बढ्दै गएको ‘टिकटक मोह’ले निम्त्याएका चुनौती

■ अर्पण तिवारी



एकान्तबासमा घर बसेर इन्टरनेटमा आफ्नो समय बिताइरहेको थिएँ । सामाजिक सन्जालहरू र युट्यूबमा आफूलाई एकतमासले दौडाइरहेको थिएँ । गोमा प्रधान दिदीको फेसबुक वालमा गएर आँखा टक्क रोकियो । एक जना मान्छे सडकमा मद्दत माग्दै गरेजस्तो देखिएको, मद्दत दिन कोही अर्को मान्छे जाँदा उसले १५ सेकेन्डको टिकटक भिडियो बनाइरहेको उहाँको फेसबुक स्टाटसको सारले मन अलि गह्रौँ बनायो ।

त्यसो त मसँगै घरमा बस्ने बहिनीले १५ सेकेन्डको टिकटक भिडियोको लागि लगभग दिनहुँ ३ घण्टा जसो नाच्न थालेको आज दुई महिनाभन्दा बढि भैसक्यो । ‘आमा : हेलो…, छोरी : म चितवन गा’को के…., आमा : किन ? अहिले मार्छु फेरि, खुरुक्क घर आइज…, छोरी : गैसक्यो, पोइला गा’को के, चितवन पुइसक्यो….!’ यो सम्वादको सार पनि एक १५ सेकेन्डको टिकटक भिडियोको हो । टिकटक भिडियो देखेको आधारमा नै हाम्रा बालबालिकाहरू पोखरीमा हामफाल्ने, पासो लगाउने, बोतलले टाउको फोर्ने, सडक बीचमा हिँड्ने, आफ्नै शरीर धारे हातहरियारले काट्ने, विष पिउने जस्ता घटनाहरू समाजमा बढ्दै गएका छन् ।

उसो त उमेर पुगेका समुहहरू पनि टिकटक बनाउँदै गर्दा समुन्द्र छालमा परेको, सडक दुर्घटनामा परेकोे, टिकटकमा प्रयोग हुने डुएट (Duet) भिडियोहरूले पति–पत्निबीच डिभोर्सको केश भएको, आफ्ना अश्लील सामग्री प्रसार भएर आत्महत्या गरेका जस्ता समाचार पनि लगभग दिनहुँ पढ्न पाइन्छ ।

साथी मोहनकी श्रीमती चनु गुरुङले ‘हाम्रो सानो सालैजो नाच’ भन्दै लोपोन्मुख अवस्थामा रहेको सालैजो नाचको रक्षा गर्दै नाचेको १५ सेकेन्डको टिकटक भिडियो पनि देखेँ । रमेश भाइले ‘दाइ, मेरो टिकटक भिडियो त भाइरल भयोे, 5.6K भ्यु पुगिसक्यो’ भन्दै आफू टिकटक दुनियाबाट बिस्तारै सेलिब्रेटी बन्न लागेको खुशी पनि फोनबाटै सुनाए । टिकटक दुनियाँसँग सम्बन्धित केही प्रतिनिधि हिस्सा मात्र हुन् यी । लामो समय खर्चेर हेर्नुपर्ने सूचना तथा जानकारीको सार छोटो समयमै हेर्न पाउनुलाई टिकटकको सकारात्मक पक्ष मान्नुपर्छ ।

टिकटकमा प्रयोग हुने भिडियो सामाग्रीहरू अरुको भन्दा उत्कृष्ट बनाउने होडमा बालबालिका तथा युवाहरूले स्मार्ट फोनहरूको माग गरेसँगै धेरै परिवारमा यसले आर्थिक सकंट तथा कलहको वातावरण बढाउँदै गएको पाइन्छ ।

आफूभित्रै अन्तरनिहीत प्रतिभालाई बाहिर ल्याउन १५ सेकेन्डको भिडियोले महत्वपूर्ण भूमिका खेलेको छ । टिकटक भिडियोमा यी सबै हेर्दा सकारात्मक सोचका साथमा आधुनिक प्रविधि र विज्ञानले ल्याएका आधुनिक सञ्चारका माध्यमहरू सकारात्मक रूपमै प्रयोग गर्नसके यसबाट धेरै फाइदा लिने सकिने सम्भावना पनि उत्तिकै छ । तर हाम्रो समाजमा यसको सकारात्मक प्रयोग भन्दा नकारात्मक प्रयोग हवात्तै बढेर आएको छ । अहिले टिकटक भिडियोले वर्षका ३६५ दिनलाई नै ‘अप्रिलफुल’ जस्तै बनाइरहेका छन् । अहिले टिकटक ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई हँसियाको बिँड’ जस्तै लगभगप्रायः बन्न थालेको छ । अब हाम्रो अगाडिको सङ्कट सही टिकटक संस्कारको निर्माण तथा टिकटकको दुरुपयोग रोक्नु मात्र हो ।

टिकटक मोबाइलमा प्रयोग गरिने अरु विभिन्न सामाजिक सञ्चारका एप्लिकेशनहरू जस्तै एउटा सामान्य एप्लिकेशन हो । बाइट डान्स (Byte Dance) भन्ने चिनियाँ कम्पनीले सन् २०१६ मा यसलाई प्रतिपादन गरेको हो । सुरुका दिनमा यो टिकटकको नाममा नभइ डाउयीन (Douyin) को नामबाट विकसित भयो जुन चीनमा मात्र सीमित थियो । यो एप्लिकेशन छोटो समयको भिडियो बनाउनका लागि मात्र प्रतिपादन गरिएको थियो । ३५ वर्ष कम्पनी सिइओ झाङ यिमिङ (Zhang Yiming) ले यो एप्लिकेशनको प्रयोगकर्ता चीनमा मात्र एक सय मिलियनभन्दा बढि पाए र दिनहुँ एक मिलियनभन्दा बढि भिडियोहरू अपलोड हुन थालेपछि यसलाई चीनमा मात्र सीमित राख्न चाहेनन् । सन् २०१७ मा यसलाई थाइलेन्ड, जापानलगायतका एसियन देशका साथै अन्य बाँकी देशहरूमा विस्तारको योजना बनाए । उनी सफ्टवेयर इन्जिनियर विधाबाट आएका हुनाले अन्य प्रतिष्पर्धीहरूको पनि राम्रो हेक्का राखेका थिए । इङलेन्डमा सोही समयमा प्रतिपादित उही नेचरको म्युजिकल्ली (Musically) भन्ने एप्लिकेशनलाई पनि उनले किनेर आफ्नैमा गाभे र सन् २०१८ बाट दुइटैलाई मर्ज गरेर औपचारिक रुपमा टिकटकको सुरुवात गरे ।

टिकटक भिडियो बनाउने निहुँमा बालबालिका तथा युवाहरू दिनमा घन्टौँसम्म मोबाइल प्रयोग गर्छन् वा मोबाइलनजिक रहन्छन् । मोबाइलबाट उत्सर्जित हुने ६० प्रतिशत भन्दा बढि रेडियसनहरूले उनीहरूको बढ्दै र परिवर्तन हुँदै गएको शारिरिक र मानसिक अवस्थालाई नराम्रोसँग असर गर्ने एक अध्ययनले देखाएको छ । यसले बालबालिकाहरूमा सामान्यतः विकाशोन्मुख रुपमा सुरक्षात्मक लाइलिन, हड्डी, टिस्यु, मस्तिष्क आदिलाई प्रत्यक्ष रूपमा असर गर्ने बताइएको छ ।

