एकल महिलाको हत्या, शंकास्पद युवक पक्राउ

एकल महिलाको हत्या, शंकास्पद युवक पक्राउ


खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलकी ६१ वर्षीया एकल महिला रत्नकुमारी राई आफ्नै घरमा मृत फेला परेकी छन् । दुई छोरीको विवाह भइसकेको र श्रीमानको पनि मृत्यु भइसकेको अवस्थामा एक्लै घरमा बस्दै आएकी रत्नकुमारीको शव शुक्रबार बिहान घाँटीमा सामान्य चोट लागेको अवस्थामा फेला पारिएको हो ।

एकल महिलाको हत्या गरेको आशङ्कामा सोही ठाउँका ३१ वर्षीय मुगाधन भनिने मुकेश राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

कार्यालय प्रमुख डिएसपी नारायण चिमोरियाका अनुसार एकल महिलाको गए राति १०ः०० बजे घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र पक्राउ परेका मुकेशले प्रहरीसामु ‘मान्छे मारेर आएको’ अभिव्यक्ति दिउका छन् ।

महिलाको हत्यापछि शुक्रबार बिहान सिम्पानीतर्फ जाँदै गरेका मुकेशलाई प्रहरीले बाटैबाट नियन्त्रणमा लिएको गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए । स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि वडासदस्य अर्जुन राईसँगै छिमेकीलाई हेर्न पठाउँदा महिला मृत फेला परेकी थिइन् । महिला हत्याको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए ।