कहिले नेताका स्वकीयसचिव त नक्कली डिएसपी बनेर करोडौँ ठगी

कहिले नेताका स्वकीयसचिव त नक्कली डिएसपी बनेर करोडौँ ठगी


  • सनत आचार्य

लकडाउनको समयमा चोरी तथा ठगी गर्नेहरूविरुद्ध महानगरीय अपराध अनुसन्धान महाशाखा आक्रामक बनेपछि यस साता चोरी र ठगीका घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीलाई विशेष सफलता मिलेको छ ।

महाशाखाले गत मंगलबार (जेठ ६) मा काठमाडौं चावहिलस्थित भत्केकोपुलबाट एपीवान टेलिभिजनको प्रेस पास भिरेका दुई जना चोर पक्राउ ग र्‍यो । ती मध्ये एक जना हिमाल रसाइली र अर्का अली आलम मियाँ थिए । उनीहरूले विगत लामो समयदेखि काठमाडौंका विभिन्न स्थानमा चोरी गर्दै आएको खुल्न आएको छ । विभिन्न नाममा ठगी गर्ने रसाईली पटके चोर हुन् ।

उनीहरूसँगै प्रहरीले बरामद गरेको प्रेस पास एपीवान टेलिभिजन नेटवर्कले नक्कली भएको र उनीहरू आफ्ना कर्मचारी नभएको जनाएको छ ।

रसाइली र मियाँ चावहिल, भत्केकोपुल, कपन, बौद्ध, सिनामंगल आसपासका क्षेत्रमा विगत लामो समयदेखि चोरी गर्ने काम सक्रिय रहेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए । उनीहरूले लकडाउनको मौका छोपी विभिन्न घरहरू रेकी गर्ने र कोही नभएको घर–पसलको पहिचान गरी अनुकुल समयमा फोर्ने र चोर्ने गरेको एसएसपी थापाको भनाइ छ ।

उनीहरूले चेकजाँचको क्रममा विभिन्न स्थानमा प्रेस पास देखाउने र प्रहरीलाई छल्ने गरेको पनि एसएसपी थापाले जानकारी दिए । प्रहरीले उपत्यकामा चोरीका घटना बढेसँगै सजगता अपनाएर सिसिटिभि फुटेजबाट उनीहरूको पहिचान भएको हो ।

प्रहरीले उनीहरूबाट चोरी गरेको विभिन्न ब्राण्डका ल्यापटप, आइप्याड, क्यामेरा, कम्प्यूटर मोनिटर लगायत नगद समेत फेला पार्‍यो ।

त्यस्तै लकडाउनको अवधिमा महाशाखाले प्राप्त गरेको अर्को ठुलो सफलता भनेको बिहीबार जेठ ८) दिउँसो ठगीको आरोपमा सिनामंगल क्षेत्रबाट पेशेवर ठग राजकुमार चापागाईंलाई पक्राउ गर्नु हो ।

चापागाईं विगत ६ वर्षदेखि काठमाडौं र ललितपुरका विभिन्न मानिसलाई कर, न्यायालय र मन्त्रालयमा समेत जागिर लगाइदिने, मुद्धा मिलाई दिने भन्दै ठगी गर्ने कुख्यात ठग भएको खुल्न आएको छ ।

चापागाईंले यसअघि पनि आफू तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको स्वकीय सचिव वसन्त गौतम तथा नेकपाका नेता बामदेव गौतमको भान्जा भन्दै दशौँ लाख ठगी गरेको खुल्न आएको छ ।

चापागाईंले ०७१ फागुन १० मा गृह मन्त्रालयको अधिकृत बनेर सात जनाबाट ३२ लाख ६२ हजार ठगी गरी ४ लाख धरौटीमा रिहा भएको, ०७२ असार २४ जनाबाट ५ लाख ६८ हजार ठगी गरी ४ लाख धरौटीमा रिहा भएको, ०७२ सालमा प्रधानमन्त्रीको स्वकीय सचिव बनेर १० जनाबाट ४२ लाख ठगी गरी नख्खु कारागारमा ४ वर्ष जेल सजाय भुक्तान गरिसकेको अनुसन्धानबाट देखिन आएको महाशाखा प्रमुख एसएसपी दीपक थापा बताउनुहुन्छ । अहिले चापागाईंले गरेका अन्य अपराधहरूको पनि सुक्ष्म अनुसन्धान भइरहेको र उनी पेशेवर ठग भएको खुल्न आएको उहाँले बताउनुभयो । थप अनुसन्धानका लागि महाशाखाले ७ दिन म्याद थप गरेको छ ।

यसरी प्रधानमन्त्रीको स्वकीय सचिवलगायत आवरणमाा ठगी गर्दै आएका चापागाईं पछिल्लो चरणमा सशस्त्र प्रहरीको डिएसपी रामबहादुर थापाको रूपमा नक्कली परिचयपत्र बनाई मानिसहरूलाई मन्त्रालयमा जागिर लगाई दिने भन्दै ठगीमा संलग्न थिए ।

पछिल्लो चरणमा उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खरदारसरहको पदमा जागिर लगाई दिने भन्दै सजना र सम्झना नाम गरेका २ जना महिलाबाट १ लाख ८७ हजार पैसा लिइसकेका थिए । महिनौँ बितिसक्दा पनि उनीहरूको जागिरको टुंगो नलागेपछि ती महिलाहरूले उनलाई ताकेता गर्न थाले । त्यसपछि चापागाईंले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाको हस्ताक्षर भएको नक्कली परिचयपत्र बनाई उनीहरूलाई दिएको र नियुक्ति पत्र लकडाउनका कारण ढिलो भएकोले लकडाउन खुल्ने वित्तिकै हातमा पर्ने भन्दै अझ बढि रकम असुल गर्न खोजेका थिए ।

चापागाईंले पैसा लिएका ग्राहकलाई पैसा लिएको सम्बन्धमा कसैलाई पनि नभन्न चेतावनी दिँदै कतै भनेको थाहा पाएमा काम नबन्ने र आफ्नो सम्पर्क–सम्बन्ध प्रहरी र प्रशासनको उच्च तहसम्म भएकोले कसैले केही गर्न नसक्ने रवाफ दिने गरेको पीडितले बताएका छन् ।

महाशाखा प्रमुख एसएसपी थापाले चापागाईंविरुद्ध ठगी, सरकारी कागज कीर्तेमा मुद्धा चल्ने बताएका छन् ।