सन् २०१९ को अन्तसम्म टिकटक ios तथा Android मोवाइलहरूमा १.५ विलियन पटक डाउनलोड भएको छ । हाल विश्वमा ८०० मिलियन यसका एक्टिभ युजर छन् र दैनिक १.५ विलयन नयाँ भिडियोहरू अपलोड हुने गर्दछ । ग्लोबल इन्डेक्स वेवलाई आधार मान्दा टिकटक प्रयोगकर्ताहरू मध्ये ६८ प्रतिशतले अरुले अपलोड गरेको भिडियो हेर्छन्, ५५ प्रतिशतले आफूले बनाएको भिडियो अपलोड गर्छन् । टिकटक प्रयोगकर्ताहरू हालका दिनमा कम्तीमा ५२ मिनेट टिकटकमा आफ्नो समय खर्च गर्छन् । टिकटक प्रयोगकर्तालाई आधार मान्दा १२.४१ प्रतिशत प्रयोगकर्ता १६ देखि २४ वर्ष उमेर समुहका छन् । हाल टिकटक विश्वका १५४ देशमा प्रयोगमा आएको छ र यो विश्वका ७५ भाषामा अनुवादित छ । पछिल्लो समयमा यसको विश्वव्यापी प्रयोग हेर्दा भारतमा यसको सबैभन्दा बढि प्रयोगकर्ता रकेको पाइन्छ र क्रमशः चीन, अमेरिका, टर्की, रसिया, पाकिस्तानमा यसको प्रयोग धेरै रहेको पाइन्छ । नेपाल पनि यसबाट अछुतो भने पक्कै छैन ।

हाल नेपालमा पनि सबै उमेर समूहलाई यसले प्रत्त्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पार्न थालेको छ । विश्वजगतमा जस्तै नेपालमा पनि यसले बालबालिका तथा युवा उमेर समुहलाई बढि प्रभाव पारेको देखिन्छ । टिकटक भिडियो बनाउने निहुँमा बालबालिका तथा युवाहरू दिनमा घन्टौँसम्म मोबाइल प्रयोग गर्छन् वा मोबाइलनजिक रहन्छन् । मोबाइलबाट उत्सर्जित हुने ६० प्रतिशत भन्दा बढि रेडियसनहरूले उनीहरूको बढ्दै र परिवर्तन हुँदै गएको शारिरिक र मानसिक अवस्थालाई नराम्रोसँग असर गर्ने एक अध्ययनले देखाएको छ । यसले बालबालिकाहरूमा सामान्यतः विकाशोन्मुख रुपमा सुरक्षात्मक लाइलिन, हड्डी, टिस्यु, मस्तिष्क आदिलाई प्रत्यक्ष रूपमा असर गर्ने बताइएको छ । धैरै समय टिकटक भिडियो हेदै गर्दा आँखामा प्रत्यक्ष असर पर्नुका साथै त्यसबाट निस्किने आवाजहरूले गैरघातक टयुमरको विकास गर्ने सम्भावनालाई पनि एक अध्ययनले अघि सारेको छ ।

यस अवस्थालाई विश्व स्वास्थ्य संगठनले ‘सम्भावित कार्सिनोजोन’को रूपमा ब्याख्या गर्दै उच्च क्यान्सरको जोखिमलाई पनि अघि सारेको छ । टिकटकबाट आउने भिडियोजन्य सामग्रीहरूक अत्यधिक हेर्दा वा बनाउँदा कुनै गहन विषयमा ध्यान केन्द्रित हुन सक्ने क्षमतामा ह्रास आउने पनि विभिन्न खोजले दर्शाएको छ । सामान्यतया टिकटक भिडियो प्रयोग गर्दा वा हेर्दा एकान्त ठाँउ बढि प्रभावकारी हुने अवस्थासँगै प्रायः टिकटक पनि एकान्तमा नै बढि हेरिने एक अध्यायनले जनाएको छ । यसले बालबालिका तथा युवाहरूमा शारीरिक ब्यायाम तथा खेलमा रुचि कम हुँदै जाने गरेको पनि पाइएको छ जसले प्रत्यक्ष रुपमा उनीहरूलाई शारीरिक थकान कम भई मोटोपन बढ्ने, मधुमेह र उच्च रक्तचापको पनि उत्तिकै सम्भावना रहेको विषेशज्ञहरूले दर्शाएका छन् ।

आफ्नो अभिनयभन्दा पनि अरु कुनै सेलीब्रेटीहरूको नक्कल गरेर भिडियो बनाउँदा आफ्ना क्रियटिभिटी नहुनुका साथै दुरुस्त नक्कल गर्न नसक्दा उनीहरू बढि समय खर्चिने र अरुले जस्तै सामाग्री बनाउन नसक्दा उनीहरूमा उदासिनता बढ्ने तथा सो चिन्ताले विस्तारै डिप्रेसनको अवस्थातिर जान सक्ने पनि एक खोजले देखाएको छ ।

