पाकिस्तानको विमान दुर्घटनना, विमानमा सवार १०७ जनाकै मृत्यु

पाकिस्तानको विमान दुर्घटनना, विमानमा सवार १०७ जनाकै मृत्यु


पाकिस्तानको कराँची नजिकै शुक्रबार (२२ मे) दुर्घटना भएको विमानमा रहेका सबैको निधन भएको छ । दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको कराँचीका मेयर वासिम अख्तरले पुष्टि गरेका हुन् ।

मेयर अख्तरले विमान खसेको स्थानमा कम्तीमा ५–६ ओटा घर ध्वस्त भएको पनि बताएका छन् । क्षति भएको घरमा कोही मानिस थियो कि थिएन वा उनीहरुको मृत्यु भयो कि भएन भन्ने बारेमा पनि विवरण आउन बाँकी रहेको उनको भनाई छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । दुर्घटनामा परी निधन भएका परिवारजन तथा इष्टमित्रप्रति सहानुभूति व्यक्त गर्दै उनले घटनास्थलमा राम्रो उद्धार गर्न तथा छानविन गर्न पनि निर्देशन दिएका छन् ।

पाकिस्तानी सरकारी स्वामित्वको अन्तर्राष्ट्रिय विमान कम्पनीकोे विमान कराँचीको दक्षिणी नाकामा आज दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाग्रस्त विमान पाकिस्तानकै लाहोरदेखि कराँचीतर्फ गइरहेको थियो । विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु अगाडि नै दुर्घटना भएको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै एपीले जनाएको छ ।

विमान खसेका ठाउँमा बाक्लो बस्ती छ । मोडेल कोलनीका नाममा रहेको सो बस्तीमा विषेश गरेर गरिव समुदायका मानिसहरु बस्ने गर्दथे । बताइएअनुसार विमान खस्नुअघि आकाशमै तीन पटक घुमेको थियो । विमानले अवतरण गर्न खोजिरहेको तर नसकेको जस्तो देखिएको प्रत्यक्षदर्शीहरुको भनाई छ ।

घटनास्थलमा प्रहरी, सैनिक, स्वयंसेवकलगायतलाई परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय टेलिभिजनहरुले घटनास्थलमा आगो बलिरहेको, स्वयंसेवक तथा सुरक्षाकर्मीहरुले आगो निभाउन खोजेको र उद्धार गर्न लागिरहेको दृश्य प्रसारण गरिरहेका छन् ।

कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै मात्र पुनः सञ्चालनमा आएको बताइएको छ ।