क्यान्सर उपचार गरी दिल्लीबाट आएका दम्पतीमा कोरोना सङ्क्रमण

क्यान्सर उपचार गरी दिल्लीबाट आएका दम्पतीमा कोरोना सङ्क्रमण


चितवनका दुई जना कोरोना सङ्क्रमित भारतको दिल्लीबाट एम्बुलेन्समा आएको खुलेको छ । दिल्लीस्थित राजीव गान्धी अस्पतालमा क्यान्सरको उपचार गराएर उनीहरू यही जेठ ३ गते एम्बुलेन्स परिवर्तन गरी घर फर्किएका खुलासा भएको हो ।

भरतपुर महानगरपालिका–६ केशरबाग निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलामा शुक्रबार (९ जेठ) भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित दुवै दम्पती हुन् । दम्पत्तिसँगै दिल्ली गएका जेठो छोरामा भने सङ्क्रमण नदेखिएको बताइएको छ ।

भारतबाट एम्बुलेन्समा कपिलवस्तुको कृष्णनगर नाकाबाट उनीहरू स्वदेश प्रवेश गरेका थिए । एम्बुलेन्स परिवर्तन गरी उनीहरू चितवनसम्म आइपुगेका थिए । घर आएदेखि नै उनीहरू सेल्फ क्वारेन्टिनमा बसेका थिए । सङ्क्रमण देखिएपछि भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाले कन्टयाक्ट ट्रेसिङ गरेको छ ।

सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा आफ्नै परिवारबाहेक अन्य कोही पनि सम्पर्कमा नआएको स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए । बताइएअनुसार सङ्क्रमितको घरमा आठ जना मात्रै बस्दै आएका थिए । उनीहरूको एक सातापछि पिसीआर विधिबाट कोरोना परीक्षण गरिने जनाइएको छ ।

अहिले सङ्क्रमित देखिएको टोललाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । प्रहरीले सो टोलमा आवातजावत गर्न बन्देज लगाएको छ । राससले जनाएअनुसार सङ्क्रमित बिहीबार आफैं परीक्षण गर्न भरतपुर कोरोना अस्पताल पुगेका थिए । उनीहरूमा सङ्क्रमण पुष्टि भएसँगै अहिले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ ।