहेर दिइने वा चाहेर गरिने विषय पनि होइन । यो त एक भावनात्वक कुरा हो, एक रङ्गिन अनुभूति हो । प्रेम समझदारी, समर्पण, इमान्दारिता र पवित्रताको प्रतिक हो । प्रेम युवायुवती बीचको क्षणिक आकर्षण होइन यो त एक विश्वास हो । प्रेम त्यो हो जसले कसैलाई कष्ट दिँदैन । पाउनु मात्र होइन, गुमाउनु पनि हो प्रेम ।

प्रेमको कुनै सीमाना हुँदैन । जुनसुकै धर्म, दर्शन, विचार, जात, लिङ्गमा प्रेम हुन्छ । प्रेम प्रेमी–प्रेमिकासँग मात्र होइन, पतिपत्नि, आमाबुबा, छोराछोरी, साथीभाइ, इष्टमित्र सबैसँग हुन्छ । खोलाले समुद्रलाई, गुँडले चरालाई, धर्तीले आकाशलाई, जराले रुखलाई, विद्यार्थीहरुले कितावलाई पनि प्रेम गरिरहेका हुन्छन् । तर सबैसँग गरिने प्रेम एकै प्रकारको हुँदैन । प्रेम कहाँ, कतिबेला, कोसँग, कुन रुपमा हुन्छ पत्तै हुँदैन । प्रेम रगतको नातासँग मात्र होइन भावनाको नातासँग पनि गाँसिएको हुनसक्छ । यो मानवलाई मात्र होइन पशुपन्छीहरुलाई पनि चाहिन्छ ।

संसारका हरेक प्राणीलाई प्रेमको आवश्यकता पर्दछ । सत्ययुगमा पार्वतीले महादेवलाई गरेको प्रेम, कामदेव र रतिको प्रेम, राधाकृष्णको प्रेम, महाभारतमा दुश्यन्त र शकुन्तला बीचको प्रेम, श्रीमद्भागवतमा अर्जुन र सुभद्राबीचको प्रेम देख्न सकिन्छ । सेक्सपियरले अघि सारेका रोमियो जुलियट अनि मुमताज र शाह जाँहले पनि प्रेम गरेकै छन् । मुनामदनको प्रेम होस् या लैला मैजुनको प्रेम जुनसुकै समयमा जोसुकैसँग भए पनि प्रेमबाट कोही अछुतो देखिँदैन । महामानव गौतम वुद्ध पनि प्रेमको खोजिमा लागेकै हुन् । प्रेम बाँडेकै हुन् । त्यसैले प्रेमलाई बाँच्ने कला मान्न सकिन्छ ।

पाउनु मात्र प्रेम होइन, गुमाउनु पनि प्रेम हो । यो बन्धन मात्र होइन, मुक्ति पनि हो । प्रेम गर्न पाउनु सबैको नैसर्गिक अधिकार हो । प्रेम भनेको एकआपसमा माया गर्नु मात्र होइन, एकआपसलाई आदर गर्नु पनि हो ।

प्रेम गर्नु वा हुनु अपवित्र होइन पवित्र कार्य हो । आज प्रेम विनाको संसार कल्पना नै गर्न सकिदैन । संसारमा रहेका सबै प्राणीलाई प्रेमको आवश्यकता पर्दछ । विश्ववन्धुत्वको भावना एवं मानवता हराउँदै गएको वर्तमान अवस्थामा प्रेमको महत्व अझै बढ्दै गएको छ । प्रेमको कुनै सीमा छैन । प्रेमबाट प्राणीलाई शान्ति र खुसी मिल्दछ । जबरजस्ति प्रेम हुनै सक्दैन । कसैलाई देख्दैमा प्रेम सुरु हुँदैन अनि साँचो प्रेममा कुनै पनि माग राखिदैन । त्यहाँ त त्याग र समर्पण भाव हुन्छ । जहाँ लेनदेन हुन्छ त्यहाँ प्रेमको कुनै गुञ्जायस हुँदैन । प्रेम गर्नलाई न कुनै मौसमले रोक्छ, न त बन्धनले । यसको कुनै सुरु वा अन्त्य हुँदैन । प्रेम न किन्न सकिन्छ, न त बेच्न नै । प्रेम अनमोल हुन्छ तरपनि निशुल्क पाइन्छ ।

प्रेम स्वतन्त्र हुन्छ । यो एक प्राकृतिक शक्ति हो यसलाई हामीले नियन्त्रण गर्न सक्दैनौँ । यो कुनै पनि दायरामा बाँधिएको हुँदैन । प्रेमको न कुनै आकार हुन्छ, न त प्रकार नै । उमेरले, धनले, भाषाले, भूगोलले प्रेमलाई छेक्न सक्दैन । प्रेम बिना जीवन अधुरो हुन्छ । प्रेम जिउने आधार पनि हो । यसलाई बाहिर देखाउन सकिँदैन । तर पनि यसको कल्पना मात्रैले शरीरमा छुट्टै तरङ्ग पैदा गरिदिन्छ । प्रेमको लागि मानिस आफ्नो जीवन धरापमा राख्छन् अनि प्रेमकै लागि जीवन बलिदान पनि गर्छन् । प्रेमको अभावले संसार अन्धकार देखिन्छ । प्रेम पाउनकै लागि विश्वमा ठूला ठूला युद्ध पनि भएका छन् । प्रेमलाई संसारका कुनैपनि शास्त्रले चिनाउन सकेका छैनन् । प्रेम अनुभूति हो जसले जीवनमा उमङ्ग भरिदिन सक्छ । यसमा आँशुलाई खुशीमा बदल्ने तथा खुशीलाई आँशुमा बदल्दिने शक्ति पनि हुन्छ । निःस्वार्थ स्वभाव भएकोले यसले प्राणिका दुख र पीडाहरु भुलाउन सक्छ ।

प्रेम भनेको देखावटी माया र खोक्रो आदर्श होइन । यो त भित्रदेखि आउनुपर्दछ । प्रेम जीवनको आदिदेखि अन्त्यसम्म रहिरहन्छ । पाउनु मात्र प्रेम होइन, गुमाउनु पनि प्रेम हो । यो बन्धन मात्र होइन, मुक्ति पनि हो । प्रेम गर्न पाउनु सबैको नैसर्गिक अधिकार हो । प्रेम भनेको एकआपसमा माया गर्नु मात्र होइन, एकआपसलाई आदर गर्नु पनि हो । यहाँ अविवाहितहरु प्रेमको प्रभावले बर्बाद भएका छन् भने विवाहितहरु प्रेमको अभावले बर्बाद् भएका उदाहरण प्रशस्त छन् । आज कतिपय युवायुवतीहरु प्रेमको नाममा आफ्नो स्वार्थ पूरा गरिरहेका छन् । प्रेम अमृत हो तर आजभोलि प्रेम आकर्षणलाई मान्न थालिएको छ । आकर्षणबाट प्रेम सुरु हुनै सक्दैन भैहालेमा त्यो क्षणिक हुन्छ । अन्तरआत्मादेखिको प्रेम दिव्य र सदावहार हुन्छ । यो कहिल्यै मर्दैन अमर हुन्छ । त्यसैले पृथ्वीमा भएका सम्पूर्ण वस्तुहरुलाई प्रेम गरी युगयुगसम्म बाँचौँ र बचाऔँ ।

प्रतिक्रिया