कोरोना संक्रमण अपडेट : नेपालभर ५ सय ४८ संक्रमित

कोरोना संक्रमण अपडेट : नेपालभर ५ सय ४८ संक्रमित


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट संक्रमितको पछिल्लो तथ्याङ्क सार्वजनिक गरेको छ । शनिबार (१० जेठ) बिहान सार्वजनिक गरिएको तथ्याङ्कअनुसार संक्रमितको संख्या ५ सय ४८ पुगेको छ ।

शनिबार बिहान थप ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् ।

बताइएअनुसार सर्लाहीका १३, कपिलवस्तु र रुपन्देहीका ८–८ तथा बारा, चितवन र काठमाडौका एक–एकजनामा संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षका पुरुष तथा २७ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको हो।

यस्तै, सर्लाहीको गोडैता र कविलासी नगरपालिका १८, २० (तीन जना), २१, २२, २३, २६ (दुई जना), २८, ३३ र ३५ (दुई जना) वर्षका पुरुषमा संक्रमण पुष्टि भएको जनाइएको छ । रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका २० (दुई जना), २४ (दुई जना), २७, ३० (दुई जना), ५५ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै, चितवनको भरतपुर–६ का ५२ वर्षे पुरुष, काठमाडौंका ३५ वर्षे पुरुष तथा बाराको करैयामाइ गाउँपालिकाकी ३७ वर्षकी महिलामा पनि संक्रमण देखिएको बताइएको छ ।

हिजो शुक्रबार मात्रै ५९ जनामा सङ्क्रमण देखिएको थियो । अहिलेसम्म ७० जना पूर्ण रूपमा सञ्चो भइ घर फर्किसकेका छन् ।