सामान्यतया युवापुस्ताले स्वाभावतः आफैलाई बढि खोजिरहेका हुन्छन् र त्योभन्दा बढि अरुसँग आफूलाई दाँजिरहेका हुन्छन् । टिकटक भिडियो बनाउँदा आफ्ना मौलिकताभन्दा पुराना प्रतिलिपिहरूमा आफूलाई उभ्याएका हुन्छन् । टिकटक भिडियोमा प्रयोग हुने भिडियोहरूमा प्रायः अरुले गाएका गीतहरूमा मुख चलाउने वा सोहीअनुसार अभिनयलाई उच्च प्राथमिकतामा हेरिने गरेको छ । आफ्नो अभिनयभन्दा पनि अरु कुनै सेलीब्रेटीहरूको नक्कल गरेर भिडियो बनाउँदा आफ्ना क्रियटिभिटी नहुनुका साथै दुरुस्त नक्कल गर्न नसक्दा उनीहरू बढि समय खर्चिने र अरुले जस्तै सामाग्री बनाउन नसक्दा उनीहरूमा उदासिनता बढ्ने तथा सो चिन्ताले विस्तारै डिप्रेसनको अवस्थातिर जान सक्ने पनि एक खोजले देखाएको छ ।

कुनै जन्मोत्सव तथा समारोहहरूमा आफ्ना साथीहरूले अपलोड गरेका फोटो वा भिडियोहरूमा आफू छुटेको, आफूलाई अलग गराइएको मानसिकता बालबालिका तथा युवाहरूमा बढ्दै जाँदा आफ्नो आत्मसम्मान नभएको चिन्तामा पनि उनिहरू पर्ने गरेको पाइन्छ । टिकटकमा प्रयोग हुने भिडियो सामाग्रीहरू अरुको भन्दा उत्कृष्ट बनाउने होडमा बालबालिका तथा युवाहरूले स्मार्ट फोनहरूको माग गरेसँगै धेरै परिवारमा यसले आर्थिक सकंट तथा कलहको वातावरण बढाउँदै गएको पाइन्छ । पछिल्लो समयमा टिकटक एकाउन्टबाट यसको प्रयोगकर्ताको लोकेसन, करेन्ट स्टाटस तथा अन्य गोप्य कुराहरू सजिलै पत्ता लगाउन सकिने हुनाले यसलाई सुरक्षाको दृष्टिले पनि खतर्नाक बताउन थालिएको छ, जसको परिणामस्वरुप युएस आर्मीलाई त यसको प्रयोगमा बन्देज नै लगाइएको छ ।

सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै विभिन्न श्रमिक समुदायहरूमा यसको प्रयोग निषेध गरिएको छ भने विभिन्न देशमा यसलाई अब छिट्टै बन्द गर्ने सुचनाहरू पनि बाहिर आउन थालेका छन् । टिकटकमा निहीत स्वार्थ सूचना सम्प्रेषण, मनोरन्जन र आफूमा भएको प्रतिभा प्रस्फुटन देखिए पनि नेपालमा यसको असल सदुपयोग भएको पाइँदैन । टिकटक भिडियोको सहायताबाट बन्द कोठा प्रयोग गरेर नै सेलिब्रेटी भए पनि सोअनुसारको क्षमता तथा आत्मविश्वास बाहिर ब्यवहारमा देखाउन नसक्नाले पनि नेपालमा यसले सकारात्मक प्रभाव भने त्यति पार्न सकेको देखिँदैन । मनोरन्जन क्षेत्रमा लागेका कयौँ कलाकारहरू नेपाली रंगमञ्चमा अस्ताउँदै गएको परिप्रेक्ष्यमा टिकटक यात्राबाट रंगमञ्चको यात्रामा पुगेर सफल हुन्छु भन्ने सोच्नु फलामको चिउरा चपाउनु जत्तिकै कठिन छ । फेरि पनि आश गरौँ, टिकटक भिडियोहरूमा सकेसम्म समाजलाई सकारात्मक प्रभाव पार्ने सामाग्रीहरूको प्रसारले प्राथमिकता पाएसँगै यसका नकारात्मक असरहरू हट्दै जानेछन् ।

प्रतिक्रिया